सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
चुनावी GROUND ZERO : झापा–५

एमाले अध्यक्ष ओलीसँगै हिँड्ने भोलेन्टियर्स फोर्सबाटै असुरक्षित छन् मतदाता

‘हामी त काम गर्ने मान्छे हौँ, भोट हाल्दैनौँ भन्ने थाहा पाए भने केही गर्छन् कि भन्ने त्रास छ’
आइतबार, १७ फागुन २०८२, १० : ०५
आइतबार, १७ फागुन २०८२

सारांश

  • झापाको कमल गाउँपालिकामा एमालेका कार्यकर्ताले मतदातालाई धम्की दिएको र पत्रकारमाथि हातपात गरेको घटना सार्वजनिक भयो।
  • युवतीहरूले घण्टीमा भोट हाल्ने बताएपछि एमालेका कार्यकर्ताले उनीहरूमाथि दुर्व्यवहार गरे, र पत्रकारमाथि आक्रमण गरे।
  • स्थानीय बासिन्दा र पत्रकारहरूले निर्वाचनको समयमा त्रास र असुरक्षाको वातावरण भएको गुनासो गरे, साथै प्रहरीको भूमिकामाथि प्रश्न उठाए।

दमक । झापाको कमल गाउँपालिका–६ को चोमलुङ चोकका स्थानीय आफूहरूमाथि आक्रमण हुने हो कि भन्ने त्रासमा छन् । गत बुधबार साँझ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै तीन दर्जनभन्दा बढी गाडीमा सयौँ युवा चोकमा प्रवेश गरे । त्यसै क्रममा उनीहरूले सानो पसलमा चटपटे खाएर बसिरहेका स्थानीय युवतीहरूलाई ‘भोट केमा ?’ भनेर सोधे ।

‘सूर्यमा’ भनेर नारा लगाउँछन् भन्ने अपेक्षाका साथ सोधिए पनि युवतीहरूले ‘घण्टीमा’ भनिदिए । त्यसपछि युवाहरू भाउन्न भएर महिलाहरूमाथि भनाभन गर्दै जाइलागे । त्यो दृश्य खिच्न पुगेका सञ्चारकर्मी अर्जुन आचार्यमाथि उनीहरूले आक्रमण गरे ।

त्यो घटनाको साक्षी रहेकी पसलकी सञ्चालक रिता धिमाललाई अहिले पनि डर लाग्छ । एमाले निकट युथ भोलेन्टियर्सका सदस्यहरू त्यसबेला आफूहरूमाथि आक्रमणका लागि झम्टिएको र पत्रकार कुटिएको विषय उनलाई झलझली छ ।

‘यहाँ केही बहिनीहरू चटपटे खान आएका थिए । भोट माग्न आउने भाइहरूले भोट केमा हाल्ने भन्दा उनीहरूले घण्टीमा भनेर जबाफ दिए । त्यसपछि एमालेका भाइहरूले मुख छाड्दै गए । उनीहरूले अश्लील इशाराका साथ औँला देखाउँदै गएपछि झगडा सुरु भयो । पत्रकार भाइले भिडियो खिच्दै गर्दा उनीहरूले लछारपछार गरेर गाडीमा हालेर लगे । हामी त काम गर्ने मान्छे, डर त लाग्छ नै, भरे केही गर्छन् कि भन्ने त्रास छ,’ उनले भनिन् ।

घटनाको प्रत्यक्षदर्शी पुष्पा राईले आक्रमणबारे भनिन्, ‘त्यहाँ ५–१० मिनेटसम्म कुटपिट भयो । पत्रकार भाइलाई ६–७ जना मिलेर घेरेर हाने । उनीहरूले भिडियो डिलिट गर भन्दै मोबाइल खोसे, मोबाइल लक भएकाले डिलेट गर्न सकेनन् र सडकमै बजारे । पत्रकारले गुहार माग्दा पनि कसैले बचाउन सकेनन्, सबै आफ्नै धुनमा थिए ।’

वृद्ध अवस्थाकी बेदमाया मुखियाले भनिन्, ‘मैले माथिबाटै देखेँ, पत्रकार भाइलाई कसरी लछारपछार गरेर कुटे । किन मान्छे कुटेको हो भन्दै हामी गयौँ, तर उनीहरूले कसैको कुरा सुनेनन् । भोट माग्न आउनेले यसरी मान्छेलाई कुट्दै हिँडेपछि हामी कसरी सुरक्षित हुने ?’

गौरीगञ्ज गाउँपालिकामा रिपोर्टिङकै लागि पुगेका अरु सञ्चारकर्मी पनि एमालेको युथ भोलेन्टियर्सका कार्यकर्ताले हप्कीदप्की गरेको बताउँछन् । ‘सार्वजनिक इस्यु बनाउन नचाहेको मात्रै हो । हामीमाथि पनि आक्रमणको प्रयास भएको छ,’ एक सञ्चारकर्मीले भने ।

स्थानीय विष्णु श्रेष्ठले राजनीतिक दलको व्यवहारमाथि प्रश्न उठाए । उनले भोट माग्नेहरूले नम्र हुनुको सट्टा धाकधम्कीले भोट मागेको भन्दै असन्तुष्टि पोखे । ‘भोट त मायाले, हात जोडेर माग्ने हो नि ! जनतालाई थर्काएर, औँला देखाएर कहाँ भोट आउँछ ? पत्रकारलाई यसरी कुट्नु भनेको त अति नै भयो । उनीहरूले त गल्ती महसुस गरेर जनतासँग माफी माग्नुपर्ने हो, तर उल्टै संरक्षण भइरहेको छ,’ उनले भने ।

स्थानीय धनु श्रेष्ठले भनिन्, ‘तिनीहरूले मतदातालाई भोट हाल, नत्र यस्तो गर्छु भन्दै धम्काएका छन् । चेलीबेटीमाथि हातपात गर्न खोज्नु र पत्रकारलाई निर्घात कुट्नु राम्रो कुरा होइन । यस्तो असुरक्षित वातावरणमा हामीले कसरी स्वतन्त्र रूपमा भोट हाल्ने ?’

त्यस दिनदेखि गाउँमा त्रास फैलिएको स्थानीय महेन्द्र बस्नेत बताउँछन् । ‘गाउँमा एकदमै असुरक्षा महसुस भएको छ । पत्रकारमाथि त यस्तो हुन्छ भने हामी सर्वसाधारण त कतिखेर कता कुटिने हौँ भन्ने डर छ । एउटा मतदाताले स्वेच्छाले भोट हाल्न पाउनुपर्ने अधिकारको यहाँ ठाडो उल्लङ्घन भएको छ । गाउँ पूरै हल्लिएको छ, सबै डराएका छन्,’ उनले भने ।

घटना भएको लामो समय बितिसक्दा पनि आक्रमणकारी खुलेआम हिँडिरहनु र पत्रकारको मोबाइल फिर्ता नहुनुले स्थानीय प्रशासनको भूमिकामाथि पनि शंका उब्जिएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट शुक्रबार असुरक्षाको अवस्था रहेको बताए । तर, उनकै अघिपछि हिँड्ने दस्ताले गरेको आक्रमणले झापा–५ का मतदातामा कति असुरक्षा होला ? त्यो अनुमान भन्दा बाहिरको विषय हो ।

सुरक्षा स्रोतले पनि एमालेको भोलेन्टियर्स फोर्सले आफू अनुकूल परिणाम नआउन सक्ने देखिए जे पनि गर्नसक्ने अवस्था रहेको बताएको छ । त्यसका लागि उच्च सतर्कता अपनाइएको उक्त स्रोतको दाबी छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख किशोर लम्सालले भने सुरक्षाको वातावरण मजबुत रहेको र निर्वाध ढंगले मतदाताले मत हाल्न पाउने वातावरण रहेको बताए । 

गौरीगञ्ज गाउँपालिकामा रिपोर्टिङकै लागि पुगेका अरु सञ्चारकर्मी पनि एमालेको युथ भोलेन्टियर्सका कार्यकर्ताले हप्कीदप्की गरेको बताउँछन् । ‘सार्वजनिक इस्यु बनाउन नचाहेको मात्रै हो । हामीमाथि पनि आक्रमणको प्रयास भएको छ,’ एक सञ्चारकर्मीले भने ।

अर्का एक सञ्चारकर्मीमाथि शुक्रबार दिउँसो भोलेन्टियर्स फोर्सका सदस्यहरूले आक्रमणको प्रयास गरेका थिए । समाचार सङ्कलनको क्रममा सो क्षेत्रमा पुगेका सञ्चारकर्मी उत्तम पोखरेलले सर्वसाधारणमा युथ भोलेन्टियर्सले अनावश्यक दबाब र धम्की दिने गरेको आफूले थाहा पाएको बताए ।

Jhapa (1)

‘यहाँ अर्को पक्षको भोट माग्दै गरेको भिडियो टिकटक, फेसबुक वा अन्य कुनै सामाजिक सञ्जालमा हाले भने ती स्थानीयलाई भिडियो हटाउन र नहटाए जे पनि हुनसक्ने भन्दै धम्की दिने गरेको पाइयो,’ पोखरेलले भने, ‘यस्ता घटना धेरै छन् । उनीहरू मतदाताको घरमै पुगेर पनि धाक धम्की दिइरहेका छन् ।’

सुरक्षा स्रोतले पनि एमालेको भोलेन्टियर्स फोर्सले आफू अनुकूल परिणाम नआउन सक्ने देखिए जे पनि गर्नसक्ने अवस्था रहेको बताएको छ । त्यसका लागि उच्च सतर्कता अपनाइएको उक्त स्रोतको दाबी छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख किशोर लम्सालले भने सुरक्षाको वातावरण मजबुत रहेको र निर्वाध ढंगले मतदाताले मत हाल्न पाउने वातावरण रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप