एमालेको महत्त्वाकांक्षी घोषणापत्र : १० जीबी निःशुल्क डाटादेखि २५ हजारसम्मको ऋण मिनाहा गर्ने
काठमाडौँ । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि युवा स्वरोजगार, डिजिटल रूपान्तरण र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। एमालेले विशेष गरी जेनजी र युवा पुस्तालाई लक्षित गर्दै १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने आकर्षक योजना अघि सारेको छ।
सूचना प्रविधि र स्टार्टअपमा रुचि राख्ने युवाहरूका लागि प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराएर १० लाख युवालाई स्वरोजगार बनाउने लक्ष्य पार्टीले लिएको छ। शिक्षा र रोजगारीका क्षेत्रमा पनि एमालेले ठुला प्रतिबद्धताहरू जनाएको छ।
प्राविधिक उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिने र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको प्रबन्ध गर्ने घोषणापत्रमा उल्लेख छ। यस्तै, श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने र निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्दै उनीहरूको मर्यादाक्रम तोक्ने योजना एमालेले ल्याएको छ। स्वास्थ्य स्वयंसेविकाहरूको वार्षिक भत्ता २० हजार पुर्याउने प्रतिबद्धता पनि एमालेको छ।
महिला सशक्तीकरण र मातृशिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै एमालेले गर्भवती महिलाका लागि ५ लाखसम्मको निःशुल्क जीवन बीमा र सुत्केरी भएपछि २० हजार रुपैयाँ मातृशिशु पोषण भत्ता दिने घोषणा गरेको छ। महिला उद्यमीहरूलाई २० लाखसम्म निर्ब्याजी ऋण र त्यसको निःशुल्क बीमाको व्यवस्था समेत गरिने बताइएको छ। विपन्न परिवारका हकमा २०८२ भदौसम्म लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्ने र उनीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने एमालेको रणनीति छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि श्रमिकको बैंक खातामा वार्षिक ५ हजार रुपैयाँ सरकारका तर्फबाट थप गरिदिने र उनीहरूलाई सामाजिक सुरक्षा प्रणालीमा निरन्तरता दिने प्रबन्ध गरिने घोषणापत्रमा समेटिएको छ। बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीको सम्मानजनक जीवनयापन र स्वास्थ्योपचार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै एमालेले यसपटकको निर्वाचनमा सबै वर्ग र क्षेत्रलाई समेट्ने प्रयास गरेको देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण