बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
ब्याटलग्राउन्ड : कालिकोट

कालिकोटमा ‘हेभीवेट’ भिडन्त : विकासको बेलीबिस्तार लगाउँदै महेन्द्र, प्रश्न उठाउँदै अन्य उम्मेदवार

शाही र प्रकाण्डबिचको भिडन्तले एमाले—कांग्रेसलाई फाइदा पुग्ला ?
सोमबार, ०४ फागुन २०८२, ०६ : १०
सोमबार, ०४ फागुन २०८२

सुर्खेत । प्रतिनिधि सभा अन्तर्गत कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये कालिकोट यो पटक निकै चासोको केन्द्रमा छ । किनकि माओवादी जनयुद्धका समयमा सहकर्मी रहेका महेन्द्रबहादुर शाही र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ यस निर्वाचन क्षेत्रमा आमनेसामने छन् ।

१८ वर्षपछि संसदीय निर्वाचनमा पहिलो पटक प्रकाण्ड उम्मेदवार बन्दा आफ्नै पूर्वसहकर्मी महेन्द्रलाई मुख्य प्रतिस्पर्धीका रूपमा पाएका छन् ।

यहाँ कांग्रेसबाट हर्षबहादुर बम, एमालेबाट नगीन्द्र शाही ‘नेसनल’देखि रास्वपाबाट प्रकाश न्यौपाने पनि उम्मेदवार छन् । तर, चर्चाको केन्द्रमा माओवादी पृष्ठभूमिका महेन्द्र र प्रकाण्ड छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका महेन्द्र बहादुर शाही चौथो पटक चुनावी मैदानमा छन् । उनी कर्णालीका पूर्वमुख्यमन्त्री पनि हुन् । प्रकाण्ड भने नेकपा माओवादीको गुलाफको फूल चुनाव चिह्न लिएर मैदानमा उत्रिएका हुन् ।

राजनीतिक रूपमा प्रकाण्ड महेन्द्र बहादुर शाहीभन्दा सिनियर नेता हुन् । युद्धकालमा प्रकाण्ड पार्टी राजनीतिमा भेरी—कर्नाली क्षेत्रका प्रमुख नेतामध्ये एक थिए । शक्ति बस्नेत पार्टीको कारबाहीमा परेपछि उनी युद्धताकै केन्द्रीय सदस्य तथा भेरी–कर्नाली ब्युरो इन्चार्ज भइसकेका थिए । त्यो बेला भेरी–कर्णाली जनसरकार प्रमुख समेत थिए उनी ।

महेन्द्र भने जनमुक्ति सेनाका लडाकु कमान्डर थिए । साविक कर्णाली अञ्चलमा पहिलो पटक छापामार सेना स्थापना भएको समयदेखि नै महेन्द्र जनमुक्ति सेनाको अग्रभागमै थिए । पार्टीमा पनि उत्तिकै सक्रिय थिए ।

कालिकोट जिल्लाको सैन्य इन्चार्ज हुँदै बटालियन कमाण्डर, बिग्रेड कमाण्डर हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका उनले पश्चिम नेपालका ठुला युद्ध मोर्चामा निर्णायक भूमिका निर्वाह गरे ।

शान्ति प्रक्रियापछि महेन्द्र बहादुर शाही सेनामै थिए भने प्रकाण्ड ०६४ को चुनावमा बलियो मत ल्याएर संसदीय राजनीतिमा प्रवेश गरे । केन्द्रमा उनी महिला तथा बालबालिका मन्त्री हुँदै पर्यटनमन्त्रीसम्म बने ।

सांसदको कार्यकाल नसकिँदै (०६९) माओवादी अध्यक्ष ‘प्रचण्ड’सँग असन्तुष्टि जनाएर प्रकाण्डले विप्लवसँगै पार्टी छाडे । पुनः विद्रोहको बाटो अपनाएका प्रकाण्डले मूल पार्टी छाडेपछि यस क्षेत्रबाट माओवादीमा महेन्द्र बहादुर शाहीको जबरजस्त उदय भयो ।

उसै उनी सेना समायोजनका बेला सम्मानजनक पद नपाएपछि पार्टी राजनीतिमा आउन चाहेका थिए । जिल्लाका प्रमुख नेताले नै मूल पार्टी छाडेपछि कालिकोटमा माओवादीको विरासत यथावत् राख्न प्रचण्डले महेन्द्रलाई अघि बढाएका थिए ।

माओवादी फुटकै बिचबाट ०७० को दोस्रो संविधान सभा चुनाव जितेका महेन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्री बने । त्यही बेला उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्दै चर्चामा आए ।

०७४ मा प्रदेश सभा झरेका उनी कर्णालीको मुख्यमन्त्री बने । तत्कालीन नेकपा विवाद उत्कर्षको बेला सबैभन्दा ठुलो दल एमालेका सांसदलाई ‘फ्लोर क्रस’ गर्न लगाएर आफ्नो पद जोगाएर संसदीय राजनीतिमा चतुर खेलाडी बनेर उनी निस्किए । माओवादीभित्र कर्णालीमा जनार्दन शर्मा, शक्ति बस्नेतपछि महेन्द्र नै प्रभावशाली नेताका रूपमा उदाए ।

अहिले उनी प्रचण्डको विश्वासपात्रका रूपमा चिनिन्छन् भने नेकपाभित्र कर्णालीमा प्रभाव राख्ने नेता हुन् । उता प्रकाण्ड विप्लव नेतृत्वको नेकपाभित्र सधैँ दोस्रो तहको नेताका रूपमा छन् ।

जिल्लामा राम्रै प्रभाव भएका उनले खाडाचक्रको एक सहिद परिवारको घरबाट चुनावी अभियान सुरु गरे । उनका अघि सहिद परिवार धरधरी रोएको र प्रकाण्ड पनि रोएको भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ ।

कालिकोटमा प्रचण्ड नै आए पनि आफूले हराउने दाबी गरेका प्रकाण्डले पहिलो कार्यक्रमबाटै नेकपा उम्मेदवार लक्षित आक्रामक टिप्पणी गरे ।

‘यहाँ जति पनि ठुल्ठुला विकासका आयोजना छन् नि, त्यो त हामी ०६४ को चुनावपछि गरेको विकास बाहेक अरू केही देख्दिनँ, यो कर्णाली कोरिडोर हामीले बनाएको हो, यी लफङ्गाहरू कसैले बनाएको हैन नि,’ उनले भने ।

त्यस्तै, खुलालु पुलदेखि कोटबाड विमानस्थलको काम आफूले अगाडि बढाएको प्रकाण्डले दाबी गरे । प्रकाण्डले सुरुमै आफ्ना पूर्वसहकर्मी नेताहरूलाई ‘लफङ्गा’ भनेपछि कालिकोटमा अहिले प्रकाण्ड र महेन्द्र शाही पक्षबिच आरोप—प्रत्यारोप चलेको छ ।

प्रकाण्डको काउन्टरमा महेन्द्रले पलाताको कार्यक्रममा भने, ‘खुलालु पुल यी लफाङ्गाले बनाएको हो र ? हामीले बनाएको भन्नुभयो, तर त्यो पुलको शिलान्यास त मैले गरेको हो नि !’

आफूले हेलिकोप्टर ल्याएर कर्णाली नदीमाथिको उक्त पुलको शिलान्यास गरेको बताउँदै शाहीले प्रकाण्डमाथि जनतालाई ढाँट्न जे पनि बोल्ने गरेको आरोप लगाए ।

शाहीको समूह रक्षात्मक प्रतिवादमा उत्रिएको छ । प्रकाण्ड समूहले भने लगातार सांसद भए पनि कालिकोटमा केही काम गर्न नसकेको आलोचनादेखि जातीय, भेगीय कुरालाई एजेन्डा बनाइरहेका छन् ।

प्रकाण्डकै समूहले उठाएका कुरालाई अन्य उम्मेदवारले समेत मुद्दा बनाएर महेन्द्र बहादुर शाहीमाथि प्रश्न उठाइरहेका छन् ।

पटक–पटक एउटै उम्मेदवार दोहोरिएको तर, कालिकोटको समुचित विकास र निकास नदिएको आरोप उनीमाथि अन्य उम्मेदवारको छ ।

  • विकासका कुरा गर्ने महेन्द्र, उनीमाथि प्रश्न उठाउने अरू उम्मेदवार

नेकपा उम्मेदवार शाही आफैँले यो पटकको चुनावलाई चुनौतीका रूपमा लिएका छन् । ०७९ को प्रतिनिधि सभा चुनावमा सहज जित निकालेका उनमा आफ्नै पूर्वसहकर्मी नेता प्रकाण्ड मैदानमा आउँदा माओवादीको मत क्रस हुन सक्ने डर देखिएको छ । त्यसैले उनले आफू सांसद भएर मन्त्री, मुख्यमन्त्री बन्दा जिल्लामा गरेका विकासका कुरालाई एजेन्डाका रूपमा अघि सारेका छन् ।

‘कालिकोटमा अहिले भएको विकास कसले गर्‍यो ? मैरै पहलमा खनिएका सडकमा सरर गाडी लिएर जानुहुन्छ, अनि मलाई नै गाली गर्नुहुन्छ,’ शाहीले भने, ‘आफूले यो काम गरेँ अनि मलाई भोट दिनुहोस् भन्ने कुनै चिज नभएपछि व्यक्तिगत लाञ्छना लगाउने गरी विरोधमा उत्रिनुको कुनै अर्थ छैन ।’

mahendra shahi

कालिकोटमा महेन्द्रले केही गरेन भन्ने तर्क सही नभएको उनले बताए । आफू ऊर्जामन्त्री भएका बेला दैलेखमा विद्युतीकरण नहुँदा पनि कालिकोटमा विद्युत् पुर्‍याएको उनको भनाइ छ ।

तर, त्यही विद्युतको उपयोग गर्दै सामाजिक सञ्जालमा आफूविरुद्ध अन्य दल र आफ्ना विरोधीले आलोचना गर्ने गरेको उनले बताए ।

शाहीले भने, ‘मुख्यमन्त्री भएका बेला कालिकोटमा त्यसअघि कहिल्यै नआएको बजेट आयो, सयौँ आयोजना बने । कतिपय रणनीतिक आयोजना अघि बढेका छन्, तिनलाई पूरा गर्ने जिम्मेवारी हाम्रो हो ।’ त्यही उद्देश्य अनुरूप पुनः चुनावी मैदानमा होमिएको उनी बताउँछन् ।

यद्यपि माओवादी उम्मेदवार प्रकाण्ड भने लामो समयपछि आफू चुनावी मैदानमा आउँदा पनि कालिकोटको समुचित विकास नभएको बताउँछन् ।

‘सुरुवातका दिनमा हामीले नै सुरु गरेका आयोजनाले पूर्णता पाएनन्, अहिलेसम्म के गरे यिनीहरूले,’ उनले भने, ‘मैले चुनाव हार्नुपर्ने कारण छैन, हामीलाई कालिकोटबासीले जिताउँछन् ।’

१८ वर्षसम्म पनि कर्णाली कोरिडोरको कालिकोट खण्डको स्तरोन्नति नभएको उनले बताए ।

प्रकाण्डजस्तै कांग्रेस र एमाले उम्मेदवार बम र शाहीले पनि महेन्द्रले लगातार चुनाव जिते पनि जिल्लाको समुचित विकास नगरेको बताइरहेका छन् ।

  • शाही र प्रकाण्डबिचको भिडन्तले एमाले—कांग्रेसलाई फाइदा पुग्ला ?

८४ हजार ६०० मतदाता संख्या रहेको कालिकोटमा प्रत्यक्षतर्फ माओवादीबाट महेन्द्रबहादुर शाहीले ०७९ को निर्वाचनमा २३ हजार ७२७ मत ल्याएर चुनाव जितेका थिए । उक्त मत कांग्रेससहितको हो ।

उक्त निर्वाचनमा एमालेका नगीन्द्र शाहीले १६ हजार ७१८ मत ल्याएका थिए । समानुपातिकतर्फ पनि माओवादी (हाल नेकपा) ले सबैभन्दा धेरै १४ हजार २२९ मत पाउँदा एमालेले १२ हजार ५६४ र कांग्रेसले १० हजार ५८५, एकीकृत समाजवादी (हाल नेकपा)ले २ हजार ५३ मत ल्याएको थियो ।

माओवादी—समाजवादीको मत जोड्दा यहाँ नेकपाको कुल समानुपातिक मत झण्डै १९ हजार पुग्छ ।

वडामा पनि दलहरूले पाएको मत हेर्दा नेकपा पहिलो दल छ । माओवादीले १८ हजार ३४७ र समाजवादीले ३ हजार ५०३ मत स्थानीय तहको निर्वाचन अन्तर्गत वडामा पाएका थिए ।

कांग्रेसले १२ हजार ८२० र एमालेले १२ हजार ६१३ मत  पाएको थियो । ०७९ को सबै चुनावी मत परिणामदेखि सांगठनिक रूपमा कालिकोटमा नेकपा बलियो दल नै हो । तर आफ्नै पूर्वसहकर्मी तथा प्रभाव राख्ने नेता प्रकाण्ड नेकपा माओवादीबाट उम्मेदवार बनेका कारण आफ्नो धेरै मत क्रस हुने डर नेकपा नेताहरूलाई छ ।

प्रकाण्डले पनि आफूलाई माओवादीकै भोट आउने बताइरहेका छन् भने अर्कातर्फ उनले जातीय मत धेरै ल्याउने चर्चा गरिएको छ । कालिकोटमा दलित समुदायको निर्णायक मत रहेकाले उक्त मत उनलाई जानसक्ने विश्लेषण गरिएको छ । स्वयं प्रकाण्डको टिमले पनि यो विषयलाई चुनावी मुद्दा बनाइरहेको छ ।

नेकपाभित्र यसअघि जीवन बुढाले बागी उम्मेदवारी दिएका थिए । प्रचण्डको निर्देशनपछि उनले उम्मेदवारी फिर्तामात्रै गरेनन्, महेन्द्रको चुनावी कमान्डर नै बनेका छन् उनी । यद्यपि उनको समूहको रणनीतिक साथ महेन्द्रले पाउँछन् वा पाउँदैनन् भन्ने चर्चा नेकपा वृत्तमा छ ।

रास्वपा, प्रकाण्डदेखि अन्य दलहरूले समेत नेकपाकै भोट लिनुपर्ने अवस्थामा आन्तरिक रूपमै धोका भएको खण्डमा महेन्द्रलाई यो चुनाव चुनौती बन्न सक्ने आकलन गरिएको छ ।

यद्यपि पूर्वमाओवादी नेताहरू महेन्द्र—प्रकाण्डबिच प्रतिष्ठाको लडाइँ हुने हुँदा त्यसको फाइदा कांग्रेस—एमालेले पनि लिनसक्ने देखिन्छ । एमालेले पुरानै उम्मेदवार नगीन्द्रलाई मैदानमा उतारेको छ भने कांग्रेसले हर्षबहादुर बमलाई अघि सारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप