शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कनेक्ट किसान र एनएएमपीबिच समझदारी

मङ्गलबार, २७ माघ २०८२, १९ : ४३
मङ्गलबार, २७ माघ २०८२

काठमाडौँ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबिच सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । 

सोमबार सम्झदारी–पत्रमा कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहाल र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताको उद्देश्य नेपाली किसानलाई डिजिटल प्लेटफर्ममार्फत कृषि सम्बन्धी समस्या समाधानमा सजिलो बनाउनु हो । कनेक्ट किसानले विकसित गरेको भ्वाइस बेस र टेक्स्ट बेस एआई एडभाइजरी प्रविधिले किसानलाई खेतबारीमा प्रत्यक्ष सहायता पुर्‍याउनेछ। यो प्रणालीमा किसानले खेतीबारीमा काम गर्दा आउने समस्या जस्तैः मल, बजार, रोगकीरा व्यवस्थापनको तत्काल समाधान वा सुझाव प्राप्त गर्न सक्नेछन् ।

कनेक्ट किसानका निर्देशक राजन दाहालले भारतमा प्रविधिमैत्री किसानले एआईको प्रयोग गरेर उत्पादन वृद्धि गरिरहेका छन् भने नेपालमा पनि यस्ता प्रविधि प्रयोग गर्दा किसानलाई ठुलो फाइदा हुने बताए । उनका अनुसार  किसानहरूले यदि नीतिगत समस्या वा बजारसँग सम्बन्धित चुनौती देखेका छन् भने खेतीमा रोग कीरासम्बन्धी अनुसन्धान आवश्यक छ भने उनीहरूले यी जानकारीहरू एआई प्रविधिको माध्यमबाट पठाउन सक्नेछन् । पठाइएको जानकारी सङ्कलन गरी एनएएएमपीले आवश्यक कदम चाल्न प्रयोग गरिनेछ । उनले भने, 'हाम्रो एआई प्रणालीले किसानलाई व्यक्तिगत कृषि सल्लाह दिन सक्षम छ ।'

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले किसानलाई डिजिटल प्लेटफर्ममा पुर्‍याउन र समस्या समाधानमा सहयोग पुर्‍याउन कनेक्ट किसानसँग सम्झौता गरिएको बताए । उनले भने, 'किसानले आफ्नो खेतबारीमा जुनसुकै समस्या आए पनि तत्काल समाधान पाउन सक्नेछन् । साथै ठुला वा जटिल समस्याहरूको लागि प्रविधिक र अनुसन्धान टोलीले पनि सहयोग गर्नेछ ।'

यस समझौताको माध्यमबाट किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्य राखिएको छ । कृषि नीतिगत चुनौती जस्तैः बजारमा पहुँच नपाउनु, मल अभाव, रोग व्यवस्थापनजस्ता समस्या पनि एआई प्रणालीमा डेटा बनाइने र भविष्यमा त्यसको आधारमा समाधानको योजना तयार पारिने निर्देशन श्रेष्ठले बताए ।

कनेक्ट किसानको एआई प्रविधि भनेको कृषकको आवश्यकता अनुसार कृषि सल्लाह, रोगरकीरा व्यवस्थापन, मल र बीउ सुझाव, बजार जानकारीलगायत सेवा उपलब्ध गराउने डिजिटल प्लेटफर्म हो । यो प्रणालीले किसानलाई आफ्नो खेतमा प्रत्यक्ष निर्णय लिन सजिलो बनाउनेछ र कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप