निर्वाचन रिपोर्टिङ र आचारसंहिताबारे अभिमुखीकरण
गण्डकी । निर्वाचनका बेला पत्रकारितालाई थप जिम्मेवार र मर्यादित बनाउन गण्डकी प्रदेशका पत्रकारलाई निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसहिंताका विषयमा अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आज पोखरामा आयोजित उक्त अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए।
निर्वाचनको पारदर्शिताका लागि पत्रकारले सूचनाको पहुँच र व्यापकता वृद्धिमा ध्यान दिनुपर्ने उनले बताए । “निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमार्फत मिथ्या र भ्रामक सूचना प्रवाह भइरहेकाले त्यसलाई चिर्दै सत्यतथ्य सूचना नागरिकसामु पुर्याउने दायित्व आमसञ्चारमाध्यम र पत्रकारको हो”, मुख्य निर्वाचन अधिकृत बेल्वासेले भने, “लोकतन्त्रको आधारशिला निर्वाचन भएकाले यसलाई हामी सबै मिलेर सफल पार्नुपर्छ ।”
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले निर्वाचन आचारसंहिता पालनामा पत्रकार सजग हुनुपर्ने धारणा राखिन्। आचारसंहिता पालनाको विषय पेसागत मर्यादासँग जोडिएको विषय भएकाले यसको उल्लङ्घन हुँदा पत्रकारको पेसा नै सङ्कटमा पर्ने उहाँको भनाइ छ । अध्यक्ष शर्माले पत्रकारले समाचार लेख्दा जहिल्यै सत्यतथ्य, सन्तुलित र विश्वसनीयतालाई ध्यान दिनुपर्ने बताइन्।
उनले पत्रकारलाई निर्वाचनका अवधिमा रिपोर्टिङका लागि सहज पहुँच दिलाउन निर्वाचन आयोगलगायत सम्बद्ध निकायमा समन्वय भइरहेको बताइन्।
प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले निर्वाचनका बेला सञ्चारमाध्यम र पत्रकारबाट भएका आचारसंहिता उल्लङ्घनका घटनामा परेका उजुरीको छानबिन गरी सम्बन्धित पक्षलाई स्पष्टीकरण सोधिएको बताए। पत्रकारहरूले सामाजिक सञ्जालमार्फत पनि आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै काउन्सिलमा उजुरी र गुनासो आउनेक्रम बढेको उनको भनाइ छ ।
“आचासहिंता उल्लङ्घनका घटनामा काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ”, सदस्य लामिछानेले भने।
प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख नारायण ढकालले समाचार सङ्कलनमा पत्रकारलाई मतदानस्थलमा सहज पहुँचको व्यवस्था गरिने बताए । निर्वाचनको स्वच्छता र पारदर्शिताका लागि पत्रकार र आमसञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
प्रदेशका ११ वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको र निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइ मतदानस्थलमा खटाउने तयारी भइरहेको प्रमुख ढकालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण