बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गाडीको ठक्करबाट रौतहटमा ४ वर्षीय बालिकाको निधनप्रति बोल्यो रास्वपा

शुक्रबार, २३ माघ २०८२, १२ : १४
शुक्रबार, २३ माघ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी अभियानको क्रममा सवारी साधनको ठक्करबाट रौतहटमा ४ वर्षीया बालिकाको निधन भएको छ।
  • रास्वपाले घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै छानबिनका लागि स्थानीय प्रशासनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
  • पार्टीले पीडित परिवारलाई राहत र सहयोगका लागि पहल गर्ने र सवारी साधन सञ्चालनमा सतर्कता अपनाउन निर्देशन दिएको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको निधन भएको खबरले स्तब्ध भएको बताएको छ ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले  स्तब्ध र मर्माहत भएको बताएको हो । साथै उक्त घटनालाई पार्टीले गम्भीर रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ । घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौँ । कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन । साथै, पीडित परिवारलाई हुनसक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टी पङ्क्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन समेत जारी गरेको छ ।

चुनावी प्रचार प्रसारको क्रममा बिहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिका–४, मठिया टोलकी करिब ४ वर्षीया अलसा खातुनको गाडीले ठक्कर दिँदा ज्यान गएको थियो ।

Prativha

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप