शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल

मङ्गलबार, १२ फागुन २०८२, ०९ : ५२
मङ्गलबार, १२ फागुन २०८२

काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको पुँजी बजारमा विद्यमान ‘डबल आईएसआईएन’ प्रणालीले बजारलाई अविश्वसनीय र विकृत बनाएको बताएका छन् । अन्तर्राष्ट्रिय अभ्यासअनुसार एउटै कम्पनीको शेयरको एउटै आईएसआईएन हुनुपर्नेमा उनको जोड छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आयोजना गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका, २०८२’ सम्बन्धी छलफलमा बोल्दै अध्यक्ष अग्रवालले विगतमा बैंक, बीमा तथा वित्तीय संस्थाहरुको संस्थापक र सर्वसाधारण शेयरका लागि अलग–अलग आईएसआईएन नम्बर दिने नीति नै अहिलेको समस्याको जड भएको बताए । अध्यक्ष अग्रवालकाअनुसार एउटै कम्पनीको शेयरमा दुईवटा मूल्य (ड्यूअल प्राइस) हुनुले बजारमा ‘स्पेकुलेसन’ (अनुमानित कारोबार) लाई बढावा दिएको छ ।

उहाँकाअनुसार अलग–अलग आईएसआईएनले बजारलाई विभाजित गर्छ र शेयरको तरलतामा कमी ल्याउँछ । सूचकांकमा विकृतिः नेप्से सूचकांक गणनामा एउटै कम्पनीको शेयर फरक–फरक आईएसआईएनबाट गणना गर्दा वास्तविक बजार अवस्था प्रतिबिम्बित हुँदैन । यसले बजार नियमन र सुपरिवेक्षणलाई कमजोर बनाउँछ र अनुगमन कार्यलाई जटिल बनाउने उनको भनाइ छ ।

 यस्तो प्रणालीले नेपालको पुँजी बजार अपरिपक्व रहेको सन्देश दिने र विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने उनको तर्क छ । संस्थापक शेयरको तीन वर्षे ‘लकिन पिरियड’ ले पनि बजारमा शेयर आपूर्ति संकुचित पारेको अग्रवालले बताए । उनले २० प्रतिशतसम्मको सिलिङ राखेर बाँकी शेयर खुला गरिएमा आपूर्तिको सन्तुलन मिल्ने र मूल्यमा हुने अस्वाभाविक उतारचढाव न्युनिकरण हुने सुझाव दिए।

पुँजी बजार आर्थिक वृद्धिको मेरुदण्ड भएको बताउँदै यसलाई थप सुदृढ, पारदर्शी र प्रभावकारी बनाउनु नेपालको दिगो आर्थिक विकासको लागि अपरिहार्य रहेको भन्दै उनले अब आगामी दिनमा वास्तविक मूल्यमा आधारित र कम्पनीको प्रतिफलको आधारमा मूल्य निर्धारण हुने स्वस्थ पुँजी बजारको विकास हुनुपर्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप