शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

६३ बुँदामा राजनीतिक दलहरूलाई निर्वाचन आयोगको निर्देशन

आइतबार, ०३ फागुन २०८२, १७ : ०१
आइतबार, ०३ फागुन २०८२

सारांश

  • निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई ६३ बुँदे निर्देशन जारी गरेको छ।
  • आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ।
  • राजनीतिक दल तथा उम्मेदवारहरूलाई २०८२ फागुन ४ देखि १५ गतेसम्म मात्र प्रचारप्रसार गर्न अनुमति दिइएको छ।

काठमाडौँ । निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूलाई ६३ बुँदे निर्देशन जारी गरेको छ ।

आइतबार जारी प्रेस विज्ञप्तिमार्फत आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन विभिन्न आचारसंहितासम्बन्धी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।

आयोगका अनुसार २०८२ माघ ३ गते बसेको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो । आयोगले निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको अवाञ्छित प्रभाव, दबाब वा अवरोध सिर्जना गर्ने कार्य नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई सचेत गराएको छ ।

निर्देशनको पहिलो बुँदामा उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट कसैलाई वञ्चित गर्ने उद्देश्यले बाधा–अवरोध पुर्‍याउन नहुने उल्लेख छ । साथै हातहतियार वा विष्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न, धाकधम्की दिन, डरत्रास फैलाउन, सार्वजनिक प्रतिष्ठामा आँच पुर्‍याउन, सामाजिक सद्भाव बिगार्ने गतिविधि गर्न तथा आर्थिक प्रलोभन देखाउन निषेध गरिएको छ। धर्मको आधारमा प्रतिज्ञा गराएर प्रभाव पार्न समेत नपाइने स्पष्ट पारिएको छ ।

दोस्रो बुँदामा राजनीतिक दल तथा उम्मेदवारले २०८२ फागुन ४ गतेदेखि १५ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममार्फत प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्न पाउने व्यवस्था गरिएको छ ।

तेस्रो बुँदामा निर्वाचन अवधिभर मतदातालाई मतदान गर्न वा नगर्न प्रभावित पार्ने उद्देश्यले उपहार, नगद, खाद्यान्न वा जिन्सी सामग्री दिन–लिन नपाइने उल्लेख छ। सार्वजनिक भोज आयोजना गर्न वा त्यस्तो भोजमा सहभागी हुनसमेत रोक लगाइएको छ ।

चौथो बुँदामा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच पुर्‍याउने गतिविधि गर्न नहुने उल्लेख छ। जाति, भाषा, धर्म, समुदाय वा क्षेत्रीयताको आधारमा घृणा वा द्वेष फैलाउने कार्य गर्नसमेत कडाइ गरिएको छ ।

पाँचौं बुँदामा निर्वाचन परिणाममा प्रभाव पार्ने उद्देश्यले कुनै उम्मेदवार वा निजका परिवारका सदस्यको चरित्र हत्या गर्ने, डर–त्रास वा धम्की दिने कार्य पूर्ण रूपमा निषेध गरिएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप