शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी GROUND ZERO : सर्लाही-४

सर्लाहीमा मेरो मुख्य चुनौती भाषा हो, सबै प्रतिस्पर्धीहरू एकसे एक बलिया छन् : गगन थापा (भिडियोसहित)

सोमबार, ११ फागुन २०८२

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभाको निर्वाचनमा यस पटक काठमाडौँको परिचित भूगोल छाडेर सर्लाही क्षेत्र नम्बर-४ बाट चुनावी मैदानमा छन्। उनै थापासँग सर्लाही नै पुगेर रातोपाटीले गरेको चुनावी केन्द्रित कुराकानीको सम्पादित अंशः

  • यहाँ निर्वाचन लड्नुअघि तपाईंलाई यस भूगोलको विषयमा कति जानकारी थियो ? 

 म पहिला पनि सर्लाही क्षेत्र नम्बर ४ का करिब पाँचवटा कार्यक्रममा आएको थिएँ। त्यसैले केही ज्ञान त थियो। तर, त्यतिबेला काठमाडौँबाट गाडीमा हुइँकिँदै आइन्थ्यो। सबै ठीकठाकै लाग्थ्यो, सिधै कार्यक्रम स्थलमा पुगिन्थ्यो, भिडभाड हुन्थ्यो। भाषण गर्‍यो, कुरा सुन्यो, अनि साँझ काठमाडौँ वा सदरमुकाम फर्कियो। त्यसैले त्यो ज्ञान सतही मात्र थियो। तर, अहिले यहीँको उम्मेदवार भइसकेपछि घर-घर र टोल-टोलमा पुगिरहेको छु। पहिला सुनेका कुराहरू मेरा लागि नयाँ त थिएनन्, तर ती सुनेका कुरालाई आफैँले प्रत्यक्ष देख्नु र महसुस गर्नु चाहिँ मेरो लागि एकदमै नौलो अनुभव भइरहेको छ।

  • धेरै ठाउँमा नेताहरूले आश्वासन मात्र दिएको पाइन्छ। यहाँ विगतमा विजयी भएका उम्मेदवारहरूले पनि आश्वासन मात्रै दिएको गुनासो छ। तपाईंले पनि यस क्षेत्रसँग सम्बन्धित केही कुराहरू बोल्नुभएको छ, ती पनि आश्वासनमै सीमित हुने पो हुन् कि भन्ने कतिपय जनताको चिन्ता रहेछ नि ?

 त्यो चिन्ता मैले एकदम धेरै पाएँ। यहाँ के भएको रहेछ भने अघिल्ला निर्वाचनहरूमा पनि उही मुद्दा उठ्ने रहेछ। अस्ति एक जनाले एउटा पुलको बारेमा भन्दै हुनुहुन्थ्यो- म चाहिँ त्यो पुल बनाउने आश्वासन दिने आठौँ उम्मेदवार हुँ रे! यसको अर्थ, त्योभन्दा अगाडिका सातवटा चुनावमा पनि त्यही पुल नै मुख्य मुद्दा बनेको रहेछ। काठमाडौँतिर चाहिँ कस्तो हुन्थ्यो भने एउटा निर्वाचनमा बोलेका केही कुराहरू बाहेक अर्को निर्वाचनमा जाँदा ती पुराना मुद्दा नै रहँदैनथे। ती काम बीचमै सम्पन्न भइसकेका हुन्थे। नयाँ निर्वाचनमा जाँदा नयाँ मुद्दा आउँथे। गुनासो त्यहाँ पनि हुन्थ्यो, तर फरक खालको हुन्थ्यो। यहाँ चाहिँ लगातार सबै उम्मेदवारले एउटै कुरा भन्दै आएका रहेछन्, तर काम भने नभएको अवस्था रहेछ।

अझ यसपालि त यहाँको नौलो अनुभव के छ भने मसँग निर्वाचन लडिरहनुभएका प्रायः सबै उम्मेदवार अघिल्लो पटक अर्कै पार्टीमा हुनुहुन्थ्यो। अहिले उहाँहरू फरक पार्टीको फरक चुनाव चिह्न लिएर आउनुभएको छ। यही माहोलका बिच मैले आफ्ना कुराहरू बुझाउने कोसिस गरिरहेको छु, तर यहाँका मतदाताहरू पुराना आश्वासनले थाकिसकेका छन्। त्यसैले मैले भनेका कुराहरू पनि भोलि पूरा नहुने पो हुन् कि भन्ने आशङ्का उहाँहरूमा एकदमै छ। म त्यही आशङ्का चिर्ने कोसिस गर्दैछु।

  • त्यो आशङ्का मेटाउने आधारहरू चाहिँ के-के हुन्, भनिदिनुस् न।

मुख्य कुरा, अहिले बोलेका कुराहरूप्रति भोलि जवाफदेही हुने संयन्त्र कसरी बनाउने भन्ने हो। २०७० सालदेखि काठमाडौँको सांसद हुँदाको अनुभवका आधारमा यहाँ सबैभन्दा बढी काम लाग्ने भनेको 'सांसदको कार्यालय' हो। म यहाँ एउटा व्यवस्थित सांसदको कार्यालय स्थापना गर्छु। त्यहाँ एक जना अधिकृत रहनुहुनेछ भने यहीँका युवाहरूले स्वयंसेवी रूपमा काम गर्नुहुनेछ। अहिले हामीले जनतासामु गरेका सबै प्रतिबद्धताहरूलाई नियमित रूपमा कार्यान्वयन गराउने काम सोही कार्यालयको हुनेछ। म पनि त्यो कार्यालयसँग प्रत्यक्ष जोडिन्छु। यहाँको सबैभन्दा ठूलो समस्या भनेको मतदाता र सांसदबीचको ठूलो दूरी हो। बिचौलिया वा स्थानीय नेताहरूसँग पहुँच हुनेले मात्र अवसर पाउने, नहुनेले नपाउने अवस्था छ। मेरो कार्यालयले मतदाता र सांसदबीचको त्यो पर्खाल भत्काइदिनेछ।

अर्को कुरा, म उम्मेदवार भएर यहाँ आउनुभन्दा पहिल्यै मेरो विज्ञहरूको टोली यहाँ आएको थियो। शिक्षा, स्वास्थ्य, सिँचाइ र कृषिका विज्ञहरूले १५ दिन यहीं आवासीय रूपमा बसेर अध्ययन गर्नुभयो। त्यसैले, मैले बाहिरबाट मात्र देखेर होइन, गहिराइमै पुगेर यहाँका समस्याहरूको फेहरिस्त तयार गरेको छु। त्यसैका आधारमा मैले यहाँका कामहरू अगाडि बढाउनेछु।

 काठमाडौँमा मेरो कतिपय काम गर्ने इच्छा हुँदाहुँदै पनि स्थानीय आवश्यकताले गर्दा सम्भव हुँदैनथ्यो। जस्तो, मैले त्यहाँका सार्वजनिक/सामुदायिक विद्यालयहरूमा धेरै काम गरेँ, तर मेरा ९० प्रतिशतभन्दा बढी मतदाताका छोराछोरी निजी विद्यालयमा पढ्ने भएकाले त्यो कामको त्यति महत्त्व देखिएन। तर यहाँ त सामुदायिक विद्यालयमा गरिने सुधारले सीधै ठूलो अर्थ राख्छ र मूल्य पाउँछ। त्यो काम गर्नका लागि मैले बनाएको सम्पर्क (नेटवर्क), मेरो टिम र मलाई मद्दत गर्न चाहने साथीभाइहरूको ठूलो जमात तयार छ। म त्यो जमातलाई यहाँ उपयोग गर्न चाहन्छु। अहिले दिनहुँ ८-१० जना विज्ञ साथीहरू मलाई सघाउन यहाँ आउनुभएको छ, मैले कसैलाई बोलाएर आएको होइन। उहाँहरू आफैँ कोही कुन क्षेत्रमा त कोही कुन क्षेत्रमा मद्दत गर्छु भनिरहनुभएको छ। म यही कुरा मतदातालाई बुझाउने कोसिस गरिरहेको छु।

  • मानिसहरूको एउटा गुनासो के छ भने तपाईं भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित हुनुहुन्छ। तर तपाईं यसै भूगोलमा मात्रै केन्द्रित हुँदा बाँकी १६४ निर्वाचन क्षेत्रलाई अन्याय गर्दै हुनुहुन्छ कि भन्ने लाग्दैन? किनभने आफू मात्रै जितेर त प्रधानमन्त्री भइँदैन, अरूलाई पनि जिताउनुपर्‍यो। तपाईं पुग्दा त्यहाँ अलिकति भोट बढ्छ भन्ने अरू उम्मेदवारको आस रहेछ, बाँकी क्षेत्रलाई अन्याय गरेजस्तो लागेको छैन ?

म जुन निर्वाचन क्षेत्रमा लडे पनि आफ्नो क्षेत्रका लागि मेहनत त गर्नैपर्छ। आज मेरो यहाँ प्रचारप्रसारको करिब अन्तिम दिन हो। अब म केही समयपछि मात्र यहाँ फर्किन्छु र स्थानीय साथीहरूलाई नै खट्न आग्रह गरेको छु। भोलिदेखि म बाहिरका कार्यक्रमहरूमा जान्छु। मलाई के समस्या भयो भने निर्वाचन आयोगले घरदैलो गर्न नपाउने भनेर आचारसंहिता लगाएको समयमा मैले नियम मिचेर प्रचार गर्न भएन, तर अन्य उम्मेदवारहरूले गर्नुभयो। यहाँका मतदाताको गुनासो थियो- नयाँ मान्छे हुनुहुन्छ, भोट त हाल्छौँ तर एकपटक हाम्रो गाउँमा त आइदिनुपर्‍यो। त्यसैले म सकेसम्म सबै ठाउँमा पुग्ने कोसिस गरिरहेको छु। आज वा भोलिसम्म मेरो यहाँको कार्यक्रम सकिन्छ। त्यसपछि सम्भव भएसम्म म काठमाडौँबाहिरका कम्तीमा २० वटा ठाउँमा पुग्ने कोसिस गर्नेछु।

  •  कांग्रेस सभापतिको हिसाबले भन्नुपर्दा तपाईं अहिले जुन प्रदेशबाट निर्वाचन लड्दै हुनुहुन्छ, यहाँको समग्र अवस्था कस्तो छ ?

 जनकपुरको सभापछि मैले साथीहरूसँग जुन अन्तरक्रिया गरिरहेको छु, त्यसमा उम्मेदवार साथीहरूलाई एकदमै उत्साहित पाएको छु। हाम्रो लागि अवसर र चुनौती दुवै के हो भने कार्यकर्ता पङ्क्ति एकदमै उत्साहित छ। मैले यहाँ जस्तो माहोल देखेको छु, अन्यत्र पनि त्यस्तै छ। पार्टीका साथीहरू पूर्ण ऊर्जाका साथ खट्नुभएको छ। तर, हाम्रो मुख्य चुनौती भनेको त्यो ऊर्जा र उत्साहलाई मतदातासम्म कसरी पुर्‍याउने भन्ने हो। सामाजिक सञ्जालले गर्दा अहिले एउटा ठूलो कोलाहल छ। त्यो कोलाहललाई चिरेर- महाधिवेशनबाट आएको नयाँ नेतृत्वसहितको नेपाली कांग्रेस के अर्थमा फरक छ ? हाम्रा प्रतिबद्धता के हुन् ? र ती पूरा गर्ने हाम्रा आधार के हुन् ? भन्ने कुरा मतदातासम्म पुर्‍याउनु छ। उम्मेदवार र कार्यकर्ता त उत्साहित छन्, तर समय कम भएकाले मतदातासम्म हाम्रा कुरा कति पुर्‍याउन सक्छौँ भन्ने नै हाम्रो मुख्य चुनौती हो।

  •  देशभर नेपाली कांग्रेसको अवस्था कस्तो छ ?

गएको चार-पाँच दिन म आफ्नै क्षेत्रमा केन्द्रित भएकाले देशभरको अवस्था सूक्ष्म रूपमा हेर्न पाएको छैन। विश्वप्रकाश शर्माले यसको नेतृत्व गरिरहनुभएको छ, आज बिहान मात्र उहाँसँग मेरो लामो कुराकानी भएको थियो। उहाँ धेरै ठाउँमा पुगेर पनि आउनुभएको छ। समग्रमा अवस्था मैले अघि भनेजस्तै छ। हाम्रा लागि अबका सात-आठ दिन एकदमै महत्त्वपूर्ण छन्। हामी सही ठाउँमा छौँ र हाम्रो सन्देश पनि सही छ। तर, सामाजिक सञ्जालको कोलाहललाई चिर्दै गहिरिएर घरदैलो गरी पार्टीका मतदाताबिच हाम्रा कुरा पुर्‍याउनु चुनौतीपूर्ण छ, जसलाई हामीले स्विकार्नुपर्छ। हामी आफ्नो चुनावी अभियानलाई यसैमा केन्द्रित गर्नेछौँ।

  • केही ठाउँमा अन्य पार्टीहरूसँग तालमेल गर्ने भन्ने कुरा पनि आइरहेको छ नि, त्यस्तो केही छ र ?

छैन, त्यस्तो केही छैन।

  • निर्वाचन समयमै हुनेमा अझै आशङ्का बाँकी छ ?

छैन।

  • अन्त्यमा, यस निर्वाचनमा तपाईँको जित्ने आधार वा चुनौती के छ ? प्रतिस्पर्धा कोसँग छ ? कतिपयले अहिलेको चुनावमा नयाँ चुनौतीहरू थपिएका छन् भन्छन् नि, तपाईंले के देख्नुभएको छ?

 म निर्वाचनमा जहिले पनि आफूलाई कमजोर आँकेरै अघि बढ्नुपर्छ भन्ने मान्छु। मलाई कसैले 'तपाईं जित्नुहुन्छ ?' भनेर सोध्दा म 'कोसिस गरिरहेको छु' मात्र भन्छु। साथीहरूले पनि मेहनत गरिरहनुभएको छ। मेरो लागि यहाँको मुख्य चुनौती भनेको भाषा हो। यहाँ म उहाँहरूको कुरा बुझ्छु तर त्यही भाषामा फर्काउन सक्दिनँ। मेरो बारेमा अरूले भनिदिने र मैले आफैँ भर्ने कुरा फरक हुन्छ नि त! मेरो मुख्य सबल पक्ष नै आफ्ना कुराहरू राम्रोसँग राख्न सक्नु हो, तर यहाँ भाषाको कारण ठूलो अन्तर (ग्याप) भइरहेको छ। जसले गर्दा मतदाताले मेरो बारेमा अर्काले भनेको कुरा सुन्नु परिरहेको छ, मैले आफैँ प्रत्यक्ष बुझाउन पाइरहेको छैन। मेरो लागि सबैभन्दा ठूलो चुनौती यही नै हो। अरू बाँकी कुरा त...।

  • प्रतिस्पर्धीहरूको सन्दर्भमा नि ?

म कसैलाई पनि कमजोर मान्दिनँ। को बलियो वा को कमजोर भनेर म मूल्याङ्कन गर्दिनँ। म आफ्ना साथीहरूलाई पनि भन्छु- यहाँका सबै प्रतिस्पर्धीहरू एकसे एक बलिया छन्। अनुभवी हुनुहुन्छ र यहीँका स्थानीय हुनुहुन्छ। त्यसैले कसैलाई पनि कमजोर नआँकौँ र आफ्नो मेहनत गरौँ भनिरहेको छु।

भिडियो : मनोज खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया