बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भैँसेपाटी सडक फूलले सजाउने तयारीमा ललितपुर महानगर

मङ्गलबार, २७ माघ २०८२, ०० : ३०
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • भैँसेपाटी सडकमा फूल रोप्ने ललितपुर महानगरको तयारी छ।
  • यसअघि पुल्चोकमा फूल रोपेर सुन्दरता बढाइसकेको महानगरको भनाइ छ।
  • स्थानीयवासीले सडक सौन्दर्यकरणले क्षेत्र थप व्यवस्थित हुने विश्वास लिएका छन्।

ललितपुर । केही वर्षअघिसम्म नक्खु उकालो हुँदै भैँसेपाटी सडक धुलो–धुवाँका कारण यात्रुका लागि दिक्कलाग्दो बनेको थियो । सडक कालोपत्र भएसँगै धुलोको समस्या हटेको उक्त क्षेत्रमा ललितपुर महानगरपालिकाले फूल रोप्ने योजना अघि सारेको छ ।

ललितपुर महानगरपालिकाले यसअघि पुल्चोक सडकखण्डमा विभिन्न प्रजातिका फूल रोपी सडकको सुन्दरता अभिवृद्धि गरिसकेको छ । महानगरका अनुसार यही अवधारणालाई विस्तार गर्दै भैँसेपाटीलगायत अन्य उपयुक्त सडक खण्डमा पनि फूल रोप्ने योजना बनाइएको हो । भैँसेपाटी क्षेत्रमा केही दिनभित्रै फूल रोप्ने काम सुरु गरिने महानगरले जनाएको छ ।

ललितपुर महानगरपालिका नगरप्रमुख चिरीबाबु महर्जनले सहरका सडकलाई हराभरा र आकर्षक बनाउने अभियान निरन्तर दिइएको बताए । उनले भने, “कुमारीपाटी, जावलाखेलजस्ता केही सडक खण्ड साँघुरा भएकाले बीचभागमा फूल रोप्न कठिन छ, तर जहाँ सम्भव हुन्छ त्यहाँ फूल रोप्ने काम गरिन्छ ।”

मन्त्री आवास निर्माणपछि भैँसेपाटी क्षेत्रको समग्र सौन्दर्य बढ्दै गएको स्थानीयवासी बताउँछन् । नक्खु उकालोमा फूल रोपिएमा क्षेत्र अझ आकर्षक हुने स्थानीय विश्वास थापाको भनाइ छ । विगत सम्झँदै उनले भने, “केही वर्षअघि नख्खु उकालो हिँड्न निकै कठिन थियो । उडेको धुलोले सर्वसाधारण, बालबालिका र यात्रु सबै प्रभावित थिए ।”

हाल सडक कालोपत्र भएसँगै सवारी साधनको आवतजावत सहज भएको छ भने पहिले जस्तो लामो जाममा बस्नुपर्ने अवस्था हटेको छ । स्थानीयवासीहरू सडक सौन्दर्यकरणको योजनाले भैँसेपाटी क्षेत्रलाई थप व्यवस्थित र आकर्षक बनाउने विश्वास व्यक्त गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप