शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मुटु स्वस्थ राख्ने र बुढ्यौली रोक्ने एन्टिअक्सिडेन्टयुक्त खाना के–के हुन् ?

बुधबार, १३ फागुन २०८२, १५ : ०८
बुधबार, १३ फागुन २०८२

एउटा चर्चित भनाइ छ, ‘ईट द रेनबो’ । अर्थात् थालमा विभिन्न रङका प्राकृतिक खानेकुरा राख्नुहोस्। यो केवल भनाइ मात्र होइन, वैज्ञानिक रूपमा पनि सही मानिन्छ।

रातो स्ट्रबेरी, बैजनी प्लम, हरियो सागसब्जी र निलो ब्लुबेरीजस्ता रङ्गीन खानामा शक्तिशाली एन्टिअक्सिडेन्ट ‘पोलिफेनोल’ पाइन्छ। हालैको एक अध्ययनअनुसार लामो समयसम्म पोलिफेनोलयुक्त आहार सेवन गर्दा मुटु स्वस्थ रहन्छ। यो अध्ययन पीयर रिभ्यु मेडिकल जर्नल बीएमसीमा प्रकाशित भएको हो।

आज हामी चर्चा गर्नेछौँ, एन्टिअक्सिडेन्टयुक्त खाना मुटुका लागि किन आवश्यक छ त? के यसले बुढ्यौलीको गति कम गर्न सक्छ? दैनिक कति मात्रामा एन्टिअक्सिडेन्ट लिनु उपयुक्त हुन्छ?

एन्टिअक्सिडेन्ट फुड भनेको के हो ?

यसलाई बुझ्न मुख्यतया दुई कुरा जान्न आवश्यक हुन्छ :

१. फ्री रेडिकल के हो ?

फ्री रेडिकल भनेका अस्थिर अणु हुन्, जसले शरीरका कोषिकालाई क्षति पुर्‍याउँछन्। शरीरले अक्सिजन प्रयोग गरी ऊर्जा बनाउँदा केही इलेक्ट्रोन छुट्टिन्छन्। ती असन्तुलित इलेक्ट्रोन नै फ्री रेडिकल हुन्। फ्री रेडिकलका कारण हुने क्षतिलाई ’अक्सिडेटिभ स्ट्रेस’ भनिन्छ।

२. एन्टिअक्सिडेन्ट के हुन् ?

एन्टिअक्सिडेन्ट यस्ता तत्त्व हुन्, जसले फ्री रेडिकललाई निष्क्रिय बनाई शरीरलाई अक्सिडेटिभ स्ट्रेसबाट जोगाउँछन्। शरीरमा केही मात्रामा एन्टिअक्सिडेन्ट आफैँ पनि बन्ने गर्छन्, तर यसको ठूलो हिस्सा हामीले खाने खानाबाट प्राप्त हुन्छ।

जुन खानामा एन्टिअक्सिडेन्ट धेरै हुन्छ, तिनलाई एन्टिअक्सिडेन्ट–रिच फुड भनिन्छ। यस्ता खानामा भिटामिन ए, सी, ई, बीटा–क्यारोटिन, लाइकोपिन, ल्युटिन, सेलेनियम र पोलिफेनोलजस्ता तत्त्व पाइन्छन्।

३. एन्टिअक्सिडेन्टले शरीरमा के काम गर्छ ?

एन्टिअक्सिडेन्टले कोषिकालाई सुरक्षित राख्छन् र दीर्घकालीन रूपमा स्वास्थ्यको सुरक्षा गर्ने ढालको काम गर्छन्। यसका मुख्य फाइदाहरू निम्न छन्ः

  • रक्तनलीलाई स्वस्थ राख्छ।
  • अक्सिडेटिभ स्ट्रेस घटाउँछ।
  • कोषिका क्षति हुनबाट जोगाउँछ।
  •  रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ।

कुन–कुन खाना एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छन् ?

सामान्यतया रङ्गीन फलफूल र तरकारीहरू एन्टिअक्सिडेन्टका राम्रो स्रोत हुन्। जस्तैः बेरी, स्याउ, अनार, सागसब्जी, टमाटर, गाजर, बदाम तथा नट्स ।

एन्टिअक्सिडेन्ट मुटुका लागि किन जरुरी छ ?

मुटुरोगको सुरुवात प्रायः धमनीभित्र हुने इन्फ्लामेसन र भित्री क्षतिबाट हुन्छ। जब शरीरको एलडिएल (खराब कोलेस्ट्रोल) अक्सिडाइज हुन्छ, तब त्यो धमनीको भित्तामा जम्न थाल्छ। यही जमावट पछि गएर प्लाक बन्छ र रक्तप्रवाहमा अवरोध आउँछ, जसले हृदयाघातको जोखिम बढाउँछ।

एन्टिअक्सिडेन्टयुक्त खानाले यो प्रक्रिया नियन्त्रण गर्न सहयोग गर्छ। जसले गर्दा रक्तप्रवाहमा सुधार हुन्छ र मुटुमाथिको दबाब कम हुन्छ। भिटामिन सी, भिटामिन ई र बीटा–क्यारोटिनले संक्रमणसँग लड्ने इम्युन कोषिकालाई बलियो बनाउँछन्।

के एन्टिअक्सिडेन्टले बुढ्यौलीको गति कम गर्छ ?

बुढ्यौलीको मुख्य कारण अक्सिडेटिभ ड्यामेज हो। फ्री रेडिकलका कारण डीएनए, प्रोटिन र लिपिड क्षतिग्रस्त हुन्छन्। यसले उमेर बढ्ने प्रक्रियालाई छिटो बनाउँछ। एन्टिअक्सिडेन्टयुक्त खानाले यो क्षति घटाई कोषिकाको आयु बढाउन मद्दत गर्छ। त्यसैले एजिङ (बुढ्यौली) को गति केही हदसम्म कम हुन्छ।

एन्टिअक्सिडेन्ट सप्लिमेन्ट कहिले आवश्यक पर्छ?

सन्तुलित आहार लिने व्यक्तिलाई सामान्यतया सप्लिमेन्ट आवश्यक पर्दैन। तर, केही अवस्थामा चिकित्सकले सिफारिस गर्न सक्छन्ः

  • धेरै प्रदूषण भएको क्षेत्रमा बस्नेहरूलाई
  • धूम्रपान गर्नेहरूलाई
  • दीर्घकालीन तनावमा रहनेहरूलाई
  • बारम्बार संक्रमण हुनेहरूलाई
  • कमजोर इम्युन सिस्टम भएका व्यक्तिहरूलाई
  • दीर्घरोग भएका व्यक्तिहरूलाई
  • नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरूलाई
  • वृद्धवृद्धाहरूलाई

एन्टिअक्सिडेन्टको निश्चित मात्रा तोकिएको छैन। तर दैनिक कम्तीमा ४ देखि ५ सर्भिङ (भाग) फलफूल र तरकारी खानु पर्याप्त मानिन्छ।

विशेषगरी उच्च मात्रामा सप्लिमेन्टको रूपमा लिँदा यसले नकारात्मक असर गर्न सक्छ। धेरै एन्टिअक्सिडेन्टलेः

  • शरीरको प्राकृतिक सन्तुलन बिगार्न सक्छ।
  • मेटाबोलिक प्रक्रिया प्रभावित हुन सक्छ।
  • इम्युन प्रतिक्रियामा असन्तुलन आउन सक्छ।
  • केही अवस्थामा विषाक्तताको जोखिम बढ्न सक्छ।

एन्टिअक्सिडेन्टलाई खानामा कसरी समावेश गर्ने ?

यसका लागि कुनै महँगो वा विशेष डाइट प्लान आवश्यक छैन। दैनिक थालमा फरक–फरक रङका फलफूल र तरकारी समावेश गर्ने बानी बसाल्नुहोस्। तयारी खानेकुरा को साटो प्राकृतिक खानेकुरा रोज्नुहोस्।

एन्टिअक्सिडेन्टयुक्त खाना कुनै ट्रेन्ड होइन, यो वैज्ञानिक आधारमा प्रमाणित स्वास्थ्य रणनीति हो। मुटु स्वस्थ राख्न, इम्युनिटी बलियो बनाउन र बुढ्यौलीको गति सन्तुलित राख्न रङ्गीन तथा प्राकृतिक आहारले महत्त्वपूर्ण भूमिका खेल्छ।

यस्ता खानाले शरीरलाई आवश्यक पोषण मात्र होइन, दीर्घकालीन रूपमा स्वस्थ जीवन बिताउन पनि सहयोग गर्छन्।

एजेन्सीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप