बालुवाको रङ्गीन महल— ६
सारांश
- स्वामी लठ्ठकानन्द र भीष्मराजको संवादमा अतीतका घटना र क्रान्तिको चर्चा गरिएको छ।
- भीष्मराज जेलमा परेका र दीपशिखासँगको प्रेम सम्बन्धका साथै गीता पाठ गर्न थालेको कुरा उल्लेख छ।
- अन्त्यमा, भीष्मराजले गीतालाई राजनीतिक दाउपेच र शत्रुलाई छल्ने उपायको रूपमा व्याख्या गर्छन्।
स्वामी लठ्ठकानन्दले ओठ टोकेर सुस्केरा हाल्यो ।
“स्वामीजी, अतीतको यात्रामा केही गडबडी देखियो ?”
“आततायीहरूले मलाई पक्राउ गरे, बाबु । मेरा कामरेडकी जहानलाई तिनले बलात्कार गरे ।”
“त्यो पक्राउ परेको तँ होइनस्, म हुँ ।”
अर्काको इतिहासका गौरवमय क्षण आफ्नो मनचिन्ते झोलीमा हाल्न खोज्ने को हो यो उरन्ठेउलो हरामी ? ढ्याक्क त्रिशूल बजार्दै स्वामीले आक्रोश पोख्यो, “राक्षसहरूका बात खाने म, हत्याराहरूका लात खाने म, अनि पक्राउ पर्नेचाहिँ तँ? यसो भन्न लाज लाग्दैन तँलाई ?”
“लाज लाग्नुपर्ने मलाई होइन, तँलाई हो,” पठ्ठाले प्रतिवाद गर्यो, “बुट र बन्दुकको सामना गर्ने त्यो वीर तँ लठ्ठे जोगी होइनस् । त्यो त म हुँ, म । तँ त त्यो पराक्रमको डरले मरेको मुर्दा होस् ।” पठ्ठो कुर्लियो, “सुनिस् ? त्यो दमनचक्रसामु नदब्ने पाखुरो त यो पो हो । तैंले घुँडा टेक्नलाग्दा त्यो परम्परालाई जोगाउन तेरो निर्लज्ज पाखुरो फोरेर जन्मेको हो यो पाखुरो ।”
“अर्काको धन लुटेर उल्टो मैसँग धक्कु लाउने तँ, तँ, तँ... ।” स्वामीको स्वर लरबरायो । र उसको फुकिढल पाखुरो गलेर तल झर्यो ।
आप्mनै प्रकाशको हत्यारो होस् तँ । विवेक, मुक्ति र नैतिकताको चेत दिने प्रकाशको तैंले हत्या गर्न खोजिस् । त्यो प्रकाशलाई जोगाउन तँलाई भत्काएर तँभित्रबाट म जन्मेको हुँ ।”
लठ्ठकानन्द आजित भयो । जीवनको जटिल रहस्यको अर्थ लगाउन उसको अमूत्र्त ब्रह्मज्ञानले उसलाई भरोसा दिन सकेन ।
“तँ मूर्ख होस्, तँ अज्ञानी होस् ।”
“तँ आत्मघाती होस् । जनघाती होस् तँ ।”
स्वामीले आँखा चिम्लेर ओठ चलायो— ॐ ! उसको एकाग्रता भङ्ग भइसकेको थियो । उसको चैतन्य उसको इच्छाविरmद्ध अतीततिरै फर्कियो । उसले देख्यो— भीष्मराज नक्खु जेलको सेलमा थियो । सेलमा हुल्नुअघि चुटेर उसलाई अधमरो पारेका थिए । तैपनि घुँडा टेक्न उसले इन्कार गर्यो । कुटाइले उसको जीउ पिलोसमान भएको थियो । घाउहरू कुहेर आफ्नै नाकमा गन्हाइरहेका थिए । सहिदहरूका नाममा उसले अठोट गरेको थियोे— “म झुक्दिनँ, बरु मर्छु ।” सुखानीपछि ऊ आफ्नो पालोको पर्खाइमा थियो ।
भीष्मराज चिसो भुइँमा सुकुलमा बसेको छ । भित्ताभरि रगतका टाटैटाटा छन् । ती टाटामा कोतपर्वदेखिका दारुण यातनाका मूक कथाहरू छन् । टाटा हेर्दै ऊ आँखा चिम्लिन्छ । ऊ तराईमा पक्राउ परेको छ । साथमा मामा कामरेड कपिल छ । दुवैलाई एउटै डोरीले बाँधिएको छ । पिट्दा चिच्याउन पाइँदैन, चिच्याए फेरि पिट्छन् । कपिल उदास छ । मुखले बोल्न दिँदैनन् । तर आँखाको भावले पनि ऊ केही भन्दैन । कपिलको अनुहार हेर्दा भीष्मराजलाई उसको लुरे कामरेड रविलालको याद आउँछ । जङ्गलको चोर बाटो, आफू अघि–अघि, रविलाल पछि–पछि, झोलामा खुकुरी, मनको खोपीमा आसुरीतन्त्रलाई ढालेर नौलो जनवादको मौलो गाड्ने सपना ।
जेलभित्रको सेलमा भीष्मराजलाई दीपशिखाको सम्झना भयो । एकताकाकी उसकी प्राणपियारी दीपशिखा । दीपशिखा कता हो कता राम्री पनि होइन, छिः भनेर मुख बिगार्नुपर्ने पनि होइन । ठूलो जीउडाल, शान्त र शालीन मिजास— दीपशिखाको सौन्दर्य उसको अनुहारमा होइन, उसको शीलमा छ, उसको मुस्कानमा छ । भीष्मराजका मनका पर्दा अहिले उठिरहेछन् । हरेक नयाँ पत्रमा माया–प्रीतिको नौलो दृश्य खुलिरहेछ । ऊ सम्झन्छ, आइएको पढाइ छिचोलेर दीपशिखा टोलको विद्यालयमा शिक्षिका भई । मामुली परिवारकी एक्ली छोरी थिई दीपशिखा । जन्मेको तीन महिनामै उसको बाबु उँधै–उँभैको व्यथाले खस्यो । आमाले पुर्परोलाई सराप्दै दीपशिखालाई दूध चुसाई र चार अक्षर पढाई । पछि ऊ सुकेनासले थला परी ।
भीष्मराज जन्ड पठ्ठो थियो । झडङ्ङ रिसाउँथ्यो ऊ । प्रेमको अल्लारे भावुकता झ्याङ्गिँदै गयो र दिनदिनै तिनको भेट हुन थाल्यो । साँझ पर्यो कि दीपशिखाकी आमालाई दिज्यू भन्दै भीष्मराज टुप्लुक्क आइपुग्छ । दीपशिखा कल्पिन्छे, भीष्मराज केही रोमाञ्चक कुरा गरोस् र भारी मनलाई हलुङ्गो पारिदेओस् । तर ऊ त्यस्ता कुरा गर्दैन । शोषक र सामन्त, जालीफटाहा र गोदगाद, क्रान्ति र सत्ता पलट— बस्, ऊ जहिले पनि यिनै कुराको रट लगाउँछ । त्यसमा नयाँ केही थपिँदैन, पुरानो केही छुट्दैन । आयैपिच्छे ऊ सोध्छ— “दीपशिखा, रेडबुक पढ्यौ ? यो क्रान्तिको विज्ञान हो, बुझ्यौ ? “
एक दिन भीष्मराजले एउटा कापी दीपशिखालाई दियो । त्यसमा तीन ओटा स–साना लेख थिए— “पहाड पन्छाउने मूर्ख बूढो”, “जनताको सेवा गर”, र “नर्मन बेथ्यूनको सम्झनामा” । लेखक थिए अध्यक्ष माओ । भीष्मराजले भनेथ्यो, “बुझ्यौ दीपशिखा ? पढ्नुपर्ने चीज जम्मा यत्ति हुन् । ज्ञान भन, विज्ञान भन, साहित्य भन, कला भन, जे भन— जडी कुरो यिनैमा छ । अरु झ्यासझुस पढेर के हुन्छ तिमीलाई थाहा छ, दीपशिखा ? मनमा कसिङ्गरको थुप्रो लाग्छ । अनि मान्छे ठगिखाने बुज्र्वा बन्छ ।”
दीपशिखा ट्वाँ परेर सुनिरहन्थी । उसलाई भीष्मराजमाथि चाख थियो । तर उसका कुरा ऊ बुझ्दिनथी । उसप्रतिको भावुक मोहले गर्दा ऊ उसका कुरा सुनिदिन्थी । ऊ कल्पिन्थी, भीष्मराजले जीवनतिर फर्केर जीवनका कुरा गरोस् । जीवनभित्र पसेर जीवनका आँसुु र हाँसोका स–साना कुरा गरोस् । तर ऊ बाहिर–बाहिरका कुरा गर्छ, ठुल्ठूला कुरा गर्छ । दीपशिखालाई लाग्यो, यो मान्छे अरसिक हो । तैपनि नारी–पुरmषबीचको नैसर्गिक चुम्बकले तिनलाई एकअर्कातिर खिचिरह्योे ।
एक रात महिला सङ्गठनको मिटिङबाट फर्किंदै थिए, भीष्मराज र दीपशिखा । बिराना मानिस झैं ती सुमुसुमु हिँडिरहे । दीपशिखा चिताउँथी— आप्mनो जीवनसाथी जीवनका योजनाका कुरा गरोस् । त्यसमा मीठास भरिएको होस् । आप्mना सपनाको रङ्ग भरिएको होस् । त्यसमा रसिलो रोमान्स होस् । तर अहँ, भीष्मराजको संसारमा ती कुराको कुनै अर्थ छैन । क्रान्तिका थोक कुराबाहेक जीवनका अन्तरङ्ग कुरा ऊ जान्दैन । राजनीतिका ती दुई कर्मी, जीवनका ती दुई मायालु नहरको डिलैडिल हिँडिरहेका थिए । टहटह जून लागेको थियो । भीष्मराजले एकाएक दीपशिखालाई झम्टा मारेर अँगालोमा अँठ्यायो र उसको मुखमा मुख जोत्यो । त्यो झम्टाइ, त्यो जङ्गलीपना, दीपशिखालाई त्यो सब क्रूर सपना जस्तो लाग्यो । उसले भीष्मराजलाई अँगालोबाट पन्छाउन खोजी । तर ऊ झन्–झन् जङ्गली हुँदै गयो । नाइँ, नाइँ भन्दाभन्दै दीपशिखालाई उसले सिमलीको झ्याङमुनि पछार्यो र गर्नु–नगर्नु गर्यो । दीपशिखा चेतशून्य मुढो झैं निकैबेर त्यत्तिकै ढलिरही । भीष्मराजले बिँडी तान्दै चुपचाप उसलाई हेर्यो । आखिरमा उसले उसलाई उठायो । आत्माको गहिराइबाट फुटेको भक्कानो दीपशिखाको मुखबाट हावामा पोखियोे ।
दीपशिखा भारी पाइला चाल्दै अघि–अघि हिँडिरहिछ । उसकोे प्रेमी उसलाई पछ्याइरहेछ । दीपशिखाका आहत चित्तमा प्रश्न उठ्छ—उसको पछि–पछि हिँडिरहेको प्राणी उसको मायालु हो कि पशु हो ?
जेलको नारकीय सेलमा भीष्मराज गम खान्छ— बिचरी दीपशिखामाथि अन्याय पो भयो कि ? त्यो गोज्याङ्ग्री मलाई सम्झिरहेकी होली । सके त्यो लाटी रात–दिन रोइरहेकी होली ।
बाहिर के हुँदै छ भीष्मराज बेखबर छ । कति समातिए, कति अङ्गभङ्ग भए, कति मारिए, थाहा पाउने कुनै उपाय छैन । समयको गर्तमा उसको भागमा के होला ? ऊ गम्छ । आत्म–बलिदान ? होइन, होइन । जल्लादहरूले उसलाई मारी त नहाल्लान् । आखिर क्रान्ति नभई छाड्दैन । थोत्रो समाज ढल्छ, ढल्छ । नयाँ समाज उठ्छ, उठ्छ । के नेपालको माओ यसै मारिन्छ ? यसै धूलोमा बिलाउँछ त्यो ? भीष्मराजको भग्न चित्तमा आशाका रmमानी तरङ्ग सलबलाउँछन् । त्यो आशामा उसका अदम्य आकाङ्क्षाका पुलिन्दाहरू छन् । उसले मुक्का उठायो र भित्तोमा दनक दियो— साला ! जनताका रगत–पसिना चुसेर ढाडिएको थोत्रो शासन ढल्छ–ढल्छ । अनि खाली ठाउँमा गरिबगुरmवाको शासनको नवीन झन्डा उठ्छ । अनि... ।
तीन महिनाछि भीष्मराजलाई सेलबाट बाहिर निकाले । खुला वातावरणमा उसलाई आनन्दको अनुभूति भयो । ऊ हेर्छ, शिरमाथि विराट् नीलो आकाश छ । झ्यालखानका पर्खालपारि गर्वले उठेका डाँडा छन् । पाखामा मानिसका बस्ती छन् । त्यहाँ वन छ, त्यहाँ हरियाली छ, त्यहाँ जीवन छ । साँघुरो नर्कबाट तैबिसेक फराकिलो नर्कमा निस्केको दिन भीष्मराज जेल भवनवरिपरि सयौं फन्का घुम्यो ।
भीष्मराजमाथि सेलबाहिर पनि कडा निगरानी भइरह्योे । ऊ जता जान्छ, दाइ नाइके र भाइ नाइके उसका पाइला सुँघ्दै हिँड्छन् । प्रेमले होस् वा घृणाले, झ्यालखानका थुप्रै आँखा उसमाथि स्थिर हुन्छन् । बन्दी र कैदीहरूका नजरमा भीष्मराज वटवृक्ष जस्तो देखिन्छ । त्यसमुनि बस्दा पानीमा ओत लाग्न पाइन्छ, घाममा शीतल ताप्न ।
गर्नलाई नक्खु जेलमा काम नभएका होइनन् । त्यहाँ कोही ढाका टोपीको कपडा बुन्छन्, कोही घरबुनाको इलम गर्छन्, कोही डोका–डाला बुन्छन्, कोही बिँडी बेर्छन् । भीष्मराजले सोच्यो, यी चुत्था काम मलाई सुहाउँदिला छैनन् । गुरिल्ला कमान्डरले जुम्रा मार्ने र लसुन छोडाउने काम गर्छ कहिल्यै ? भीष्मे, समय बियाँल्न गर्ने के त ? जेलमा आक्कलझुक्कल बासी समाचारपत्र आउँछन् । तिनमा प्रायः शासकहरूको अखण्ड भजन हुन्छ । ‘राष्ट्रप्राण’, ‘हृदय–सम्राट्’, “मौसुफको सदिच्छा’, धत् !
पुस्तकमा भीष्मराजको उति चाख छैन । कामचलाउ लालशास्त्रले भनेको छ— ज्यास्ती पढे मान्छे बिग्रिन्छ, बुर्जुवा बन्छ । कामरेडहरूले उसलाई इतिहास र साहित्य पढ्न सल्लाह दिए । उसले त्यो सल्लाहमा कुनै गुदी देखेन । संसारको व्याख्या नाथे कति पढ्ने ? गाँठी कुरो त संसार फेर्नु पो हो । फेर्नलाई हतियार उठाएको थियो, दुष्टहरूले खोरमा हुले । समय के गरी काट्ने खै ? भीष्मराजलाई आमाको सम्झना आउन थाल्यो । खाऊँ–लाऊँ र मोज गरुँ भन्ने उमेरमै विधवा भएकी आमा । नानाओली कष्ट झेलेर तीन जना लालाबालालाई हुर्काउँदा गाला चाउरी परेकी आमा । अनि दीपशिखा ? अनि बुढीकन्या भएर बसेकी कान्छी बहिनी ।
जेलमा कोही क्यारेम खेल्थे, कोही तास खेल्थे, कोही चेस खेल्थे । अनि कोही बाघचाल । भीष्मराजलाई यिनमा रस थिएन । स्वभाव छ अराजक तालको, बस्नु छ भाइ र दाइ नाइकेको खटनमा । धैत् जिन्दगी ! एक पटक त उसले चौकीदारलाई चाबुक दिइहाल्यो । जेलमा खलबली मच्चियो । अनि हुले पुलिसले लछार–पछार पार्दै जेलको सेलमा ।
पक्राउ परेका विद्यार्थीहरू जेलमा आइरहन्थे । ती चुम्बकमा फलाम झैं भीष्मराजतिर खिचिन्थे । अहो, गुरिल्ला कमान्डरसँग पलभर उभिन पाए ! उसका अनमोल वचन सुन्न पाए ! जेलबाट छुटेपछि क्या सानकासाथ भन्न पाइन्थ्यो— बुझ्यौ ? मैले क्रान्तिको रानोलाई भेटें । मैले ऊसँग हात मिलाएँ । मैले ऊसँग बात मारें । तर तन्नेरीहरू ऊतिर जसरी आकर्षित हुन्थे उसै गरी विकर्षित भइहाल्थे । टाढाबाट उसमा देखिने चमक नगीच पुग्दा कतै शून्यमा अलप हुन्थ्यो । अनि युवाहरू भन्थे, “धत् ! त्यो त ढ्वाङ पो रहेछ ।
समयको पट्यारलाग्दो चालसँगै भीष्मराजका चित्तको रिक्तता बढ्दै गयो । कहिलेकाहीँ समाचारपत्रमा ऊ खबर भएर आउँथ्यो— भीष्मराज भयङ्कर सास्तीको सिकार, भीष्मराजको स्वास्थ्य नाजुक... आदि । उसको छाती ढक्क फुल्थ्यो । जे होस्, दुनियाँले मलाई बिर्सेको छैन । यस्तो सोच्थ्यो र ऊ ठुटे जुँगा मुसाथ्र्यो ।
भीष्मराज सम्झन्छ, सानो छँदा उसले हनुमानचालिसा जपेको थियो । त्यही संस्कार बल्झिएर होला सायद, ऊ कोमलगीता पाठ गर्न थाल्यो । दिनभरि ऊ कोठामा एक्लै बस्छ । ऊ गीताका हरफहरूमा आँखा जोतिरहन्छ । उसलाई लाग्छ, गीतामा केही न केही रहस्य छ । कसो–कसो उसलाई तत्वबोध भए झैं लाग्छ । मानौं, ऊ अर्जुन भएर जीवनका गोटा माने रटिरहेछ र कृष्णजी उसलाई जीवनको गूढ रहस्यबारे बताइरहेछन् ।
जेलमा साउती चल्न थाल्यो— भौतिकवादी गुरिल्ला कमान्डर श्रीमद्भगवगद्गीता जप्छ । ऊ पलेटी कसेर आँखा चिम्लिँदै मौन समाधिमा लीन हुन्छ । उसका समर्थक र प्रशंसक चकित हुन्छन्, चिन्तित हुन्छन् । अहो ! कमान्डरका दिमागमा कुन भूत सवार भयो ? के उसको आस्थाको संसारमा धमिरा लाग्न थालेको हो ?
“कामरेड,” कपिलले खुलदुली प्रकट गर्यो, “जेलमा त गीता आतङ्क फैलिएको छ नि । यो रटनाको अर्थ के हो ?”
भीष्मराजका आक्रमक दृष्टिले यसो भने झैं लाग्यो, मेरो निजी व्यवहारको नाटीकुटी किन ?
“कामरेड, हामीलाई लाजमर्नु भो । विरोधीहरू काखी ठोक्दै हामीलाई गिज्याउन थाले— तेरो नेता यस्तो सन्काहा, तेरो कमान्डर उस्तो सिल्ली ! आस्था छ एकातिर न्यासध्यान छ अर्कातिर । भन्नोस्त कामरेड, यो दोहोरो चालको अर्थ दुनियाँले के बुझ्ने ?”
“मूर्खहरूले यो कुरा बुझ्दैनन्,” गिँजामा खैनीको नयाँ घान हाल्दै भीष्मराजले भन्यो, “गीता के हो ? यो ज्ञानपुञ्ज हो । यो समरविज्ञान हो । यो राजनीतिको कपट कला हो । यो के हो र के होइन मूर्खहरूलाई के थाहा ?”
“तर कामरेड, जवाफ दिन हाम्लाई सकस पर्यो ।”
“लठ्ठकका सवालको केको जवाफ ? कामरेडहरूलाई सम्झाउनू, यो शत्रुका आँखा छल्ने दाउपेज हो । बढी कुरा किन ?”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण