बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सेनाका शीर्ष जनरललाई हटाएकोबारे राष्ट्रपति सीले तोडे मौनता

भने- ‘यो क्रान्तिकारी शुद्धीकरण हो’
बिहीबार, २९ माघ २०८२, १२ : ५६
बिहीबार, २९ माघ २०८२

सारांश

  • चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनामा गरिएको कारबाहीलाई ‘भ्रष्टाचारविरुद्धको लडाइँ’ को संज्ञा दिए।
  • जनवरीमा जनरल झाङ युसिया लगायतका उच्च सैन्य अधिकारीहरूलाई पदमुक्त गरिएको थियो, जसलाई सीको विश्वासपात्र मानिन्थ्यो।
  • सीले सेनाको मनोबल कायम राख्न र पार्टीप्रति वफादार रहन सम्बोधन गर्दै भ्रष्टाचारविरुद्धको कारबाहीलाई निरन्तरता दिने बताए।

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै सेनामा गरिएको ठुलो कारबाही र शीर्ष जनरलहरूको बर्खास्तीबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन्। आफ्ना सबैभन्दा विश्वासिला पात्र मानिने जनरललाई समेत पदमुक्त गरेपछि सीले यसलाई ‘भ्रष्टाचारविरुद्धको लडाइँ’ को संज्ञा दिएका छन्।

मंगलबार चिनियाँ नयाँ वर्षको अवसरमा सेनालाई भर्चुअल सम्बोधन गर्दै सीले बितेको वर्ष ‘असाधारण र अस्वाभाविक’ रहेको बताए। उनले सेनाले भ्रष्टाचारविरुद्धको लडाइँमा ‘क्रान्तिकारी शुद्धीकरण’ को सामना गरेको उल्लेख गरे। सन् २०२२ पछि उनले आफ्नो वार्षिक सम्बोधनमा भ्रष्टाचारको प्रसङ्ग उठाएको यो पहिलो पटक हो।

सीका ‘दाहिने हात’ नै कारबाहीमा
गत जनवरीमा ७५ वर्षीय जनरल झाङ युसियालाई पदबाट हटाइएको थियो। झाङलाई सी जिनपिङको सबैभन्दा नजिकको सैन्य सहयोगी मानिन्थ्यो। 

उनी शक्तिशाली सेन्ट्रल मिलिटरी कमिसन (सीएमसी) का उपाध्यक्ष थिए। उनीसँगै अर्का वरिष्ठ अधिकारी जनरल लियु झेनलीलाई पनि बर्खास्त गरिएको थियो।

उनीहरूमाथि ‘गम्भीर अनुशासन र कानुन उल्लंघन’ गरेको आरोप लगाइएको छ। चीनमा राजनीतिक प्रतिद्वन्द्वी वा भ्रष्टाचारीलाई हटाउँदा अक्सर यस्तै शब्दावली प्रयोग गरिन्छ।

सीको यो कारबाही पछिल्लो समय निकै तीव्र बनेको छ। सन् २०२५ को अक्टोबरमा पनि ९ जना शीर्ष जनरललाई पदमुक्त गरिएको थियो। तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा १४ जना ‘फुल र्‍यांक’ जनरलहरू बर्खास्तीमा परेका छन् वा छानबिनको दायरामा आएका छन्।

लगातारको कारबाहीले चीनको सबैभन्दा शक्तिशाली सैन्य निकाय सेन्ट्रल मिलिटरी कमिसन (सीएमसी) लगभग रित्तिएको छ। ७ सदस्यीय यो कमिसनमा अहिले सी जिनपिङसहित जम्मा दुई जना मात्र बाँकी छन्। यसले चिनियाँ सेनाको नेतृत्व तहमा ठुलो हलचल ल्याएको छ।

किन बोल्नुपर्‍यो सीले ?
सी जिनपिङले विरलै मात्र पत्रकार सम्मेलन गर्छन् वा अन्तरवार्ता दिन्छन् । अझ सेनाभित्रको आन्तरिक कारबाहीबारे उनले सार्वजनिक रूपमा प्रष्टीकरण दिनुलाई अर्थपूर्ण मानिएको छ। एकैपटक धेरै उच्च अधिकारी हटाउँदा सेनाको मनोबल र युद्ध क्षमतामा असर पर्न सक्ने भन्दै पार्टीका कार्यकर्ता र जनतालाई आश्वस्त पार्न उनले यो अभिव्यक्ति दिएको विश्लेषण गरिएको छ।

उनले आफ्नो सम्बोधनमा पिपल्स लिबरेशन आर्मी (पीएलए) ले विभिन्न जोखिम र चुनौतीहरूलाई प्रभावकारी रूपमा समाधान गरेको र सेना पार्टीप्रति वफादार रहेको दाबी गरे।

सी जिनपिङ सत्तामा आएदेखि नै भ्रष्टाचार निवारणलाई आफ्नो शासनको मुख्य आधार बताउँदै आएका छन्। तर, आलोचकहरूले भने यसलाई आफ्ना राजनीतिक विरोधीहरूलाई सिध्याउने र सत्तामा पकड जमाउने रणनीतिको रूपमा व्याख्या गर्ने गरेका छन्।

नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक चोङ जा इयानका अनुसार यो कारबाही वास्तवमै भ्रष्टाचारका लागि हो वा राजनीतिक सङ्घर्षका लागि भन्ने बाहिरबाट यकिन गर्न गाह्रो छ। यद्यपि, यसले सीको इच्छाविपरीत जाने वा वफादार नहुनेहरूका लागि कडा सजाय हुन्छ भन्ने सन्देश दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप