बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
ब्लग

आमा बनेपछि नभनिएको कथा

शनिबार, २४ माघ २०८२, ११ : १५
शनिबार, २४ माघ २०८२

सारांश

  • नयाँ आमाहरूले शारीरिक र मानसिक पीडा अनुभव गर्छन्, तर यो प्रायः समाजमा बेवास्ता गरिन्छ।
  • नेपालमा सुत्केरीपछिको डिप्रेसन सामान्य छ, तर यसलाई स्वास्थ्य समस्याको रूपमा स्वीकार गरिँदैन।
  • आमाहरूले सामाजिक दबाब र अपेक्षाको सामना गर्छन्, र बुवाको भूमिकालाई विस्तार गर्न आवश्यक छ।

बच्चाको जन्म नेपाली घर–आँगनका लागि एउटा पर्व हो । मङ्गल धुन गुन्जिन्छ, पञ्चेबाजा बज्छन्, बधाईका ओइरो लाग्छन् र एउटा नयाँ मान्छेको स्वागतमा सारा समाज झुम्छ । तर, यही तामझाम र उत्सवमा एउटा कुना यस्तो हुन्छ, जहाँ नयाँ आमाको मौन पीडा, शारीरिक छटपटी र आँसु ओझेलमा परेका हुन्छन् । दूध चुसाउँदै हासिरहेकी आमाको मनभित्र कति ठुलो आँधी चलिरहेको छ भन्ने कुरा सायदै कसैले सोच्ने गर्छन् ।

हाम्रो समाजले सुत्केरी भएपछिको समयलाई केवल खुसी र उल्लासको लेपन लगाएर हेर्ने गर्छन् । वास्तवमा यो एउटा यस्तो कठिन र जोखिमपूर्ण मोड हो, जहाँ एउटी महिलाको शरीर र मन दुवै टुक्रा–टुक्रा भएर फेरि जोडिन खोजिरहेका हुन्छन् । यो नयाँ जन्म को प्रक्रियामा आमाले भोग्ने मानसिक र शारीरिक द्वन्द्वलाई जबसम्म हामीले तथ्याङ्क र मानवीय संवेदनाका आधारमा बुझ्दैनौँ, तबसम्म हाम्रो समाज आमामैत्री बन्नै सक्दैन ।

शारीरिक कष्ट: एक अदृश्य युद्ध

बच्चा जन्मिएपछि आमाको शरीर एउटा भीषण युद्ध जितेर आएको सिपाहीजस्तै थकित र टुटेको हुन्छ । नयाँ मान्छेको आगमनले ध्यानजति बच्चामा केन्द्रित गराएको हाम्रो समाजलाई के थाह प्रसव पीडा लाई संसारकै सबैभन्दा कठिन पीडा मानिन्छ भनेर !

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस २०२२) का अनुसार, नेपालमा अझै पनि प्रति १ लाख जिउँदो बच्चा जन्मिँदा १५१ जना आमाको मृत्यु हुने गरेको छ । यो केवल एउटा सुक्खा तथ्याङ्क होइन, बरु एउटा परिवारको मेरुदण्ड भाँचिएको तीतो यथार्थ हो । टाँकाको दुखाइ, रगतको कमी, रातभरिको अनिदो, स्तनपान गराउँदा हुने दुखाइ र शरीरका अङ्गहरूमा आउने परिवर्तनले उनलाई शारीरिक रूपमा कमजोर बनाइरहेको हुन्छ । तर, हाम्रो संस्कारले आमा भएपछि ‘यति त सहनपरिहाल्योनि’ भन्दै हाँसेर टार्दिन्छन् र यही ‘सहनशीलता’ को नाममा आमाको शारीरिक स्वास्थ्यलाई बेवास्ता गरिन्छ ।

मनको घाउ

बाहिरी घाउभन्दा पनि कैयौँ गुणा गहिरो हुन्छ मनको घाउ ।‘के म राम्रो आमा बन्न सकुँला?’, ‘मलाई किन आफ्नो बच्चासँग तुरुन्तै लगाव महसुस भइरहेको छैन?’, ‘म किन विनाकारण रोइरहेकी छु?’ ।

यी र यस्तै प्रश्नहरूले उनलाई भित्रभित्रै खाइरहेको हुन्छ । विभिन्न अध्ययनहरूका अनुसार नेपालमा करिब १८ देखि २२ प्रतिशत सुत्केरी महिलाहरूमा पोस्टमार्टम डिप्रेसन (प्रसूतिपछिको डिप्रेसन) देखिने गरेको छ । अर्थात् हाम्रै वरिपरि रहेका प्रत्येक ५ मध्ये १ नयाँ आमा गम्भीर मानसिक तनाव र डिप्रेसनको सिकार भइरहेका छन् । तर हाम्रो समाजले यसलाई एउटा स्वास्थ्य अवस्था वा समस्याका रूपमा स्वीकार्न सकेको छैन । बरु, उनलाई आमा त भगवान् हो भनि देवीको दर्जा दिएर सामान्य मान्छेका रूपमा रुने, थाक्ने वा झर्को मान्ने अधिकारबाट समेत वञ्चित गरिदिन्छ । जब एउटी आमाले आफ्नो एक्लोपन र उदासी व्यक्त गर्न खोज्छिन्, तब उनलाई ‘तिमी त भाग्यमानी हौ, घोर्ले छोरो पायौ’, अब किन रुनु प¥यो ?’ अथवा ‘यस्ती राम्री छोरी भै अब चैँ छोरो’ भनी अर्को जिम्मेवारी थप गर्दै चुप गराइदिन्छन् ।

सामाजिक दबाब र ‘सुपर–वुमन’को भारी 

महिलालाई सधैँ ‘मल्टी–टास्कर’ वा ‘सुपर–वुमन’ हुनुपर्छ भनी नेपाली समाजले दबाब दिएको पाइन्छ । सुत्केरी अवस्थामा पनि उनले घरको काम, पाहुनाको सत्कार र बच्चाको स्याहार सबै कुरा पूर्णताका साथ गर्नुपर्छ भन्ने अपेक्षा राखेको पाइन्छ ।पाहुना र परिवारका अगाडि ‘म ठिक छु’ भन्दै मुस्कुराउने अभिनय र भित्रभित्रै एक्लोपनको महसुस गर्दै ती आमाहरू अक्सर दुईवटा जिन्दगी बाँचिरहेका हुन्छन् ।

जब कुनै आमाले आफ्नो गाह्रो साह्रो सुनाउन खोज्छिन्, तब उनलाई ‘हाम्रो पालामा त यस्तो हुन्थ्यो, हामीले त गोठमै बच्चा जन्माएर भोलिपल्टै घाँस काट्न गएका थियौँ, मैले त कोदो रोप्दा रोप्दै पाएको यो कान्छो लाई...’ भन्दै तुलना गरेर उनको पीडालाई सानो बनाइन्छ । समय बदलिएको छ, जीवनशैली बदलिएको छ, तर हाम्रो सोच अझै पनि हजुरआमाकै पालामा अड्किएको छ । तुलनाले कहिल्यै समाधान दिँदैन, यसले त केवल पीडा र ग्लानि बढाउने न हो ।

परिवारः सहारा कि मानसिक दबाब ?

हामी सुत्केरीलाई मसला, घिउ र गेडागुडीको झोल त प्रशस्त खुवाउँछौँ, तर के उनलाई आवश्यक मानसिक शान्ति र माया दिन सकेका छौँ ? नेपाली घरहरूमा छोरा वा छोरी हुनुको दबाब अझै पनि कायमै छ । छोरी जन्मिएमा आमालाई हेर्ने दृष्टिकोण र दिइने स्याहारमा कतिपय ठाउँमा अझै भिन्नता छ ।

त्यस्तै, बच्चा हुर्काउने शैलीमा घरका ठुलाबडाको निरन्तरको हस्तक्षेपले पनि आमालाई मानसिक रूपमा विक्षिप्त बनाएको पाइन्छ ।‘बच्चालाई यसरी समाउन हुन्न, यति धेरै लुगा किन लगाएको ?, तिम्रो दूध पुगेन कि क्या हो? यसो गर्न हुन्न उसो गर्न हुन्न’ जस्ता अनेक सल्लाह र निरन्तरका प्रश्न अझ भनम शङ्काले नयाँ आमाको आत्मविश्वास डगमगाउँछ । उनलाई लाग्न थाल्छ कि म आफ्नो बच्चाको लागि पर्याप्त छु त ?

स्वास्थ्य प्रणालीको रिक्तता

नेपालमा स्वास्थ्य संस्थाहरूमा सुत्केरी गराउने दर बढेर ७९ प्रतिशत पुगेको छ, जुन सकारात्मक कुरा हो । तर ती स्वास्थ्य संस्थाहरूमा आमाको शारीरिक जाँच त हुन्छ, तर ‘तिमी कस्तो महसुस गर्दैछौ?’ भनेर मनको जाँच गर्ने चलन अझै सुरु भएको छैन ।

अस्पतालहरूले आमाको पाठेघर खुम्चिएको छ कि छैन, टाँका सुकेको छ कि छैन भनेर त हेर्छन्, तर उनको मस्तिष्कमा चलिरहेको उतारचढाव लाई बुझ्ने परामर्शदाता को व्यवस्था प्रायः शून्य नै देखिन्छ । प्रसूतिपछिको मानसिक स्वास्थ्यलाई सरकार र निजी अस्पताल दुवैले प्राथमिकतामा राख्न नसकेको नमिठो यथार्थ हामीसँग छ ।

बुवाको भूमिका: केवल दर्शक कि सहभागी?

अस्पतालको बिल तिर्ने वा औषधि ल्याउनेमा मात्र सीमित भएको बुवाको भूमिकालाई अझ बढाउनपर्ने देखिन्छ । हाम्रो घर समाजमा अझै पनि बच्चालाई खाना खुवाउने, लुगा लगाउने, तेल लगाइदिने, सुताउने ,सरसफाइ गर्ने काम त आमाको हो भन्ने भ्रम छ । छोरो खेलुन्जेल त रमाइलै लाग्छ तर आची गरेपछि एकछिनलाई छोरो नै बिर्सिने चलन छ ।‘ला ! तेरो छोरोले सुसु ग¥यो भन्दै बच्चा आमातिर तेर्साउने गर्छन्, तर एउटी आमालाई यो बेला सबैभन्दा बढी साथ आफ्नो श्रीमान्को चाहिएको हुन्छ ।

शिशुको न्यापी फेर्ने, बच्चा रोइरहँदा काखमा लिएर आमालाई सुत्न दिने, वा केवल ‘म तिम्रो साथमा छु, तिमीले राम्रो गरिरहेकी छौ’ भनिदिने सानो प्रयासले पनि आमाको आधा पीडा कम गर्न सक्छ । तर पितृसत्तात्मक सोचका कारण धेरै पुरुष अझै पनि यी कामलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेर्छन्, जसले गर्दा आमामाथि कामको बोझ र मानसिक तनाव झन् थपिन्छ ।

तथ्याङ्कमा नेपाली आमाको यथार्थः

–मातृ मृत्युदरः १५१ प्रति १,००,००० जीवित जन्म (सन् २०२२) ।

–मानसिक स्वास्थ्यः करिब २०% (प्रत्येक ५ मध्ये १) आमामा प्रसूतिपश्चात् डिप्रेसनको समस्या ।

–स्वास्थ्य पहुँचः २१% महिला अझै पनि असुरक्षित रूपमा घरमै सुत्केरी हुन्छन् ।

–दिगो विकास लक्ष्यः सन् २०३० सम्ममा नेपालले मातृ मृत्युदरलाई ७० प्रति १ लाखमा झार्नुपर्ने ठुलो चुनौती छ ।

अब मौनता तोडौँ र समाधान खोजौँ

शिशुको जन्म केवल एउटा बच्चाको सुरुवात मात्र होइन, यो एउटी महिलाको आमाको रूपमा नयाँ जन्म पनि हो । यो संक्रमणकालीन समयमा उनलाई भगवान् होइन, एउटा सामान्य मान्छेको रूपमा हेरौँ, जसलाई भोक लाग्छ, निद्रा लाग्छ, रिस उठ्छ र कहिलेकाहीँ एक्लै रुन मन लाग्छ ।

आगामी दिनमा हामीले निम्न कुराहरूमा ध्यान दिनु जरुरी छः

साथी बनौँः उनीसँग कुरा गरौँ । उनलाई उपदेश होइन, सहानुभूति र सुन्ने कानको जरुरत छ ।

काम बाँडौँः सुत्केरी अवस्थामा उनलाई पूर्ण शारीरिक र मानसिक आरामको आवश्यकता हुन्छ । घरका कामहरू परिवारका अन्य सदस्यले बाँडेर लिनुपर्छ ।

दबाब नदिऔँः ‘यसो गर, उसो गर’ भनेर निर्देशन दिनुभन्दा ‘तिमीलाई के गर्दा सजिलो महसुस हुन्छ?’ भनेर सोधौँ ।

व्यावसायिक मद्दतः यदि आमामा अत्यधिक उदासी, बच्चाप्रति अरुचि वा आत्महत्याको सोच आउँछ भने तुरुन्तै मनोविद् वा चिकित्सकको परामर्श लिऔँ । यसलाई ‘लाटो रिस’ वा ‘तन्त्रमन्त्र’ को विषय बनाएर नबसोऔँ ।

आमाको मुस्कान तब मात्र वास्तविक र दिगो हुन्छ, जब उसको मनभित्रको आँसु पुछ्ने र उसको मौन पीडा बुझ्ने समाज निर्माण हुन्छ । आमा हुनु एउटा गौरवको कुरा हो, तर यो गौरवको रक्षा गर्ने जिम्मेवारी केवल आमाको मात्र होइन, सिङ्गो परिवार, समाज र राज्यको हो । सन्तानलाई स्वस्थ राख्न आमा स्वस्थ हुनुपर्छ र आमा स्वस्थ हुन उनको ‘मन’ स्वस्थ हुनुपर्छ ।

अब आमा भएपछि सहनशील हुनुपर्छ भन्ने भाष्यलाई बदलेर आमालाई खुसी र सुरक्षित राख्नु हाम्रो कर्तव्य हो भन्ने सोचको विकास गरौँ । मुस्कानभित्रको त्यो लुकेको आँसुलाई चिन्न सकौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमिता रेग्मी
निमिता रेग्मी
लेखकबाट थप