पोखरामा महिना दिनदेखि सडकमै फोहोर, महानगर भन्छ– शनिबारदेखि उठाउँछौँ
सारांश
- पोखरा महानगरमा एक महिनादेखि फोहोर उठ्न सकेको छैन र चोकचोकमा फोहोरको डंगुर जम्मा भएको छ।
- सर्वपक्षीय बैठकले फोहोर व्यवस्थापनका लागि सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् र दीर्घकालीन समाधान खोज्ने कुरा भएको छ।
- मेयरले अल्पकालीन र दीर्घकालीन व्यवस्थापनका लागि महानगर लागिपरेको बताएका छन्, साथै फोहोरबाट मोहर आर्जन गर्ने योजना रहेको छ।
पोखरा । पोखरा महानगरमा एक महिनादेखि फोहोर उठ्न सकेको छैन । महानगरका चोकचोकमा अहिले फोहोरको डंगुर छ । पटक पटकको प्रयासमा पनि फोहोर व्यवस्थापन सफल नभएपछि महानगरले बुधबार सर्वपक्षीय बैठक बोलायो । राजनीतिक दल, प्रशासन र सरोकारवालाको बैठकले फोहोर व्यवस्थापनको समस्या समाधान गर्न सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले प्राविधिक हिसाबले उपयुक्त स्थानमा फोहोर विसर्जन गर्न र दीर्घकालीन योजना शीघ्र कार्यान्वयन गर्न सुझाव दिए । नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले स्वास्थ्य सबैको सम्पत्ति भएकोले फोहोरमा राजनीति नगर्ने बताएका छन् ।
नेपाली कांग्रेसका सचिव नवीन सिग्देलले पर्यटकीय नगरीलाई प्रदूषित बनाउने छुट कसैलाई नभएको भन्दै पार्टीको पूर्ण सहयोग रहने बताए । महानगरले १६ भन्दा बढी ठाउँमा जग्गा खोजी गरे पनि उपयुक्त स्थान छनोट हुन नसक्दा समस्या लम्बिएको जनाएको छ ।
बैठकमा मेयर धनराज आचार्यले फोहोरको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनका लागि महानगर निरन्तर लागिरहेको जानकारी दिए । अहिले प्रयोग भइरहेको लामेआहाल ल्याण्डफिल साइट भरिएपछि समस्या आएको र नयाँ स्थानको खोजीमा दर्जनौँ ठाउँ हेरिए पनि विविध कारणले टुंगो लाग्न नसकेको बताए ।

‘हामीले अस्थायी रूपमा फोहोर विसर्जन गर्ने ठाउँको खोजी गरिरहेका छौं,’ उनले भने, ‘बजार क्षेत्रको सबै फोहोर उठ्न सुरु हुनेछ ।’ उनले फोहोर प्रशोधन केन्द्र निर्माणको प्रक्रिया पनि अघि बढिसकेको बताए । ‘महानगर फोहोरबाट मोहर आर्जन गर्ने पक्षमा छ । युरोपियन प्रविधिमार्फत पीपीपी मोडलमा फोहोरबाट ग्यास र बिजुली निकाल्ने गरी स्थायी प्रशोधन केन्द्र निर्माणको प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने ।
गण्डकी प्रदेशका मुख्यसचिव डण्डुराज घिमिरेले फोहोरमा राजनीति हुनु दुःखद् भएको बताउँदै पोखराको फोहोर व्यवस्थापनमा प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनले राज्य र नागरिक दुवैले आ आफ्नो दायित्वबोध गर्नुपर्ने सुनाए । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर अधिकारीले गर्मी बढ्दै गएकाले चाँडै फोहोर व्यवस्थापन गर्नुपर्ने भन्दै समन्वय र अनुगमनका लागि समिति तयार रहेको प्रतिबद्धता जनाए ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले फोहोर व्यवस्थापनमा अवरोध गर्ने वा जथाभावी फोहोर फाल्ने कार्य दण्डनीय हुने बताए । उनले मापदण्ड अनुसार फोहोर व्यवस्थापनमा सघाउन गृह प्रशासन तयार रहेको र कानुन कार्यान्वयनमा प्रशासन पछि नहट्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण