बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
माइला लामासँग संवाद

‘बन्दुक बोक्नु हिजोको बाध्यता थियो, आज गुलाफको फूल लिएर आएका छौं’

सोमबार, २६ माघ २०८२, २१ : ००
सोमबार, २६ माघ २०८२

काठमाडौं । आगामी निर्वाचनको संघारमा राजनीतिक दलहरू र उम्मेदवारहरू आ-आफ्ना कार्ययोजना र चुनावी रणनीतिसहित जनताको घरदैलोमा पुग्न व्यस्त छन् । मुलुकको मुख्य राजनीतिक केन्द्र मानिने काठमाडौँको चुनावी सरगर्मी र यहाँबाट सदनमा पुग्ने नेतृत्वको भूमिकालाई लिएर विभिन्न कोणबाट बहसहरू चलिरहेका छन् ।
 
यसै सन्दर्भमा उम्मेदवारीको औचित्य, काठमाडौँको विकासका लागि भावी योजना, चुनावी एजेन्डा र जित्ने आधारमा केन्द्रित रहेर नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य एवं काठमाडौँ क्षेत्र नम्बर ९ का प्रतिनिधि सभा सदस्य उम्मेदवार माइला लामासँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :

२०६४ सालको संविधानसभा निर्वाचनमा पनि तपाईं काठमाडौँ क्षेत्र नम्बर ९ बाट उम्मेदवार हुनुहुन्थ्यो । १८ वर्षपछि फेरि चुनावी मोर्चामा होमिनुभएको छ । त्यो र अहिलेको उम्मेदवारीमा के फरक छ ? फेरि संसदीय राजनीतिमै फर्किनुपर्ने आवश्यकता किन पर्‍यो ?

पहिलो संविधानसभा निर्वाचनमा पार्टीले मलाई यसै क्षेत्रबाट उम्मेदवारको रूपमा खडा गरेको थियो । त्यतिबेला जनतामा ठुलो उत्साह थियो । परिवर्तनको पक्षमा जनताको न्यानो माया र साथ हामीले पाएका थियौँ । त्यसपछिका वर्षहरूमा नेपाली जनताले माओवादी आन्दोलन र नेतृत्वसँग ठुलो आशा गरेका थिए ।
 
मूलतः प्रचण्ड र बाबुराम भट्टराईजस्ता नेताहरूलाई जनताले देशको साँचो सुम्पिए । ‘ल अब अरूले देश चलाउँदा भएन, तपाईंहरूले राम्रो गर्नुस्’ भनेर म्यान्डेट दिएका थिए । हामीले पनि त्यतिबेला नेतृत्वलाई साथ दियौँ । तर विडम्बनापूर्ण रूपमा भन्नुपर्छ, नेपाली जनताले अपेक्षा गरेजस्तो परिणाम आउन सकेन । नेतृत्वले बाटो बिरायो र हामी एक ढंगले निरन्तर संघर्षको यात्रामै अगाडि बढ्यौँ ।

अहिले १८ वर्ष पछाडि फेरि म त्यही भूगोल र तिनै जनताको बिचमा उम्मेदवार बनेर आएको छु । परिस्थितिले हामीलाई एउटा यस्तो निष्कर्षमा ल्याइदिएको छ कि, जनताको सेवा गर्नका लागि केवल सडक संघर्ष मात्र पर्याप्त छैन, सदनको मोर्चाबाट पनि हस्तक्षेपकारी भूमिका खेल्न जरुरी छ । संघर्षको मैदान र नीति निर्माणको थलो दुवै मोर्चाबाट जनताको आवाज बुलन्द गर्नुपर्छ भन्ने निष्कर्षसहित म चुनावी मैदानमा छु ।

Maila Lama1

म जनताको सेवक हुँ । हामीले आफ्नो सम्पूर्ण जीवन मुलुक र जनताको सेवामा समर्पित गरेका छौं । यो कुरा काठमाडौँ–९ का मतदाताहरूले गहिराइमा बुझ्नुभएको छ । म यहीँको बासिन्दा हुँ, यहीँको सुख–दुःखमा हुर्किएको मान्छे हुँ । जनताले इमानदार र समर्पित सेवकलाई चिन्छन् । जनताको माया, विश्वास र मेरो निरन्तरको समर्पण नै मेरो जित्ने मुख्य आधार हो ।

२०६४ सालमा माओवादीको लहर हुँदा पनि तपाईं झिनो मतान्तरले पराजित हुनुभएको थियो । अहिलेको सन्दर्भ फरक छ । त्यतिबेला तपाईंहरुको जस्तै अहिले नयाँ राजनीतिक शक्तिको लहर चलेको छ । त्यतिबेला चुनाव नजित्नुभएको तपाईंले अहिले आफ्नै बलबुतामा चुनाव जित्न सकिन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?
 
निर्वाचनमा यदाकदा हावा जोडतोडले बहन्छ । तर त्यो हावा स्वस्थ हो कि प्रदूषित हो भन्ने कुरा जनताले बेलैमा छुट्याउन सक्नुपर्छ । यदि बहिरहेको हावाको सही अर्थ बुझिएन भने तावाको माछा भुंग्रोमा परेझैँ अवस्था आउन सक्छ । जहाँसम्म काठमाडौँ–९ को कुरा छ, म बाहिरबाट आएको ‘टुरिस्ट’ उम्मेदवार होइन । म यहीँ जन्मेको, यहीँको माटोमा खेलेको र यहाँका हरेक नागरिकको पीडा र अप्ठ्यारोसँग साक्षात्कार गरेको व्यक्ति हुँ । हिजो संघर्षको मैदानमा हुँदा पनि म यहाँका जनतासँगै थिएँ, भोलि पनि रहनेछु ।

नेपाली मतदातामा इमानदार र सज्जन मान्छेलाई छान्ने परम्परा छ । ६४ सालमा माओवादीको संगठन यहाँ त्यति बलियो थिएन, तर पनि कांग्रेस, एमाले र राप्रपाका मतदाताले मेरो व्यक्तित्व हेरेर मत दिनुभएको थियो । अहिले पनि मेरो घरदैलो र भेटघाटमा अन्य पार्टीका मतदाताहरूले भन्नुभएको छ– ‘पार्टी हाम्रो आफ्नो ठाउँमा छ, तर देश संकटमा छ । देशलाई संकटबाट मुक्त गर्न तपाईंहरू जस्तो निष्ठावान् व्यक्तिको खाँचो छ ।

तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग हुन्छ त ?

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतको हावा चलेको छ, त्यसलाई नकार्न सकिँदैन । मुख्य प्रतिस्पर्धा त्यही माहोलसँग हुन सक्छ । तर एमाले र कांग्रेसका उम्मेदवारहरू पनि हुनुहुन्छ । यद्यपि, एमाले र कांग्रेसका इमानदार कार्यकर्ताहरू आफ्नै पार्टीको घेराभित्र मात्र कैद भएर बस्ने अवस्था छैन । विगतको निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन हुँदा पनि कांग्रेसको मत माओवादी उम्मेदवारलाई ट्रान्सफर नभएको इतिहास छ । त्यसैले दलगत भोट बैंक सधैँ सुरक्षित हुन्छ भन्ने छैन ।

एमालेका कृष्णगोपाल श्रेष्ठले जित्नुभएको क्षेत्र हो यो । तर अहिले एमालेकै साथीहरूसँग पनि मेरो राम्रो संवाद भइरहेको छ । उहाँहरूले पनि परिवर्तन र विकल्प खोजिरहनुभएको छ । मलाई विश्वास छ, यसपटक यहाँका मतदाताले पार्टीको ह्विपभन्दा माथि उठेर व्यक्तिको निष्ठा र एजेन्डालाई प्राथमिकता दिनुहुनेछ । त्यसैले नजित्नुपर्ने कुनै कारण देख्दिनँ ।

काठमाडौँ–९ मा करिब ७८ हजार मतदाता छन् । तपाईंको जितको अंकगणित कस्तो छ ? अघिल्लो निर्वाचनमा एमाले, कांग्रेस र स्वतन्त्रको मतलाई हेर्दा आफूलाई कहाँ पाउनुहुन्छ ?

२०६४ सालको निर्वाचनमा म, एमालेका कृष्णगोपाल श्रेष्ठ र कांग्रेसका ध्यानगोविन्द रन्जित हामी तीनै जनाले करिब १२–१२ हजारको हाराहारीमा मत ल्याएका थियौँ । २०७९ को निर्वाचनमा कृष्णगोपाल करिब दाइले ११ हजार मतले जित्नुभयो ।

अहिले ७८ हजार मतदातामध्ये ७० प्रतिशत मत खस्यो भने करिब ५५ हजार मत खस्छ । बहुपक्षीय प्रतिस्पर्धामा ९ देखि १० हजार मत कटाउन सकियो भने जित्ने सम्भावना रहन्छ । मेरो आकलनमा हाम्रो पार्टीको संगठन, मेरो व्यक्तिगत जनसम्पर्क र अन्य पार्टीका असन्तुष्ट मतदाताहरूको मत जोड्दा हामी जितको नजिक छौँ ।

कांग्रेस र एमालेका इमानदार मतदाताहरूले पनि यसपटक माइला लामालाई हेर्नुपर्छ, उहाँ निष्ठावान् मान्छे हो भनेको मैले पाएको छु । रास्वपाको लहर भए पनि स्थानीय र परिचित उम्मेदवार भएकाले जनताले मलाई रोज्नेछन् भन्ने मेरो विश्वास छ । हामी हावामा होइन, जमिनमा टेकेर राजनीति गरेका छौँ ।

तपाईंको दलले 'न्यु इकोनमिक ट्र्याक' सहितको घोषणापत्र सार्वजनिक गरेको छ । यसको सार के हो ? काठमाडौँ क्षेत्र नम्बर ९ का लागि बोकेका विशेष एजेन्डा के–के हुन् ?
 
हाम्रो घोषणापत्रले दुईवटा पाटोलाई समेटेको छ– एउटा राष्ट्रिय राजनीतिक निकास र अर्को आर्थिक समृद्धि । राजनीतिक रूपमा हामीले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र विज्ञहरूको मन्त्रिमण्डल हुनुपर्छ भन्ने एजेन्डा अघि सारेका  छौं । न्यायालयलाई राजनीतिक भागबण्डाबाट मुक्त गरेर स्वतन्त्र र जनउत्तरदायी बनाउने हाम्रो प्रस्ताव छ ।

स्थानीय स्तर अर्थात् काठमाडौँ क्षेत्र नम्बर ९ को सन्दर्भमा मेरा प्राथमिकताहरू स्पष्ट छन् । पहिलो, जनताको आवाजको प्रतिनिधित्व, दोस्रो शिक्षा र विद्यालय सुधार, तेस्रो सांस्कृतिक, पर्यटकीय विकास र चौथो जनजीविकाका सवाल । 

मेरो निर्वाचन क्षेत्रका जनताको आवाजलाई सदनमा बुलन्द गर्ने र उहाँहरूको सुख–दुःखमा सँगै रहने मेरो पहिलो कर्तव्य हुनेछ । क्षेत्रमा रहेका धेरै सरकारी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । ६४ सालमा जुन विद्यालयको प्राङ्गणबाट मैले भोट मागेको थिएँ, आज ती विद्यालय बन्द भइसकेका छन् । शिक्षालाई व्यावहारिक, वैज्ञानिक र रोजगारमूलक बनाउन सरकारी विद्यालयको स्तरोन्नति गर्ने र 'पढ्दै र कमाउँदै' नीति लागु गर्ने मेरो प्राथमिकता हो ।

मेरो क्षेत्र ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण छ । यो क्षेत्र (दहचोकको कालु पाण्डेको समाधिस्थलदेखि वसन्तपुर–सुन्धारासम्म) मा नेवार, तामाङ, मगर, खस–आर्य लगायतका समुदायको मिश्रित बसोबास छ । यहाँका मौलिक संस्कृति र सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन मार्फत स्थानीय रोजगारी सिर्जना गर्ने योजना मसँग छ ।

आईटी सेन्टरहरूको स्थापना, खानेपानी, ढल निकास र व्यवस्थित सहरीकरणका मुद्दाहरूमा मेरो ध्यान जानेछ । जनताले दुःख गरेर कमाएको पैसा शिक्षा र स्वास्थ्यजस्ता आधारभूत कुरामा खर्च गर्नुपर्ने बाध्यताको अन्त्य गर्न राज्यको दायित्व बढाउने कुरामा म लड्नेछु ।

तपाईंको पार्टीको घोषणापत्रमा 'एकीकृत स्वामित्व' वा 'सामूहिक पुँजी' को कुरा उल्लेख छ । अहिलेको विश्व परिवेशमा पुँजीवादी र समाजवादी मोडलबीचको बहस चलिरहँदा तपाईंहरूले भनेको यो 'एकीकृत पुँजी' को मोडल कस्तो हो ? यसले देशको अर्थतन्त्रलाई कसरी उकास्छ ?

अहिले संसारमा मुख्यतया दुईवटा आर्थिक मोडल छन्– निजी पुँजी (पुँजीवादी) र राज्य नियन्त्रित वा सामूहिक पुँजी (समाजवादी) । हामीले प्रस्ताव गरेको 'एकीकृत स्वामित्व' को मोडल भनेको निजी, सामूहिक र राज्यको पुँजीलाई एकीकृत गरेर परिचालन गर्ने विधि हो ।

नेपालको वर्तमान अर्थतन्त्र आयातमुखी र रेमिट्यान्समा आधारित छ । युवाहरू विदेशिने, उताबाट पैसा आउने र त्यो पैसा फेरि विदेशी सामान किन्नमै विदेश जाने चक्र चलिरहेको छ । यो क्रमलाई रोक्न हामीले उत्पादनमा जोड दिनुपर्छ । 'एकीकृत स्वामित्व' अन्तर्गत हामी यस्ता उत्पादन केन्द्रहरू खोल्नेछौँ, जहाँ व्यक्तिको निजी लगानी पनि सुरक्षित हुन्छ, समुदायको सानो सानो पुँजी पनि लगानी हुन्छ । राज्यले पनि लगानी र संरक्षणको दायित्व लिन्छ ।

यसरी जम्मा भएको पुँजीबाट उद्योगधन्दा खोल्ने र त्यसबाट हुने उत्पादन र नाफाको वितरण पनि न्यायोचित ढंगले गर्ने हाम्रो योजना हो । यसमा पुँजी परिचालकहरूको सामाजिक र नैतिक दायित्व पनि हुन्छ । हामीले पार्टीकै पहलमा पनि देशका विभिन्न ठाउँमा यस्ता उत्पादन केन्द्रहरू सञ्चालन गरेका छौँ र ती धेरै हदसम्म सफल पनि भएका छन् ।

Maila Lama2

नेपालमा जे पनि उत्पादन गर्न सकिने सम्भावना छ । कृषि, पर्यटन, जलस्रोत र जडिबुटीमा आधारित उद्योगहरूमा यो एकीकृत पुँजीको मोडल लागु गर्न सकिन्छ । यसले एकातिर मुलुकलाई आत्मनिर्भर बनाउँछ भने अर्कोतिर रोजगारी सिर्जना गर्छ । हामी निजी क्षेत्रलाई निरुत्साहित गर्दैनौँ, तर निजी क्षेत्रलाई पनि राज्य र समाजप्रतिको दायित्व बोध गराउँदै राष्ट्रिय पुँजी निर्माणमा लगाउने हाम्रो नीति हो ।

विगतमा माओवादी संसदीय व्यवस्थाको विरोध गर्दै जंगल पस्यो, फेरि शान्ति प्रक्रियामा आयो, संविधानसभामा भाग लियो । तपाईंहरु फेरि भूमिगत हुनुभयो । अहिले तपाईंहरू फेरि संसदीय निर्वाचनमा आउनुभएको छ । तपाईंहरुमा विरोधाभाष देखिएको हो ?

यो विरोधाभास होइन, यो राजनीतिक कार्यनीति र समयको माग हो । हामीले ६४ सालमा चुनावमा भाग लिनु ठीक थियो, किनकि जनताले परिवर्तन चाहेका थिए । तर जब नेतृत्वले जनताको विश्वासमाथि घात गर्‍यो, संसदीय व्यवस्था भित्रका विकृतिहरू बढ्दै गए, भ्रष्टाचार संस्थागत भयो, तब हामीले त्यसको विरोध गर्नु पनि आवश्यक थियो ।

पछिल्लो समय भदौ २३ र २४ गते भएको जनविद्रोहको प्रयास र देशको समग्र परिस्थितिले एउटा नयाँ सन्देश दिएको छ– केवल सडकमा बसेर मात्रै वा केवल सदनमा बसेर मात्रै निकास निस्किँदैन । अहिलेको संसदीय व्यवस्था असफल सिद्ध भइसकेको छ । नेताहरू भ्रष्ट भएका छन्, कर्मचारीतन्त्रमा विचलन आएको छ । यस्तो अवस्थामा जनताको आवाजलाई सदनभित्रै गएर बोल्ने र गलत प्रवृत्तिको भन्डाफोर गर्ने आँट भएको शक्तिको खाँचो छ ।

हामीले चुनाव उपयोगको नीति लिएका हौँ । यसको अर्थ हामी संसदीय व्यवस्थाको अन्धभक्त भएर आएका होइनौँ । हामी यसलाई जनताको पक्षमा प्रयोग गर्न आएका हौँ । विश्वमा कम्युनिस्टहरूले सत्ताप्राप्तिका लागि चुनाव र संघर्ष दुवै बाटो प्रयोग गरेको इतिहास छ । अहिलेको परिस्थितिमा जनताले हामीलाई तिमीहरू पनि यो मोर्चामा आएर लड, सडकमा मात्रै नबस भन्ने सुझाव दिएकाले हामी यहाँ आएका हौँ । हामी जित्दा सदनबाट र हार्दा सडकबाट– दुवै मोर्चाबाट जनताको सेवा गर्न छोड्ने छैनौँ ।

निर्वाचन निकै खर्चिलो भएको गुनासो आउने गरेको छ । तपाईं लामो समय क्रान्ति र संघर्षमा बिताएको व्यक्ति, अहिलेको यो महँगो चुनावमा आर्थिक व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

नेपालको निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो र भड्किलो भएको छ, जसले भ्रष्टाचारलाई नै बढावा दिएको छ । यसलाई नियन्त्रण गर्नैपर्छ । जहाँसम्म मेरो चुनावी खर्चको कुरा छ, मसँग कुनै बिजिनेस टाइकुन वा कर्पोरेट हाउसको लगानी छैन । मेरो खर्चको स्रोत भनेको मेरा इष्टमित्र, साथीभाइ, कार्यकर्ता र शुभेच्छुकहरू नै हुन् ।

कसैले १ हजार, कसैले ५ हजार त कसैले १० हजार सहयोग गरेर मेरो चुनावी अभियान चलिरहेको छ । म र मेरो पार्टीका उम्मेदवारहरूले कुनै पनि विवादास्पद व्यापारी वा दलालसँग पैसा लिएका छैनौँ र लिने पनि छैनौँ । यो म १०० प्रतिशत ग्यारेन्टीका साथ भन्न सक्छु । हामी त भोक लाग्दा गोजीबाट पैसा झिकेर चाउचाउ खाँदै, हिँड्दै प्रचारमा जुटेका छौँ ।

मैले मतदाताहरूलाई स्पष्ट भनेको छु– जसले तपाईंको भोट पैसामा किन्छ, उसले भोलि तपाईंलाई नै बेच्छ । जसले चुनावमा करोडौँ खर्च गर्छ, उसले जितेर गएपछि जनताको सेवा होइन, आफ्नो लगानी उठाउन भ्रष्टाचार गर्छ । यो कुरा जनताले बुझ्न जरुरी छ । यदि कोही उम्मेदवारले पैसाको बलमा चुनाव जित्ने सपना देखेको छ भने त्यो गलत हो । मतदाताले पैसा लिने तर भोट चाहिँ इमानदारलाई हाल्ने विवेक प्रयोग गर्नुपर्छ । मेरो चुनाव एकदमै कम खर्चिलो र पारदर्शी हुनेछ ।

तपाईंहरूको चुनाव चिन्ह 'गुलाफको फूल' छ । हिजो बन्दुक बोक्ने पार्टीले आज गुलाफ रोज्नुको कुनै विशेष अर्थ छ ?

चुनावी प्रक्रियामा जाँदा निर्वाचन आयोगले उपलब्ध गराएका चिह्नहरूमध्येबाट एउटा रोज्नुपर्ने हुन्छ । हामीलाई 'गुलाफको फूल प्राप्त भयो र हामी यसमा खुसी छौँ ।

यसको सांकेतिक अर्थ पनि छ । गुलाफ प्रेम र सौन्दर्यको प्रतीक हो । हिजो बन्दुक बोक्नु बाध्यता थियो, आज गुलाफ लिएर जनताको मन जित्न आएका छौँ । हामी जनतासँग प्रेमपूर्ण सम्बन्ध गाँस्न चाहन्छौँ । यो चुनाव चिह्नले हाम्रो रूपान्तरण र शान्तिप्रतिको प्रतिबद्धतालाई पनि झल्काउँछ । यसपटक देशैभरि गुलाफको फूल फुल्नेछ भन्नेमा हामी आशावादी छौँ ।

अन्त्यमा, काठमाडौँ क्षेत्र नम्बर ९ का मतदाताहरूलाई के अपिल गर्न चाहनुहुन्छ ?

म सम्पूर्ण आदरणीय मतदाताहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु कि यसपटकको चुनावमा विवेक पुर्‍याउनुहोस् । भावना र लहरमा मात्र नबग्नुहोस् । उम्मेदवारको विगत, उसको त्याग, उसको वर्तमान र उसले बोकेको एजेन्डालाई हेर्नुहोस् ।

हामी जित्यौँ भने सदनबाट तपाईंहरूको आवाज बोल्नेछौँ, मुलुकको नीति निर्माणमा हस्तक्षेप गर्नेछौँ । यदि कथंकदाचित नतिजा हाम्रो पक्षमा आएन भने पनि हामी भागेर जाने छैनौँ । हामी हिजो पनि तपाईंहरूसँगै थियौँ, आज पनि छौँ र भोलि पनि तपाईंहरूकै सुख–दुःखमा सँगै हुनेछौँ । पैसा र प्रलोभनमा नपरी, निर्धक्क भएर आफ्नो विवेकको मत 'गुलाफको फूल' मा दिनुहुन म विशेष अपिल गर्छु । तपाईंहरूको अमूल्य मतले हामीलाई देश र जनताको सेवा गर्न थप ऊर्जा मिल्नेछ ।

भिडियो : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप