आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न

सोमबार, २६ माघ २०८२, १८ : ४७
सोमबार, २६ माघ २०८२

माल्दिभ्स । श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासले माल्दिभ्समा कार्यरत नेपालीहरूका समस्या समाधान गर्ने उद्देश्यले ‘नेपाल कम्युनिटी सपोर्ट, हेल्थ चेक तथा कन्सुलर सेवा क्याम्प–माल्दिभ्स २०२६’ को आयोजना गरेको छ । माल्दिभ्सको राजधानी मालेस्थित कामना मालाममा कार्यक्रमको आयोजना गरिएको थियो ।

दूतावासका उपप्रमुख विजय कुमार राउतले माल्दिभ्समा कार्यरत नेपालीहरूलाई प्रदान गरिँदै आएको कन्सुलर सेवा तथा सहयोगबारे जानकारी दिँदै नेपाली समुदायले माल्दिभ्सको स्वास्थ्य, निर्माण, पर्यटन तथा आर्थिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे । 

उक्त कार्यक्रममा माल्दिभ्समा नेपालीले भोग्ने श्रम समस्या, राहदानी जफत, ज्याला विवाद, सम्झौता उल्लङ्घन, श्रम शोषण, स्वास्थ्य तथा मानसिक स्वास्थ्य जस्ता विषयमा विस्तृत छलफल भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माल्दिभ्सका पूर्व उपराष्ट्रपति अब्दुल्ला जिहादले नेपाली समुदायको मेहनत र इमानदारीको प्रशंसा गर्दै रेमिट्यान्स व्यवस्थापन तथा आय सुरक्षित रूपमा नेपाल पठाउने उपायबारे सुझाव दिएका छन् ।

यस्तै नेपाल हेल्पलाइनकी अध्यक्ष आशिया मोहम्मद र महासचिव सरोज सापकोटा लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा चिकित्सकहरूको सहभागिता रहेको थियो ।

शिविरमा नेपाल नेत्र ज्योति सङ्घ तथा विभिन्न स्वास्थ्यकर्मीको सहयोगमा १ सय ५० भन्दा बढी नेपालीले निःशुल्क स्वास्थ्य परीक्षण, आँखा जाँच, चस्मा तथा आवश्यक औषधि सेवा प्राप्त गरेका थिए । कार्यक्रममा सहभागीहरूले आफ्ना समस्या राख्ने अवसर पाएका थिए भने सम्बन्धित निकायले समाधानका लागि प्रतिबद्धता जनाएको थियो ।

श्रीलङ्काको कोलम्बोस्थित नेपाली राजदूतावासले माल्दिभ्समा समस्यामा परेका नेपाली श्रमिकहरूको उद्धार, कानुनी परामर्श, अस्पताल तथा दूतावास समन्वय, घर फर्कन चाहने नेपालीहरूको व्यवस्थापन तथा समुदाय सचेतना अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा सरोज सापकोटालाई विशेष धन्यवाद व्यक्त गर्दै प्रशंसा गरेको थियो । 

कार्यक्रमको अन्त्यमा आयोजकले अतिथि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले विदेशमा बस्ने नेपालीहरूको समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप