कास्कीमा निर्वाचनका लागि २२ सय कर्मचारी र ११ सय स्वयंसेवक परिचालन
सारांश
- कास्की जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ, कर्मचारी, सुरक्षाकर्मी र सामग्री व्यवस्थापन भइरहेको छ।
- निर्वाचनका लागि ३ हजार ३ सय जनशक्ति परिचालन हुनेछ, जसमा कर्मचारी र स्वयंसेवकहरू खटिनेछन्।
- जिल्लामा मतदानस्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गरिएको छ, भने मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ।
पोखरा । आगामी निर्वाचनका लागि कास्की जिल्लामा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा व्यवस्थित निर्वाचन गर्न आवश्यक कर्मचारी, सुरक्षाकर्मी, सामग्री व्यवस्थापन र मतदाता शिक्षाका कामहरू तीव्र पारिएको प्रदेश निर्वाचन कार्यालय कास्कीले जनाएको छ । निर्वाचन सम्पन्न गर्न कास्कीमा कुल ३ हजार ३ सय जनशक्ति खटिने भएका छन् । जसमा २ हजार २ सय कर्मचारी र १ हजार १ सय जना स्वयंसेवक छन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालका अनुसार एउटा मतदान केन्द्रमा ६ जना कर्मचारी र ३ जना स्वयंसेवक गरी ९ जनाको टोली खटाइनेछ । ‘स्वयंसेवकका रूपमा हामीले कार्यालय सहयोगी र स्थानीय स्तरमा यसअघि काम गरेका अनुभवी व्यक्तिहरूलाई प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘कर्मचारीहरू पनि सोही अनुसार व्यवस्थापन गरिएको छ ।’ उनीहरूलाई ५ दिनको नियुक्ति दिइनेछ । फागुन १७ गतेदेखि उनीहरू सम्बन्धित मतदान केन्द्रमा पुगेर बुथ निर्माण र सर्वदलीय बैठक लगायतका काम गर्नेछन् ।
कास्कीमा १ सय ५३ मतदानस्थल र ३ सय ६३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले गरेको विश्लेषण अनुसार मतदान स्थलहरूलाई तीन तहमा वर्गीकरण गरिएको छ । जसमध्ये ५६ वटा अति संवेदनशील छन् भने ५४ वटालाई संवेदनशील मानिएको छ । बाँकी ४३ मतदानस्थलहरु सामान्य रहेको प्रशासनले जनाएको छ । सबै मतदानस्थलको स्थलगत अनुगमन गरेर सुरक्षा संवेदनशीलताका आधारमा तयारी समेत भैसकेको ढकालले बताए ।
सुरक्षाका लागि जिल्लामा ८ सय ६० नेपाल प्रहरी र १ हजार १ सय ९९ म्यादी प्रहरी परिचालन गरिनेछ । १२ वटा मोबाइल गस्ती टोली र आपत्कालीन अवस्थाका लागि २ वटा क्युआरटी टोली तयारी अवस्थामा राखिनेछ । करिब ९० प्रतिशत मतदान स्थलको सुरक्षा अनुगमन सकिएको ढकालले जानकारी दिए । कास्कीको क्षेत्र नम्बर ३ स्थित छोम्रोङ मतदान स्थल भौगोलिक रूपमा सबैभन्दा विकट भनेर निर्धारण गरिएको छ । सडक सन्जाल समेत नपुगेको उक्त मतदानस्थल पुग्न घान्द्रुकबाट ४ घण्टा पैदल हिँडेर पुग्न सकिन्छ । जिल्लाका ११ वटा मतदान स्थलमा इन्टरनेट सेवा नपुगेकाले सूचना आदानप्रदानमा केही चुनौती हुन सक्ने आकलन गरिएको छ ।
निर्वाचनका लागि ५२ प्रकारका सामग्री आइपुग्यो
निर्वाचनका लागि आवश्यक ५३ प्रकारका सामग्रीमध्ये ५२ प्रकारका सामग्री जिल्लामा आइसकेको प्रमुख ढकालले बताए । ‘मतपत्र सुरक्षा संवेदनशीलताका कारण आयोगले अन्तिम समयमा पठाउँछ, अरू सबै सामग्री आएर प्याकिङ भइरहेको छ,’ उनले भने । कार्यालयले मत बदर न्यूनीकरण गर्न जिल्लाका ७२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन सुरु गरेको छ ।
फागुन ३ देखि १७ गतेसम्म चल्ने यो अभियानमा ५ वटा पालिकाका प्रत्येक वडामा १–१ जना गरी ७२ जना स्वयंसेवक खटिएका छन् । उनीहरूले घरदैलो र टोलमा पुगेर लक्षित वर्गलाई मतदान गर्ने तरिका सिकाइरहेका छन् । त्यसबाहेक हरेक पालिकामा अनुगमन संयोजक तोकिएको छ भने अनुगमनकर्ताको समेत अनुगमन गर्न जिल्लामा छुट्टै समिति गठन भएको छ ।
कास्कीमा कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीका लागि २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । कैदीबन्दीका लागि जिल्ला कारागार कास्की तथा कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र तयार गरिएको हो । कास्कीमा करिब २९ सय अस्थायी मतदाता रहेको अनुमान गरिएको छ । उनीहरूले समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण