बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दलित र जेनजी युवाको मुद्दा नसमेटे चुनाव बहिष्कार गर्ने चेतावनी

बुधबार, ०६ फागुन २०८२, २० : ३०
बुधबार, ०६ फागुन २०८२

सारांश

  • आगामी निर्वाचनमा दलहरूले दलित, अल्पसंख्यक र युवाका मुद्दा बेवास्ता गरेको भन्दै बहिष्कारको चेतावनी दिइयो।
  • युवा अगुवाहरूले पुरानै दलहरूले झुक्याएको र जेनजी आन्दोलनका मागहरू पूरा नभएकोमा आक्रोश व्यक्त गरे।
  • दलित अधिकार सुनिश्चित नभएको र उम्मेदवारहरू न्याय र समानताको मुद्दामा मौन रहेको भन्दै आलोचना गरियो।

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणा पत्रमा दलित, अल्पसंख्यक र जेनजी युवाका मुद्दा नसमेटिएको भन्दै सरोकारवालाहरूले चुनाव बहिष्कारको चेतावनी दिएका छन्।

बुधबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न क्षेत्रका अगुवाहरूले उत्पीडित वर्ग र युवाको अधिकार सुनिश्चित नगर्ने उम्मेदवारलाई भोट नदिने र उनीहरूविरुद्ध बहिष्कार अभियान चलाउने घोषणा गरे। 

जेनजी अगुवा विवेक थापाले लामो समय सत्तामा रहेका दलहरूले आफूलाई 'नयाँ' भन्दै जनता झुक्याउन खोजेको आरोप लगाए। उनले दलित मुक्तिको कुरा गर्ने तर सहकारी ठगीमा मुछिएकाहरूसँग घाँटी जोड्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै पिछडिएका वर्गका वास्तविक एजेन्डा बोक्नेलाई मात्र समर्थन गर्न सकिने स्पष्ट पारे। 

अर्की युवा अगुवा सरिस्मा थापाले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले नै आफ्ना मागहरू सम्बोधन नगरेकोमा आक्रोश पोखिन्। ५३ दिनसम्म अनसन बस्दा पनि सरकारले मागहरूलाई कागजी दस्तावेजमा मात्र सीमित गरेको र भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य बाहिर नल्याई निर्वाचन गराउन खोजेको उनको तर्क छ। 

युवाको आँखामा पट्टी बाँधेर भोट हाल्न लगाउने प्रयास स्वीकार्य नहुने भन्दै उनले आन्दोलनमा गोली चलाउन आदेश दिने र विध्वंस मच्चाउनेहरू समेत उम्मेदवार बनेकोमा गम्भीर प्रश्न उठाइन्। जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म मतदान प्रक्रियामा सहभागी नहुने चेतावनी उनले दिएकी छन्।

यसैगरी दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष जेवी विश्वकर्माले २०४८ सालदेखि दलितले भोट हाल्दै आए पनि उनीहरूको पानी नचल्ने र अधिकार सुनिश्चित नहुने अवस्था अझै कायम रहेको बताए। संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि दलित अधिकारसम्बन्धी कानुन नबन्नु दुःखद भएको उल्लेख गर्दै उनले माओवादीले जनयुद्धका क्रममा गरेका प्रतिबद्धता शान्ति प्रक्रियापछि बिर्सिएको टिप्पणी गरे। 

अधिवक्ता चक्रमान विश्वकर्माले पनि उम्मेदवारहरू केवल विकासका खोक्रा सपना लिएर घरदैलोमा आएको तर न्याय र समानताको मुद्दामा मौन रहेको भन्दै आलोचना गरे।

पत्रकार सम्मेलनमा काठमाडौँ क्षेत्र नं। ५ का उम्मेदवार श्यामकाजी सुनुवारले पुराना दल मात्र नभई नयाँ भनिएका शक्तिहरू पनि स्पष्ट एजेन्डाविहीन रहेको दाबी गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य केवल प्रधानमन्त्री बनाउनुमा केन्द्रित रहेको र बालेन्द्र शाहलाई ‘फेसबुके प्रधानमन्त्री’ बनाउने खेल भइरहेको आरोप लगाए। बालेन र रवि लामिछानेबचि ठगी प्रकरण मिलाउने सहमति भएको दाबी गर्दै उनले नयाँ र पुराना दुवै शक्तिले जनतालाई ठगिरहेको बताए। 

दलित अगुवा सोनु बर्देवाले सञ्चालन गरेको उक्त कार्यक्रममा वक्ताहरूले नयाँ संसदले सामाजिक न्यायलाई प्राथमिकता दिनुपर्ने र उत्पीडितका मुद्दा समेट्नेलाई मात्र मत दिन सर्वसाधारणलाई अपिल गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप