निगमको ऋण ५०–५२ अर्ब पुगिसक्यो, तिर्ने रोडम्याप कस्तो छ तपाईँसँग ?
सारांश
- नेपाल वायुसेवा निगमका महाप्रबन्धकले इजरायलमा थन्किएको जहाजको इन्जिन मर्मत गरी ल्याए।
- निगमले विदेशी एयरलाइन्सलाई पछि पार्दै सबैभन्दा धेरै यात्रु बोक्ने रेकर्ड बनायो।
- निगमको वर्तमान अवस्था, व्यवस्थापन सुधार, र आगामी योजनाबारे महाप्रबन्धकले जानकारी दिए।
काठमाडौँ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक अमृतमान श्रेष्ठले जिम्मेवारी सम्हालेको करिब ३ महिना पूरा भएको छ । छोटो अवधिमै उनले लामो समयदेखि इजरायलमा थन्किएको जहाजको इन्जिन मर्मत गरी ल्याउन सफल पनि भएको छ । निगमले अन्तर्राष्ट्रिय उडानमा विदेशी एयरलाइन्सलाई समेत पछि पार्दै सबैभन्दा धेरै यात्रु बोक्ने रेकर्डसमेत बनाएको छ ।
यस्तै अन्य विषयमा निगमले के गरिरहेको छ ? निगमको वर्तमान अवस्था, इजरायलको इन्जिन विवाद समाधान, व्यवस्थापकीय तथा प्रशासनिक सुधार, ऋण व्यवस्थापन, प्राइभेटाइजेसनको बहस र आगामी व्यावसायिक योजनाका विषयमा रातोपाटीका लागि अनिष मिजारले महाप्रबन्धक श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश :
महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नुभएको करिब ३ महिना पूरा भएको छ । यो अवधिमा निगमको काम कसरी अगाडि बढाइरहनुभएको छ ?
कार्यकारी निर्देशक (महाप्रबन्धक) को रुपमा आउने बित्तिकै मेरो पहिलो प्राथमिकता इजरायलमा लामो समयदेखि थन्किएको जहाजको इन्जिन ल्याउने थियो । मलाई प्रधानमन्त्रीले पनि त्यसमो जिम्मेवारी दिनु भएको थियो ।
मैले पनि सरकारले दिएको जिम्मेवारी र मैले सरकारसँग यो इन्जिन जसरी पनि ल्याउँछु भनेर प्रतिबद्धता जनाएको थिएँ । जुन इसराइल एरोस्पेस इन्डस्ट्रिज लिमिटेड (आईएआई) मा मर्मतका लिएको थियो ।
त्यही अनुसार इजरायलसँग निरन्तर पत्राचार, बारम्बारको बार्गेनिङ गर्ने काम गरे । तर करिब दुई महिनाको अथक प्रयासपछि उनीहरू कन्भिन्स भए । कन्भिन्स भएसँगै इन्जिन मर्मतको भुक्तानी प्रक्रिया अघि बढाए ।
करिब दुई वर्षअघि निगमको न्यारोबडी लुम्बिनी विमानको दुई वटा इन्जिन मर्मतका लागि इसराइल लगिएको थियो । सोही इन्जिन मर्मतबापत डेढ वर्षदेखि रोकिएको पहिला २८ करोड रुपैयाँ बराबरको भुक्तानी गरियो ।
हामीले ठुला एयरलाइन्ससँग प्रतिस्पर्धा गर्नुपर्ने छ । हामीसँग अहिले ४ वटा मात्रै जहाज छन् । तर पनि हामीले यी जहाजबाट म्याक्सिमम सर्भिस दिइरहेका छौँ । विगतका वर्षहरूमा जहाज ग्राउन्डेड हुने, बिग्रिने हुनाले यात्रु कम हुन्थे ।
हामीले उनीहरूसँग धेरै छुट मागेका थियौँ । जसअनुसार उनीहरूले कुल रकममा करिब १० लाख डलरसम्म छुट दिए । पहिलेको भुक्तानी नदिएको कारण सम्बन्ध नै बिग्रिएको अवस्था थियो । डिसेम्बरभित्र भाडाका इन्जिन पनि चलाउन नदिने उनीहरूको अडान थियो ।
मैले म्याद थप गराएँ र इन्जिन तत्काल बनाउन सुरु भयो । बिल भेरिफिकेसन गर्दा ओभररन कस्ट (अनुमानित भन्दा बढेर आउने खर्च) मा पनि हामीले सम्झौता गरेर छुट पायौं । अहिले इन्जिन आएर जडान भई जहाज उडिरहेको छ । यो मेरो र सम्पूर्ण स्टाफको टिमवर्कले सफल भएको हो ।
सन् २०२६ जनवरीमा त्रिभुवन विमानस्थलले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी एयरलाइन्सलाई समेत पछि पार्दै नेपाल एयरलाइन्सले सबैभन्दा बढी यात्रु बोकेको देखिएको छ । लामो समय थला परेको संस्थालाई एक्कासि यहाँसम्म ल्याउन व्यवस्थापकीय रणनीति के कस्तो रह्यो ?
मुख्य कुरा काम गर्ने मान्छेको इच्छाशक्ति, इमानदारिता र निस्वार्थपन हो । नेतृत्व परिवर्तन भएपछि विचार, काम र कर्तव्य सबै परिवर्तन हुन्छ ।
म नेतृत्वमा आइसकेपछि निगमलाई कसरी राम्रो बनाउने भन्ने पहिलेदेखिको योजना बनाएको थिए । अर्को महत्त्वपूर्ण कुरा, मैले रिजर्भेसन सिस्टममा केही परिवर्तन ल्याइदिएँ ।
_hekzbRlXt9.jpg)
पहिले निश्चित मान्छेले सिट होल्ड गर्ने (ब्लक गर्ने) तर जहाज खाली जाने समस्या थियो । मैले त्यो रिजर्भेसन कन्ट्रोल गर्ने बित्तिकै अटोमेटिक रुपमा सबै यात्रुले सिट पाउन थाले ।
टिकट प्रणालीलाई पारदर्शी बनाएपछि यात्रुको चाप स्वतः बढ्यो । त्यो एउटा नीतिले सबैभन्दा बढी यात्रु बोक्ने जहाज बन्न पुगेको देखिन्छ ।
विगतमा निगममा राजनीतिक हस्तक्षेपले संस्था डुबेको भनिन्थ्यो । अहिले निगमको सुधारमा सरकारको प्रत्यक्ष निगरानी र चासो छ । व्यवस्थापकीय भूमिका र राजनीतिक नेतृत्वबिच कसरी तालमेल मिलिरहेको छ ?
अहिलेको सरकारले निगमलाई पूर्ण साथ र सहयोग दिएको छ । आखिर निगम भनेकै नेपाल सरकारको हो । मलाई काम गर्न अहिले कतैबाट पनि प्रेसर वा दबाब छैन ।
कार्यालयको आवश्यकता अनुसार कुनै हस्तक्षेपबिना खुला वातावरणमा काम गर्न सहज भइरहेको छ । सरकारको साथ भएकैले काम गर्न सजिलो भएको छ ।
कतार एयरवेज, एयर इन्डिया जस्ता शक्तिशाली अन्तर्राष्ट्रिय प्रतिस्पर्धीको माझमा निगमले बजार हिस्सा बढाएको छ । यात्रुको चाप बढेसँगै सेवाको गुणस्तर निरन्तरता दिन तपाईंका योजना के छन् ?
हामीले ठुला एयरलाइन्ससँग प्रतिस्पर्धा गर्नुपर्ने छ । हामीसँग अहिले ४ वटा मात्रै जहाज छन् । तर पनि हामीले यी जहाजबाट म्याक्सिमम सर्भिस दिइरहेका छौँ । विगतका वर्षहरूमा जहाज ग्राउन्डेड हुने, बिग्रिने हुनाले यात्रु कम हुन्थे ।
_WNPzWbVrsE.jpg)
अहिले हाम्रा चारवटै जहाज पूर्ण क्षमतामा सञ्चालनमा छन् । मैले भाडादर पनि सबैलाई एउटै र सुलभ बनाइदिएको छु । अरु एयरलाइन्सका जहाज फुल भए पनि हाम्रा जहाज फुल हुनुको कारण हाम्रो जहाजको संख्या कम हुनु पनि हो ।
त्यसैले यात्रुको चाप धान्न र बजारको माग पूरा गर्न अब जहाज थप्नुको विकल्प छैन ।
निगमलाई प्राइभेटाइजेसन (निजीकरण)पीपीपी मोडलमा सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको थियो । तपाईंको विचारमा अहिलेकै अवस्थाबाट निगम सुदृढ गरेर जाने वा निजीकरणतिर जाने कस्तो मोडालिटी सम्भव देख्नुहुन्छ ?
हामीले ऋण भुक्तानीलाई रि–सेड्युलिङ गरेर अब बाँकी रकमलाई ७५ किस्तामा तिर्ने व्यवस्था मिलाइदिन पहल गरेका छौँ । यो ७५ किस्ताको प्रस्ताव स्वीकृत भएमा र सफ्ट लोन पाएमा जहाज थपेर कमाएको नाफाबाट ऋण तिर्न गाह्रो छैन ।
मेरो विचारमा अहिलेकै मोडालिटीबाट जाँदा पनि निगमलाई सुधार्न सकिन्छ । निजीकरण गरिरहनुपर्दैन । तर त्यसका लागि महँगो ब्याजदरको सट्टा सफ्ट लोन (सहुलियतपूर्ण ऋण) ल्याउनुपर्छ ।
नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयरपोर्ट बनाउँदा सरकारबाट सफ्ट लोन दिएको छ । हामीले पनि लिन मिल्छ । निगमले जहाज किन्दा मात्र किन ९–१० प्रतिशत महँगो ब्याज तिर्ने ?
संसारभर कुनै पनि एयरलाइन्सले ९–१० प्रतिशत ब्याज तिरेर जहाज किन्दैनन् । २–३ प्रतिशत ब्याजदरमा लिजमा ल्याउँछन् । यदि सफ्ट लोन लिएर अहिलेको ऋण स्वाप गर्ने हो भने अहिलेकै अवस्थामा निगमले नाफा कमाएर प्रगति गर्न सक्छ ।
निगमको ऋणको भार नै ५०–५२ अर्ब पुगिसक्यो । यो तिर्ने तपाईँसँग ठोस आर्थिक रोडम्याप के छ त ?
सुरुमा हामीले सञ्चय कोष र लगानी कोषबाट जम्मा ३४ अर्ब ऋण लिएका थियौँ । तर अहिले समयमा साँवा–ब्याज नतिर्दा त्यो पुँजीकरण (क्यापिटलाइज्ड) भएर अहिले ५०–५२ अर्ब पुग्यो ।
कोरोनाको बेला जहाज नउड्दा तिर्न नसकेको पेनाल्टी र ब्याजदर मात्रै पनि सरकारले मिनाहा गरिदिने हो भने ऋणको भार ५० अर्बबाट घटेर करिब ४८ अर्बमा झर्छ ।
अर्को कुरा हामीले ऋण भुक्तानीलाई रि–सेड्युलिङ गरेर अब बाँकी रकमलाई ७५ किस्तामा तिर्ने व्यवस्था मिलाइदिन पहल गरेका छौँ । यो ७५ किस्ताको प्रस्ताव स्वीकृत भएमा र सफ्ट लोन पाएमा जहाज थपेर कमाएको नाफाबाट ऋण तिर्न गाह्रो छैन ।
निगममा व्यवस्थापकीय बेथिति र आन्तरिक सुशासनको कमी देखिँदै आएको छ । जसमा कर्मचारीतन्त्र भित्रको गुटबन्दी अन्त्य गर्न र पारदर्शी कार्यशैली स्थापित गर्न के कस्ता कदम चाल्दै हुनुहुन्छ ?
मैले जोइन गर्ने बेलामै अनुशासन र काम चाहिन्छ भनेर स्पष्ट पारेको थिएँ । मेरो विचारमा सबै कर्मचारी बराबर हुन् । यो मेरो मान्छे, त्यो उसको मान्छे भन्ने गुटबन्दी ममा छैन ।
_JIcZN0rnXe.jpg)
सबै कर्मचारी मेरै हुन् भन्ने भावनाले काम गर्दा सुधार आएको छ । कर्मचारीहरू सधैं एउटै विभागमा मात्र बस्ने परिपाटी अन्त्य गर्न रोटेसन बेसिसमा सबै विभागमा काम सिकाउने मेरो योजना छ ।
तल्लो तहका कर्मचारीलाई अपग्रेड गर्ने र ट्रेनिङ नपाएकालाई ट्रेनिङमा पठाउने योजना छ जसले गर्दा सबैको वृत्तिविकास होस् र काममा प्रभावकारिता आओस् ।
४२ देशसँग हवाई सम्झौता भए पनि निगम सीमित गन्तव्य र सीमित जहाजमै खुम्चिएको छ । नयाँ जहाज खरिद र नयाँ गन्तव्य विस्तारबारे तपाईंका आगामी योजना के–के छन् ?
राष्ट्रिय ध्वजावाहकको विकासका लागि जहाज थप्नै पर्छ । नेसनल क्यारियरले जति धेरै जहाज ल्याएर यात्रु बोक्छ । देशको पर्यटन क्षेत्र त्यति नै विकास हुन्छ । डलर भित्रिन्छ र रोजगारी सिर्जना हुन्छ ।
हामीले एक वर्षभित्र ४ वटा जहाज र तीन वर्षभित्र ६ वटा जहाज थप्ने टाइमलाइन सहितको योजना बनाएका छौँ । नाफामूलक सेक्टरहरूमा फ्रिक्वेन्सी बढाउँदै छौँ ।
अहिले दोहामा हप्ताको ५ उडान छ । त्यसलाई बढाएर ७ वटै बनाउने, दिल्लीमा हप्ताको ७ उडान छ त्यसलाई १४ वटा बनाउने र दुबईमा ५ वटाबाट ७ वटै उडान पुर्याउने योजना छ ।
ग्वाङ्झाउमा पनि उडान फ्रिक्वेन्सी बढाउँछौँ । नयाँ गन्तव्यमा दक्षिण कोरिया, ओमान र ढाकाका लागि प्रक्रिया अगाडि बढेको छ । त्यस्तै, अस्ट्रेलियाको सिड्नी उडानका लागि कमिटी गठन भएको छ । यसमा जहाज निर्माता कम्पनी एयरबसले नै रुटको प्राविधिक अध्ययन गरिइदिइरहेको छ ।
हाम्रा वाइडबडी जहाजलाई अस्ट्रेलिया र जापान उडाउने र नयाँ आउने न्यारोबडीले नजिकका गन्तव्य भारत, दोहा, दुबई कभर गर्ने हाम्रो स्पष्ट रणनीति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण