फिल्म ‘श्री बुकुरो’ को विषयमा के भन्छन् कलाकार ?
सारांश
- वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले फिल्म 'श्री बुकुरो' ले परिवारलाई एकताबद्ध बनाउने बताइन्।
- फिल्म 'श्री बुकुरो' ले नेपाली समाजको यथार्थ चित्रण गर्ने र संयुक्त परिवारको महत्व दर्शाउने बताइएको छ।
- फिल्ममा अरुण क्षेत्री कान्छो छोरा र आर्मी अफिसरको भूमिकामा छन् भने निकिता आचार्यले बाल्यकालको प्रेमको कथा प्रस्तुत गर्नेछिन्।
काठमाडौँ । वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले फिल्म ‘श्री बुकुरोः द होम कमिङ’ ले परिवारलाई जुट्न सिकाउने बताएकी छन् । उनले अहिलेको आधुनिक परिवेशमा संयुक्त परिवार टुक्रिएर मानिसहरू अमिबा जस्तै एक्लो भएकोमा चिन्ता व्यक्त गरिन् ।
फिल्म ‘श्री बुकुरो’ले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अभिनेत्री गिरीले फिल्म केवल एउटा पर्दाको कथा मात्र नभई नेपाली समाजको यथार्थपरक ऐना भएको बताइन् । ‘बाँचुन्जेलको आधार परिवार र मानिसलाई टाउको लुकाउने एउटा ‘बुकुरो’ अपरिहार्य छ’, उनले भनिन् ‘हामी अमिबा जस्तो भइसकेका छौँ, जो एक्लै हुँदा बलियो हुन सक्दैन । पहिला सानो घर हुन्थ्यो, तर धेरै परिवार मिलेर एउटै ओछ्यानमा सुत्थ्यौँ । अहिले घर ठुला छन्, तर कोठैपिच्छे मानिसहरू अलग सुत्छन्, कसैको मन एकताबद्ध छैन,’ उनले भनिन् ।
फिल्मले मनलाई जोड्ने र संयुक्त परिवारको महत्त्व बुझाउने चेष्टा गरेको उनको भनाइ छ । फिल्ममा आफू एक बलियो आमाको रूपमा देखिएको जानकारी दिएकी गिरीले आफ्नो वास्तविक जीवनको अनुभवलाई पनि पात्रमा उतारेको खुलाइन् । हालसम्म पनि संयुक्त परिवारमै बसिरहेकी गिरीले घरका सदस्यहरूबिचको सन्तुलन मिलाउन आमाको ठुलो योगदान हुने उल्लेख गरिन् ।
कार्यक्रममा निर्देशक सुदीप भूपाल सिंहले फिल्मको शीर्षक ‘श्री बुकुरो’ को अर्थ स्पष्ट पार्दै ‘श्री’ ले जीवन र ‘बुकुरो’ ले सानो आश्रय वा घरलाई बुझाउने बताए । उनले यो फिल्म कुनै उपन्यास जस्तै साहित्यिक र दार्शनिक भएको दाबी गरे । सिंहका अनुसार फिल्म एक ‘डिसफङ्सनल फेमिली’ कसरी फेरि एक ठाउँमा आउँछ भन्ने मेटाफोरिक यात्रालाई देखाएको छ ।
अभिनेता अरुण क्षेत्रीले आफू फिल्ममा कान्छो छोरा र आर्मी अफिसरको भूमिकामा देखिने बताए । उनले फिल्ममा आफूलाई नायक भन्दा पनि एउटा जिम्मेवार पात्रको रूपमा उभ्याएको बताए । पुरानो घर र संस्कारलाई नयाँ सोचका साथ कसरी बचाउने भन्ने कुरा नै फिल्मको मुख्य सार रहेको उनको भनाइ छ ।
त्यस्तै, कलाकार निकिता आचार्यले आफ्नो पात्र अलिकति इन्डिपेन्डेन्ट र परिवारलाई माया गर्ने खालको रहेको र यसले बाल्यकालको प्रेमदेखि परिपक्वतासम्मको यात्रालाई समेटेको जानकारी दिइन् । नैतिक शिक्षा, सामाजिक सम्बन्ध र पारिवारिक एकताको कथा बोकेको ‘श्री बुकुरोः द होम कमिङ’ ले दर्शकलाई आफ्नै घर र विगतको सम्झना दिलाउने आचार्यको विश्वास छ ।
फिल्ममा लक्ष्मी, आशीर्वाद र निकिता सहित प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ । रुबी सेन सिंह फिल्मकी निर्मात्री हुन् । फिल्म फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण