बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

निर्वाचनको समयमा एक पार्टी छाडेर अर्कोमा किन जान्छन् नेताहरू ?

बिहीबार, १४ फागुन २०८२, १२ : ००
बिहीबार, १४ फागुन २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा नेताहरूले पार्टी परिवर्तन गरिरहेका छन्।
  • कैलालीका ईश्वर विष्टले रास्वपा छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन्।
  • नागरिक उन्मुक्ति पार्टीका जगन्नाथ चौधरी रास्वपामा प्रवेश गरे।

धनगढी । फागुन २१ गते हुने निर्वाचन आउन अब ७ दिनमात्र बाँकी छ। सुदूरपश्चिमसहित अहिले देशभरका गाउँ र सहर चुनावमय बनेका छन्।  यही समयमा वर्षौँदेखि एउटै पार्टीको झन्डा बोकेका कोही नेताहरू रातारात अर्को पार्टीको माला लगाउँदै छन्। पछिल्लो तीन दिनको राजनीतिक घटनाक्रमलाई मात्र नियाल्ने हो भने सुदूरपश्चिममा एक पार्टीबाट अर्को पार्टीमा कतिपय नेताहरू समाहित भए ।

फागुन ९ गते धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी विष्टले पार्टी परित्यागको घोषणा गरे । विष्ट २०७९ को निर्वाचनमा कैलाली–५ बाट घण्टी चुनाव चिह्न लिएर ३ हजार ४ सय ५ मत ल्याउँदै सुदूरपश्चिममै रास्वपाको दोस्रो धेरै मत पाउने उम्मेदवारको छवि बनाएका थिए। यस पटक भने उनले पार्टीनै परित्याग गरेको घोषणा गरे। टिकट वितरणमा धाँधली र मूल्य मान्यताको स्खलन भएको महसुस भएकाले आफूले पार्टी परित्याग गरेको उनको भनाइ छ।

रास्वपाले कैलाली क्षेत्र नम्बर ५ मा यस पटक आनन्दबहादुर चन्दलाई उम्मेदवार बनाएपछि विष्ट रुष्ट मात्र भएनन्। उनले स्वतन्त्र उम्मेदवारी नै दर्ता गराए । उनी स्वतन्त्र रूपमा चुनाव एक्लै कैलाली ५ मा फागुन २१ गतेको चुनावका लागि तयारीमा छन्।

‘जुन आदर्श, विधि र थिति स्थापना गर्न पार्टी खोलिएको थियो, आज त्यही पार्टी नातावाद र आर्थिक प्रभावको घेरामा फस्यो,’ विष्टले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

कैलाली–५ मै नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट जाँतो चुनाव चिह्न लिएर मैदानमा उत्रिएका उम्मेदवार जगन्नाथ चौधरी चुनावको ९ दिनअघि फागुन १२ गते प्रतिस्पर्धी दल रास्वपामा प्रवेश गरे ।

कानुनी रूपमा मतपत्रमा उनको नाम र चिह्न जाँतो नै रहनेछ, तर उनी अहिले रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्दलाई भोट माग्दै हिँडिरहेका छन्। 

उनलाई रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारूले पार्टीमा स्वागत गरे । ‘थारू समुदायका मुद्दा रास्वपाले राम्रोसँग उठाएकाले म यता आएँ,’ पार्टी प्रवेशको दिन चौधरीले भनेका थिए।

 यसको भित्री पाटो भने अर्कै छ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीभित्रको घर झगडा र विभाजन यसको मुख्य कारण हो । रेशम चौधरी र उनकी पत्नी रञ्जिता श्रेष्ठबिचको राजनीतिक र पारिवारिक विवादले पार्टी चिरा परेको छ । 

अहिलेको चुनावमा नागरिक उन्मुक्ति रञ्जिता पक्ष नेकपा नेपाली कम्युनिस्ट पार्टी सँग मिलेको छ। रेशमले पनि नयाँ पार्टी खोलेर केही ठाउँमा उम्मेदवार खडा गरेका छन्। 

यता बैतडीमा पनि फागुन ११ गते नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जनक विष्टले एमालेको मञ्चमा उभिएर कांग्रेस परित्यागको घोषणा गरे ।

उनको पार्टी परिवर्तनको पछाडि कुनै ठुलो सैद्धान्तिक विमति भन्दा पनि भावनात्मक चोट र नेतृत्वप्रतिको आक्रोश मुख्य देखिन्छ ।

‘जेनजी आन्दोलनमा घाइते भएका सभापति देउवाको स्वास्थ्य लाभको कामना समेत कसैले गरेनन्, विधि पद्धति बाहिर गएर नयाँ कांग्रेस बनाइयो,’ विष्टले भनेका थिए। उनले अब एमाले उम्मेदवार दामोदर भण्डारीलाई जिताउने कसम खाएका छन् ।

यी घटनाले राजनीतिमा अझै पनि व्यक्तिगत इगो, गुटगत लडाइँ र नेता–कार्यकर्ताबिचको भावनात्मक सम्बन्धले अन्तिम समयमा निर्णय बदल्न बाध्य पार्छ । आफ्नो दलभित्र अपमानित महसुस भएपछि विपक्षीलाई सघाएरै भए पनि आफ्नै दललाई हराउने बदलाको भावना यहाँ देखिन्छ ।

हरेक निर्वाचनमा अन्तिम समयमै किन हुन्छ यस्तो ? नेताहरू एक पार्टीबाट अर्को पार्टीमा जान्छन् ? भन्ने अहिले चासो विषय पनि बनेको छ। स्थानीय राजनीति विश्लेषक धर्मानन्द भट्ट निर्वाचनको अन्तिम समयमा नेता–कार्यकर्ताहरू पार्टी परिवर्तन गर्ने प्रवृत्ति बढ्नुका पछाडि अवसरवाद मुख्य कारण रहेको बताउँछन् ।

उनका अनुसार अन्तिम समयमा धेरैजसो नेता तथा कार्यकर्ताहरू चुनावी माहौलको आकलन गरिरहेका हुन्छन् । ‘जसको जित्ने सम्भावना बढी देखिन्छ वा जसको पक्षमा जनलहर उर्लिएको भान हुन्छ, अवसरवादी नेता–कार्यकर्ताहरू त्यतै लाग्छन्,’ उनले भने, ‘नागरिक उन्मुक्तिबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नेहरूको लहरले यही सङ्केत गर्छ । डुब्न लागेको डुङ्गा छोडेर सुरक्षित ओत लाग्ने प्रयास यसमा देखिन्छ ।’

भट्टका अनुसार टिकट वितरणप्रतिको असन्तुष्टि पनि अर्को महत्त्वपूर्ण कारण हो । वर्षौँसम्म पार्टी संगठनमा काम गरेका कार्यकर्ताले अन्तिम समयमा पहुँच र पैसाको आधारमा अर्कैले टिकट पाएपछि निराशा बढ्ने उनले बताए । ‘त्यो निराशा कि त बागी उम्मेदवारीमा परिणत हुन्छ, कि त पार्टी परित्यागमा,’ उनले भने, ‘यो दलहरूभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुनुको परिणाम हो ।’

उनले अन्तिम समयमा पार्टी प्रवेशलाई राजनीतिक लेनदेनसँग पनि जोडेर हेर्नुपर्ने बताए । ‘अर्को पार्टीमा प्रवेश गर्दा “तपाईंको उम्मेदवारलाई जिताउँछु, बदलामा मलाई भोलि राजनीतिक नियुक्ति वा अवसर दिनुपर्छ” भन्ने अघोषित सहमति हुने गरेको देखिन्छ,’ भट्टले भने, ‘यही लेनदेनका कारण पनि निर्वाचनको अन्तिम समयमा एक पार्टीबाट अर्को पार्टीमा जाने प्रवृत्ति बढेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप