‘प्रतिस्पर्धी जति नै बलिया किन नहुन्, मेरो विश्वास जनतामा छ’
सारांश
- निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपाका उम्मेदवार अमनलाल मोदीले मतदातासँग मत मागिरहेका छन्।
- मोदीले आफ्नो जितप्रति विश्वास व्यक्त गर्दै, विगतका काम र आगामी योजनाबारे जानकारी गराए।
- उनले विपक्षी उम्मेदवारलाई सामान्य रूपमा लिँदै मतदातालाई 'तारा' चिह्नमा मतदान गर्न आग्रह गरे।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। राजनीतिक दलहरू र उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता राख्दै मत मागिरहेका छन्।
यसै सन्दर्भमा, रातोपाटीको रातोपाटी ग्राउण्ड जिरो स्थलगत रिपोर्टिङ टोली मोरङ निर्वाचन क्षेत्र नम्बर ४ पुगेको छ। यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद अमनलाल मोदी चुनावी मैदानमा छन्।
विगतदेखि नै जनतासँग नजिक रहेर काम गर्दै आएका मोदीले यस पटक नयाँ पार्टी र नयाँ चुनाव चिह्न ‘तारा’ लिएर मतदाता माझ गइरहेका छन्। उनले आफ्नो जितप्रति कत्तिको विश्वस्त छन्? उनका एजेन्डाहरू के-के हुन्? र, प्रतिस्पर्धीहरूलाई कसरी हेरिरहेका छन्? यिनै समसामयिक विषयमा केन्द्रित रहेर उहाँसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
- निर्वाचन प्रचार-प्रसार कस्तो भइरहेको छ?
हाम्रो घरदैलो अभियान, टोल सभा, र जनतासँगको भेटघाट निरन्तर रूपमा चलिरहेको छ। जनताका गुनासाहरू सुन्ने र हाम्रा कुराहरू राख्ने काम भइरहेको छ। हामी कुन पार्टीका हौँ र हाम्रो चुनाव चिह्न तारा हो भन्ने कुरा जनतालाई बुझाइरहेका छौँ, किनभने पहिले एउटा चुनाव चिह्न थियो भने अहिले परिवर्तन भएको छ।
- तपाईं झण्डै १२ वर्षदेखि लगातार सांसद हुनुहुन्छ। जनताका समस्याहरू उस्तै छन् कि समाधान भएका छन्?
समस्याहरू समाधान हुँदै नभएका होइनन्। संविधानसभाको सदस्य हुँदा समानुपातिक सांसद थिएँ, त्यसबेला हामी संविधान निर्माणको प्रक्रियामा थियौँ। त्यसकारण विकास निर्माणका काममा त्यति समर्पित हुन सकेनौँ।
तर २०७४ सालमा प्रत्यक्ष निर्वाचित भइसकेपछि मैले यहाँका किसान, मजदुर, सुकुम्बासी, दलित लगायत विभिन्न समुदायका समस्याहरूलाई सम्बोधन गर्न सुरु गरेँ। पहिले यो निर्वाचन क्षेत्रमा धेरै कामहरू भएका थिएनन्। म निर्वाचित भएपछि र हाम्रो प्रदेशका माननीय विजय विश्वास मन्त्री हुँदा हामी दुई जनाको टिमवर्कले धेरै कामहरू गर्यौँ। जस्तै, अहिले बाटो हिँड्दै गर्दा देखिने फोर लेनको बाटो मेरै पालामा बनेको हो। पहिले चुनाव जितेकाहरूले किन गरेनन्?
यसका साथै, पुल निर्माण जस्तै: गिदनिया, मोतीपुर, शीतपुर, लोहन्द्रा, कालोपत्रेका कामहरू पनि भएका छन्। स्कुल र स्वास्थ्य चौकीका समस्याहरू पनि समाधान गरिएका छन्। विद्यार्थी नेता भएकाले मेरो प्राथमिकता सधैँ शिक्षामा रह्यो। त्यसैले यहाँका विद्यालयहरूमा आईसीटी कार्यक्रम र भवन निर्माणका कामहरू भएका छन्। विद्युतीकरण र अस्पताल निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेलेका छौँ। यी सबै कामहरू गर्दै गर्दा अझै धेरै काम गर्न बाँकी छ, किनकि हामीले प्रदेशमा काम गर्न थालेको ७-८ वर्ष मात्र भएको छ।
- समानुपातिकको त कुरै भएन, तर २०७४ र २०७९ मा चाहिँ एमाले र कांग्रेसले जिताइदिएका हुन् भन्ने भनाइ छ। तपाईं आफ्नै बलबुताले कहिले जित्नुहुन्छ?
यो प्रश्न यसरी गर्नुभयो कि मानौँ गठबन्धनबाट म मात्र जितेको हुँ। अरू पार्टीहरू पनि गठबन्धनबाटै जितेका हुन् नि ! यो निर्वाचन क्षेत्रमा गठबन्धनबाट चुनाव लडेर हारेका धेरै साथीहरू हुनुहुन्छ। त्यसैले, चुनाव जित्नुमा गठबन्धनको मात्र भूमिका हुँदैन; जनताको मनोभावना, उनीहरूको इच्छा र आकाङ्क्षालाई सम्बोधन गर्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
मैले कसैलाई विभेद गरेको छैन। कोही चिया पसलमा फोन गर्छन्, कोही अस्पतालबाट फोन गर्छन्, सबैको सरल तरिकाले सेवा गरेको छु। म कुनै शासक होइन, जनताको सेवक हुँ। त्यसैले मैले जनतासँग महागठबन्धन गरेर चुनावमा होमिएको छु। यहाँका सुकुम्बासी र गरिब जनताका लागि नमुना बस्ती निर्माण गरेको छु, जहाँ करिब ५० जना गरिबलाई एकै खालको घर बनाइदिएको छु। त्यसैले, सडकदेखि सदनसम्म जनताका भावनाहरू पुर्याउने काम गरेको छु।
- तपाईं संसद्मा कत्तिको सक्रिय हुनुहुन्छ भन्ने कुरा जनतालाई थाहा पाउनु पर्यो नि!
जनतालाई यो कुरा राम्ररी थाहा छ। तपाईं मिडियाकर्मीहरूले पनि यो कुरा बुझ्नुपर्छ।
- तपाईंको प्रतिस्पर्धीमा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, एमालेका जीवन घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार छन्। उनीहरू हेभिवेटका रूपमा चिनिन्छन्, उनीहरूलाई कसरी लिनुहुन्छ?
मेरा लागि सबै १९ जना प्रतिस्पर्धीहरू बराबर हुन्। म कसैलाई कम आँक्दिनँ। यहाँका जनताको मनोभावना बुझ्ने व्यक्ति को हुन्, त्यो महत्त्वपूर्ण कुरा हो। धेरै उम्मेदवारहरू त चुनावको बेला मात्र देखा पर्छन्, यहाँका गाउँ र बस्तीहरूको नाम पनि उनीहरूलाई थाहा छैन होला।
- तपाईं आफैँ कत्तिको हेभिवेट हुनुहुन्छ?
मलाई हेभिवेट भन्ने शब्द मन पर्दैन। म अनुभवी हुँ। तपाईं अनुभवी डाक्टर, पाइलट, शिक्षक खोज्नुहुन्छ भने देश बनाउने सांसद पनि अनुभवी नै खोज्नुपर्छ। मेरो प्रतिस्पर्धीहरूभन्दा म धेरै अनुभवी छु।
- तपाईंले चुनाव चिह्न परिवर्तन गर्नुभयो। तारा चुनाव चिह्न जनताले चिनेका छन् त?
जनताले चुनाव चिह्न तारा सजिलै चिनेका छन्। यो चिह्न जनताको मुखमा झुन्डिएको छ, र उनीहरूले यसलाई जीवनको सहारा मानेका छन्।
- अहिले घण्टीको चर्चा जताततै सुनिन्छ। त्यसले तपाईंलाई कत्तिको डर लागेको छ?
मलाई कुनै डर छैन। चुनावमा जनताले जसलाई मन पराउँछन्, त्यसैलाई भोट दिन्छन्। यो एउटा तरङ्ग मात्र हो। जस्तै, म एकपटक केन्या जाँदा त्यहाँका बाँदरहरू पशुपतिका बाँदरजस्तै उफ्रिरहेका थिए। यो पनि त्यस्तै क्षणिक तरङ्ग हो, जसले सबैतिर प्रभाव पार्दैन।
- अन्त्यमा, मतदातालाई के भन्न चाहनुहुन्छ?
रातोपाटी जस्तो लोकप्रिय अनलाइनले मेरा विचारहरू जनतामाझ पुर्याइदिएकोमा धन्यवाद। जनता नै सार्वभौम हुन्, उनीहरू बाहेक अरू कोही हुनै सक्दैन। पहिले मलाई गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्नुहुन्थ्यो, अब हाम्रो पार्टी र चुनाव चिह्न परिवर्तन भएको छ। अहिलेको हाम्रो चुनाव चिह्न 'तारा' हो, त्यसैले तारा चिह्नमा मतदान गरिदिनुहुन विशेष अपिल गर्दछु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण