शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी Ground Zero : धनुषा ३

‘जनताका मुद्दाहरू बिर्सिएका छैनौँ, चुनावपछि हाम्रो तागत देखिन्छ’

मधेसको अधिकार र पहिचान स्थापित नभएसम्म जसपा नेपाल रहिरहन्छ : परमेश्वर साह सुडी, उम्मेदवार, जसपा नेपाल
बुधबार, १३ फागुन २०८२, ०९ : ५०
बुधबार, १३ फागुन २०८२

सारांश

  • जसपा नेपालका उम्मेदवार परमेश्वर साहले मधेशको अधिकार, पहिचान र प्रदेशको सबलीकरणलाई मुख्य चुनावी मुद्दा बनाएका छन्।
  • उनले संविधान संशोधन र प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै, मधेशवादी दलहरूको औचित्यबारे प्रष्ट पारे।
  • साहले जसपाको आगामी चुनावमा एउटै चुनाव चिह्न र पार्टी लिएर आउने प्रतिबद्धता जनाए, र नयाँ दलहरूको सिद्धान्तमाथि प्रश्न उठाए।
00:00 / NaN:NaN
Audio By AI

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार परमेश्वर साह सुडी चुनावी मैदानमा छन्। साह लामो समयदेखि मधेस आन्दोलन र मधेसवादी राजनीतिमा सक्रिय रहँदै आएका छन्।

उनले मधेसको अधिकार, पहिचान र प्रदेशको सबलीकरणलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्। यसै सन्दर्भमा साहसँग उनको चुनावी एजेन्डा, जसपाको वर्तमान अवस्था र प्रतिस्पर्धीहरूसँगको प्रतिस्पर्धाका विषयमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ:

तपाईंका प्रमुख चुनावी मुद्दाहरू के-के हुन्?

यो प्रतिनिधिसभा सदस्यको निर्वाचन हो। प्रतिनिधिसभा सदस्यको रूपमा मेरो क्षेत्राधिकार र भूमिका के हुन्छ भन्ने कुरा पहिलो मुद्दा हो। दोस्रो मुद्दा भनेको यो संविधानमा जहाँ-जहाँ हाम्रा असहमतिहरू छन्, तिनलाई संशोधन गरेर सबैको संविधान बनाउनु हो।

जनताले चाहिँ के भन्छन् भने, जसपाले एक कार्यकाल प्रदेश सरकार चलायो। पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर कति पटक मन्त्री र सांसद भइसक्नुभयो। तपाई आफैँ पनि प्रदेशसभा सदस्य हुनुहुन्थ्यो र अहिले प्रतिनिधिसभामा उठ्नुभएको छ। २०औँ वर्षदेखि एउटै कुरा गरेर जनतालाई ढाँटिरहेको आरोप छ नि ?

जनताले अनुमान गर्ने र प्रश्न उठाउने कुरालाई हामीले स्वीकार गर्नुपर्छ। तर, महन्थ ठाकुर मधेसवादी पार्टी बनाउनुभन्दा अघिदेखि नै मन्त्री भइसक्नुभएको थियो। उहाँ कांग्रेसमै हुँदा मन्त्री बन्नुभएको हो। जहाँसम्म उपेन्द्र यादवजीको कुरा छ, उहाँले नै विश्वसामु मधेसको पहिचान स्थापित गर्नुभएको हो। आज दुनियाँले मधेस र नेपाल भनेर चिन्नुमा उहाँकै योगदान छ।

हामीले जनताका मुद्दालाई कहिल्यै बिर्सिएका छैनौँ। ती मुद्दाहरूलाई अगाडि बढाइरहेका छौँ। काम गर्ने क्रममा केही तलमाथि भएको होला, तर जनतालाई झुठो बोलेका छैनौँ। हामीलाई बदनाम गराउन विपक्षीहरूले लगाएको यो आरोप मात्र हो। हामीले गरेको काम जनतासामु छर्लङ्ग छ।

जनकपुरमा प्रदेश सरकारले गरेका कामहरू जस्तै; पोखरी र जानकी मन्दिरको अवस्था हेर्दा, यी सम्पदाहरूको संरक्षण गर्न प्रदेश सरकार किन असफल भयो?

हाम्रो मुख्य प्रोजेक्ट नै पोखरीहरूको सौन्दर्यीकरण गर्ने हो। तर, विडम्बना के छ भने, यी पोखरी र जानकी मन्दिर हाम्रो क्षेत्राधिकारभित्र पर्छन् कि पर्दैनन् भन्ने कुरा स्पष्ट छैन। यो स्थानीय तहअन्तर्गत पर्छ कि प्रदेश सरकारअन्तर्गत? जानकी मन्दिर त अहिले पनि गुठीअन्तर्गत छ। सङ्घीय सरकारले सबै कुरा आफैँ राख्ने वा प्रदेशलाई बदनाम गराउन स्थानीय तहलाई जिम्मा दिने काम गरेको छ।

त्यसैले हामी चाहन्छौँ कि संविधानका असहमतिहरूलाई संशोधन गरेर प्रदेशलाई अधिकारसम्पन्न बनाइयोस्। प्रदेशका जनता र यहाँका सम्पदाहरूको विकास र संरक्षण गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिइनुपर्छ।

कतिपय मधेसवादी दलका नेताहरू एउटै चुनाव चिह्न लिएर आउनुहुन्छ। कहिले कुन चुनाव चिह्न, कहिले कुन चुनाव चिह्न। जनता त वाक्कदिक्क भइसकेका छन्। यसमा के भन्नुहुन्छ?

जनताको यो गुनासो जायज हो। जनताले सधैँ हामीलाई एक ठाउँमा आउन सुझाव दिएका छन्। हामीले मधेसवादी दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास पनि गरेका छौँ। तर, हाम्रा माग र मुद्दाहरूबाट हामी कहिल्यै पछि हटेका छैनौँ।

अर्को चुनावमा तपाईंहरू एउटै चुनाव चिह्न र पार्टी लिएर जनतासामु आउनुहुन्छ भन्ने प्रतिबद्धता गर्न सक्नुहुन्छ?

एकदम! हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। अहिले छाता चुनाव चिह्न लिएर हामी तपाईंहरूसामु आएका छौँ। यो छाता छापको कार्यकाल ५ वर्षको हुनेछ र आउने चुनावमा पनि हामी यही छाता छाप लिएर उपस्थित हुनेछौँ। यसमा कुनै दुबिधा नराखे हुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू, जस्तै; बालेन्द्र शाह, जसले मधेसी समुदायबाट काठमाडौँको मेयर जितेका छन्, उनीहरूले नयाँ विकल्पको रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन्। अब मधेसकेन्द्रित दलहरूको औचित्य सकियो भन्ने भनाइप्रति तपाईंको के धारणा छ?

बालेनजी काठमाडौँमा जन्मनुभएको हो, तर उहाँको नागरिकता कहाँको छ? उहाँले आफूलाई मधेसी भनेर काठमाडौँमा चुनाव जित्नुभएको होइन। उहाँले मधेस स्वीकार गर्नुभएको छ, यो हाम्रो लागि गर्वको विषय हो। हामी पनि चाहन्छौँ कि यहाँका सबै मधेसीले आफूलाई मधेसी भन्न सकून्। तर, यसको मतलब यो होइन कि मधेसवादी दलहरूको औचित्य सकियो।

मधेसवादी दलहरूले मधेस र मधेसी जनताको अधिकारका लागि लडेका छन्। हाम्रो सिद्धान्त र मुद्दासँग कसैले खेलबाड गर्छ भने हामी त्यसको विरुद्ध सधैँ लडिरहेका छौँ र लडिरहनेछौँ।

नयाँ दलहरू जो आएका छन्, उनीहरूको बारेमा के भन्नुहुन्छ?

सिद्धान्तबिनाको कुनै पनि पार्टी लामो समय टिक्न सक्दैन। उनीहरूको सिद्धान्त के हो? सुशासन ल्याउने, भ्रष्टाचार अन्त्य गर्ने भन्ने कुरा नारा मात्र हुन्, सिद्धान्त होइन। सङ्घीयता, समाजवाद, सुशासन यी लामा अवधिका कुरा हुन्। सिद्धान्त नभएको पार्टीले कसरी चुनाव लड्न सक्छ?

बालेनजीको कुरा गर्दा, उहाँले मधेसलाई बलियो बनाउँछु भनेर भाषण गर्नुभएको थियो। प्रदेशलाई अधिकार सम्पन्न बनाउन काठमाडौँ धाउनुपर्दैन भन्नुभएको थियो। यसमा तपाईंको प्रतिक्रिया के छ?

भाषण गर्नु र काम गर्नुमा धेरै फरक छ। भाषणमा मान्छेले जे पनि भन्न सक्छन्। तर, त्यसलाई कार्यान्वयन गर्ने सिद्धान्त र नीति हुनुपर्छ।

जसपा नेपाल यस चुनावमा निकै कमजोर भयो भन्ने सुनिन्छ नि?

यो कुरा चुनावपछि मात्र थाहा हुन्छ। हामी जनतासामु गइरहेका छौँ। जनताले हामीलाई कमजोर बनाउँछन् कि बलियो, त्यो फागुन २१ गतेपछि देखिनेछ। हामी बलियो भएर अगाडि बढ्छौँ।

चुनावपछि पनि जसपा नेपाल रहिरहन्छ त?

रहिरहन्छ मात्र होइन, अहिले पनि छ, भोलि पनि रहनेछ र आउँदा दिनमा पनि रहनेछ। जबसम्म मधेसी जनताको अधिकार, पहिचान, स्वाभिमान र बराबरीको हक कायम हुँदैन, तबसम्म यो पार्टी रहिरहन्छ। हाम्रा माग र मुद्दाहरू पूरा भएपछि के गर्ने भनेर हामी पछि सोचौँला।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप