शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
बाचा भुलेका नेता

'चुनाव नलड्ने' बाचा तोड्दै आफैँलाई भोट मागिरहेका नेताहरू

बुधबार, १३ फागुन २०८२, १६ : ०९
बुधबार, १३ फागुन २०८२

सारांश

  • केही नेताहरूले चुनाव जित्नका लागि अन्तिम चुनाव भन्दै मत मागेको र फेरि उम्मेदवारी दिएका छन्।
  • माधवकुमार नेपाल, महेन्द्रराय यादव र शरतसिंह भण्डारीले अन्तिम चुनावको बाचा तोड्दै फेरि उम्मेदवारी दिएका छन्।
  • जनताको चाहना र पार्टीको आग्रहलाई कारण देखाउँदै नेताहरूले दोहोरो चरित्र देखाएको आरोप छ।

काठमाडौँ । जनतासँग ‘यो मेरो अन्तिम चुनाव हो, यसपटक सहयोग गर्नुस्’ भन्दै मत मागेर विजयी भएका केही प्रमुख नेताहरूले आगामी चुनावका लागि फेरि उम्मेदवारी दिएका छन् । नेताहरूले घोषणापत्रका प्रतिबद्धताहरू मात्र होइन, आफूले चुनाव नलड्ने व्यक्तिगत बाचासमेत सजिलै तोडेका छन् । 

सामान्यतया नेताहरूले घरदैलोमा गर्ने मौखिक बाचाहरू र लिखित घोषणापत्रका प्रतिबद्धताहरू प्रायः पूरा नभएको गुनासो आउँछ, तर यसपटक कतिपय नेताहरूले आफ्नो राजनीतिक जीवनको अन्तिम चुनाव भएको घोषणा गर्दै आफ्नै लागि मत मागिरहेको देखिन्छ । 

माधवकुमार नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले २०७९ सालको चुनाव प्रचारप्रसारका क्रममा रौतहट–१ मा आफ्नो यो अन्तिम चुनाव भएको र अब नलड्ने भन्दै जनतासँग मत मागेका थिए । तर, यसपटक उनी सोही क्षेत्रबाट पुनः उम्मेदवार बनेका छन् । गत निर्वाचनमा नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएर पराजित भएका थिए । 

महेन्द्रराय यादव

त्यस्तै नेकपाका अर्का नेता महेन्द्रराय यादवले पनि गत चुनावमा तत्कालीन माओवादी केन्द्रको चुनाव चिह्नबाट सर्लाही–२ मा चुनाव लड्दा ‘धेरैपटक तपाईंहरू साथ दिनुभयो, अब मेरो स्वास्थ्यले पनि साथ दिँदैन, यो मेरो अन्तिम चुनाव हो’ भन्दै मत मागेका थिए, चुनाव पनि जिते । 

तर यसपटक उनी फेरि सोही क्षेत्रमा उम्मेदवार बनेका छन् । आफ्नो दोहोरो चरित्रबारे उनले ‘जनताको चाहना र पार्टीको आग्रह’लाई कारण देखाएका छन् । ‘मैले त जनतालाई भनेको थिएँ कि अब अर्कोपटक चुनाव लड्दिनँ यो अन्तिम चुनाव हो तर, यसपटक त्यहाँको जनता तथा पार्टीले चुनाव लड्नैपर्छ भनेपछि उम्मेदवारी दिएको हुँ,’ उनले भनेका छन् ।

शरतसिंह भण्डारी

यसरी बाचा तोड्ने अर्का नेता हुन् जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारी । उनले प िगत चुनावमा महोत्तरी–२ का मतदातासँग आफ्नो यो अन्तिम चुनाव भएको र अब नलड्ने प्रतिबद्धता गरेका थिए । ४४ वर्षको राजनीतिक अवधिमा १० पटक उम्मेदवारी दिएर ८ वटा चुनाव जितेका र १९ पटक मन्त्री बनेका भण्डारीले गत चुनावमै विश्राम लिने घोषणा गरेका थिए । तर, यसपटक उनले फेरि सोही क्षेत्रमा उम्मेदवारी दिएका छन् । 

भण्डारीलाई यसपटक उम्मेदवारी दिने मन नभएको उनका पार्टीका नेता डा. सुरेन्द्र यादव बताउँछन् । ‘मैले चुनाव लडेको त्यहाँ धेरै भइसक्यो, अब अरूलाई मौका दिनुपर्छ भनी पार्टीमा भन्नुभएको थियो तर पार्टीले नै यसपटक लड्नुस् अर्कोपटक अरूलाई जिम्मेवारी दिनुपर्छ भनेर पठाएको छ,’ नेता यादवले भने, ‘महोत्तरी–२ लाई उहाँले राम्रो बनाउनुभएको छ, जित्ने सम्भावना देखेर उहाँलाई त्यहाँ पठाइएको हो ।’
यी नेताहरू मात्र होइनन्, चुनावको समयमा धेरैजसो नेताले यस पटक पनि जनतासँग फेरि अन्तिम पटक भन्दै ‘इमोसनल ब्ल्याकमेलिङ’ गरिहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप