बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पूर्वाधारमा काम

नारायणगढ–बुटवल सडक विस्तार तीव्रः चिल्लो सडकमा यात्रा गर्ने दिन नजिकिँदै

साउनसम्म म्याद, ३० किलोमिटर सडक ढलान हुन बाँकी
मङ्गलबार, ०५ फागुन २०८२, १८ : ३०
मङ्गलबार, ०५ फागुन २०८२

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डको भौतिक प्रगति ८० प्रतिशत र पश्चिम खण्डको ७७ प्रतिशत पुगेको छ । 

कुल ११४ किलोमिटर लामो यो सडकलाई नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर (पूर्वी खण्ड) र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर (पश्चिम खण्ड) गरी दुई प्याकेजमा विभाजन गरेर निर्माण कार्य भइरहेको यस सडकमा अब करिब ३० किलोमिटर सडक ढलान हुन बाँकी र रोड मार्किङका कामहरू बाँकी भएका आयोजनाले जनाएको छ । 

निर्माणमा भएको ढिलाइका कारण आलोचित यो आयोजनाले अहिले कामको गति बढाएको छ । आगामी साउनभित्रै मुख्य काम सकेर वर्षौँदेखि यात्रुले भोग्दै आएको दाउन्ने खण्डको कष्टकर यात्रा अन्त्य गर्ने अधिकारीहरूको दाबी छ । गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाइँ लगायतको टोलीले यो सडक खण्डको निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा मन्त्री चौलागाइँले वर्षा सुरु हुनुअघि नै सम्पन्न गर्नेगरी काम गर्न निर्देशनसमेत दिएका छन् ।

narayanghat-butwal4

एसियाली विकास बैंक (एडीबी) को १६ अर्ब ९९ करोड ऋण सहयोगमा सञ्चालित यस आयोजनामा बजेटको अभावको समस्याभने भएन । तर २०७५ सालदेखि चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले निर्माण सुरु गरेको यो ११४ किलोमिटर लामो सडकको म्याद कोभिड र रुख कटानमा भएको ढिलाइले गर्दा पटक–पटक थप्नु परेको थियो । हाल तेस्रो पटक थपिएको म्याद २०८३ साउनसम्म रहे पनि आयोजनाले त्यसअघि नै काम सक्ने लक्ष्य राखेको छ । विस्तारपछि यो सडक ७० किमि चार लेन, २९ किमि ६ लेनसहितको सर्भिस लेन र दाउन्ने खण्डको १४ किलोमिटर मा तीन लेनको हुनेछ । 

पूर्वी खण्डको ८० प्रतिशत काम सकियो, जेठभित्र मुख्य काम सकिने

अहिले सडक विस्तार आयोजनाको पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) को कामले तीव्रता पाएको छ । आयोजनाका अनुसार हालसम्म यस खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको छ । पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार सडकका मुख्य संरचनाहरू निर्माणको चरण पार भइसकेका छन् । ‘अहिले हाम्रो पूर्वी खण्डको काम ८० प्रतिशत जति सकिएको छ,’ खनालले भने, ‘पुलहरूको काम लगभग सकिसकेको छ, अब मुख्य गरी कालोपत्र र केही ठाउँमा ढलान जोड्ने काम मात्र बाँकी छ ।’ 

कुल ३४ वटै पुलको निर्माण सम्पन्न भइसकेको छ । जसममा १२ वटा ठुला र २२ वटा साना पुल रहेका छन् । कुल ६५ किलोमिटर लम्बाइ रहेको पूर्वी खण्डमध्ये ६१ किलोमिटर सडकमा दुई तह (टु लेयर) को कालोपत्र भइसकेको छ । अब बाँकी रहेको खण्डमा कालोपत्र र ढलानको काम भइरहेको छ । ‘६५ किलोमिटरमध्ये ६१ किलोमिटरमा दुई तहकै कालोपत्र भइसक्यो,’ इन्जिनियर खनालले भने, ‘अब करिब ६ किलोमिटर जतिमा एक तहको कालोपत्र गरेपछि चारै साइडको काम पूर्ण हुनेछ ।’ 

यस खण्डमा बजार क्षेत्र र उकालो भागहरूमा गरिने ढलानको काम पनि अन्तिम चरणमा पुगेको छ । ४ किलोमिटर ढलान गर्नुपर्नेमा हालसम्म ५० प्रतिशत अर्थात् २ किलोमिटर सम्पन्न भइसकेको छ । बाँकी २ किलोमिटर ढलानको काम आगामी मे महिनाको अन्त्य अर्थात् जेठको पहिलो साताभित्र सक्ने लक्ष्य राखिएको छ । 

आयोजनाले ९० प्रतिशत काम सकिएपछि सडकको स्वरूप पूर्ण रूपमा बदलिने र बेसिक काम सकिने बताएको छ । ‘९० प्रतिशत काम सकिएपछि सडक पूर्ण रूपमा सञ्चालनयोग्य र व्यवस्थित देखिन्छ, बाँकी १० प्रतिशत काम मर्मतसम्भार र फिनिसिङको हुनेछ,’ खनालले थपे । 

narayanghat-butwal3

पश्चिम खण्डमा ७७ प्रतिशत भौतिक प्रगतिः जेठभित्रै दाउन्नेको समस्या समाधान हुने 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकको पश्चिम खण्ड (दाउन्ने–बुटवल) को भौतिक प्रगति ७७ प्रतिशत पुगेको छ । आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर विकास खनालका अनुसार हाल सडक विस्तारको कामले तीव्रता पाएको छ । 

इन्जिनियर खनालले आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत रहेको र भौतिक रूपमा ७७ प्रतिशत काम सम्पन्न भइसकेको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार ६० किलोमिटर लामो यस खण्डमा ढलान (रिजिट पेभमेन्ट) को काम करिब आधा सकिएको छ । अब २५ देखि २७ किलोमिटर क्षेत्रमा ढलानको काम बाँकी छ । 

यात्रुहरूले सबैभन्दा बढी सास्ती खेप्दै आएको दाउन्ने खण्डको कामलाई विशेष प्राथमिकता दिइएको छ । इन्जिनियर खनालले भने, ‘दाउन्नेको ढलानको काम वैशाख (अप्रिल) अन्त्यसम्म सक्ने र जेठ (मे) को अन्त्यसम्म दाउन्ने खण्डको सबै काम सकेर सडक पूर्ण रूपमा सञ्चालन गर्ने ठेकेदारको लक्ष्य छ ।’ 

आयोजनाअन्तर्गत पर्ने ठुला पुलहरू (मेजर ब्रिज) ९ वटैको निर्माण कार्य सम्पन्न भइसकेको छ । साना पुलहरू (माइनर ब्रिज) ३४ वटामध्ये बर्दघाटको एउटाबाहेक अन्य सबैको काम सकिएको छ । यस्तै, यस खण्डमा रहेका २५३ वटा कल्भर्टमध्ये २५१ वटाको काम सम्पन्न भइसकेको छ भने बाँकी २ वटा कल्भर्ट दाउन्ने क्षेत्रमा निर्माणाधीन छन् । 

आयोजनाको म्याद आगामी साउन ५ गतेसम्म रहेको छ । सोही म्यादभित्रै सम्पूर्ण काम सकेर सडक हस्तान्तरण गर्ने तयारी भइरहेको छ । हाल सडकमा रोड मार्किङ, साइनबोर्ड राख्ने र सर्भिस लेनको कालोपत्र गर्ने काम भइरहेको छ । 

सवारीको चाप र कामको लक्ष्यलाई ध्यानमा राख्दै हाल बेलुका ८ बजेसम्म काम भइरहेको छ । एसियाली विकास बैंक (एडीबी) को परियोजना भएकाले स्वास्थ्य र सुरक्षाका मापदण्डलाई ध्यान दिइएको खनालले बताए । कामको गति बढाउनुपर्ने अवस्था आएमा फ्लडलाइट बालेर रातभर पनि काम गर्न सकिने विकल्प रहेको तर ठेकेदारले अहिलेकै गतिअनुसार काम गर्दा पनि म्यादभित्र सकिने बताएको उनको भनाइ छ । 

जेठसम्म मुख्य पूर्वाधारको काम सकिएपछि साउनदेखि दाउन्ने लगायतका क्षेत्रमा यात्रुहरूले सहज र सुविधायुक्त सडकमा यात्रा गर्न पाउने विश्वास आयोजनाले लिएको छ । 

narayanghat-butwal2

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप