बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाले दबाब बढाइरहँदा क्युबालाई सहयोग गर्न खोज्दै क्यानडा

मङ्गलबार, १२ फागुन २०८२, १६ : ४७
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • क्यानडाले क्युबामा इन्धन अभावका कारण मानवीय संकट आउन सक्ने भन्दै सहयोग गर्ने तयारी गरेको छ।
  • अमेरिकी प्रतिबन्धका कारण क्युबामा तेल आपूर्ति रोकिएपछि ऊर्जा संकट चर्किएको हो।
  • क्यानडाले क्युबालाई सहयोग गर्ने योजना बनाइरहेको छ, तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

ओट्टावा । क्यानडाले क्युबामा देखिएको गम्भीर इन्धन अभावका बीच सहयोग उपलब्ध गराउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबातर्फ जाने तेल आपूर्ति रोक्न कदम चालेपछि टापु राष्ट्रमा ऊर्जा संकट चर्किएको छ । 

यस्तो पृष्ठभूमिमा क्यानडाले सहयोग गर्ने संकेत गरेको हो । क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले सोमबार क्यानडा सहायता योजना तयार पारिरहेको पुष्टि गर्दै विस्तृत विवरण भने पछि मात्रै सार्वजनिक गरिने बताएकी छिन् । उनका अनुसार क्यानडा क्युबामा बढ्दो मानवीय संकटको जोखिमबारे चिन्तित छ । उसले अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताइएको छ ।
 
अमेरिकाले पछिल्ला हप्ताहरूमा क्युबामाथि दबाब तीव्र बनाएको छ । भेनेजुएलाबाट आउने तेल आपूर्ति अमेरिकाले रोकेपछि क्युबामा खाद्यान्न र यातायात खर्च बढेको छ । देशका विभिन्न भागमा लामो समयसम्म विद्युत् कटौती हुने तथा इन्धन अभाव गहिरिँदै गएको बताइएको छ । संयुक्त राष्ट्रसंघले क्युबाको ऊर्जा आवश्यकता पूरा नभए गम्भीर मानवीय संकट निम्तिन सक्ने चेतावनी दिएको छ। यही जोखिमलाई ध्यानमा राख्दै क्यानडाले सहयोगको तयारी थालेको हो ।
 
यसैबीच ट्रम्प प्रशासनले क्युबामाथि थप दबाब बढाउने संकेत दिएको छ । ट्रम्पले क्युबा छिट्टै कमजोर हुने दाबी गर्दै भेनेजुएलाबाट तेल आपूर्ति घटेको बताएका छन् । मानवअधिकार विज्ञहरूले भने क्युबामाथि कडा आर्थिक दबाब बढाउने अमेरिकी नीति ‘साम्राज्यवादी शैली’सँग मिल्दोजुल्दो भएको टिप्पणी गरेका छन् । 

अमेरिका र क्यानडाबीच पछिल्लो समय व्यापार ट्यारिफ, ग्रीनल्यान्डसम्बन्धी ट्रम्पका अभिव्यक्ति तथा ओटावाको चीनसँग सम्बन्ध सुधार प्रयास जस्ता विषयमा तनाव पनि देखिएको छ । यस्तो अवस्थामा क्युबालाई सहयोग गर्ने क्यानडाको योजना उत्तर अमेरिकी कूटनीतिमा नयाँ आयाम बन्न सक्ने विश्लेषण गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप