महाशिवरात्रि : पशुपतिनाथ लगायतका शिवालयमा चार प्रहरको पूजा
काठमाडौँ । महाशिवरात्रिको रात्रिमा अहिले पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बेलुकी करिब ६ बजे सुरु भएको चार प्रहरको पूजा सोमबार बिहान ६ बजेसम्म जारी रहने कोषका सूचना अधिकारी अनिता भट्टले जानकारीे दिइन् । चार प्रहरमा इशान, अघोर, वामदेव र सद्योजात मुहारको क्रमशः दूध, दही, घिउ र महद्वारा पूजा गर्ने परम्परा रही आएको उनले बताइन् ।
सांस्कृतिक पर्वका रूपमा रहेको यो रात्रिमा आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । महाशिवरात्रि वर्षभर पर्ने चार रात्रिमध्ये एक हो । पूर्वीय मान्यताअनुसार मोहरात्रि, कालरात्रि, सुखरात्रि र शिवरात्रि वर्षभर पर्ने चार मुख्य रात्रि हुन् ।
भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो ।
महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्त्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् । आज बेलुकी करिब छ बजेदेखि पूजा सुरु भएको र पहिलो प्रहर पूजा करिब पौने नौ बजे सकिएको उनले सुनाए ।
नौ बजेको हाराहारीमा दोस्रो प्रहर पूजा सुरु भएको र यो करिब पौने १२ बजे सकिन्छ । करिब १२ बजेको हाराहारीमा तेस्रो प्रहर पूजा सुरु भई पौने तीन बजे सकिन्छ । चौथो प्रहर पूजा करिब तीन बजेको हाराहारीमा सुरु भई बिहान छ बजेको हाराहारीमा सकिन्छ । जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ ।
महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्त्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्ने जानकारहरूले बताएका छन् । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा भइरहेको छ ।
प्रहर पूजाबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास रहेको छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वर, बाणेश्वरलगायत मन्दिरमा पनि चार प्रहर पूजा गर्ने परम्परा रही आएको छ ।
महाशिवरात्रिका अवसरमा आज दिनभर पशुपतिनाथ मन्दिरसँगै गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, बाणेश्वर महादेव, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत स्थानमा भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण