उम्मेदवार कार्की भन्छिन्, 'आत्मनिर्भर सर्लाहीको सपना देखेको छु'
काठमाडौँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा २८ जना उम्मेदवारहरू छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस पटक यहाँबाट नितिमा कार्कीलाई उठाएको छ । महिला उद्यमीको छवि बनाएकी कार्की राजनीतिमा नयाँ अनुहार हुन् ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भने यहाँ पुरानै उम्मेदवारहरूलाई टिकट दिँदा कार्की भने नयाँ अनुहारका रूपमा देखा परेकी हुन् । यस क्षेत्रमा नेपाली कांग्रेसले शम्भुलाल श्रेष्ठलाई उमेदवार बनाएको छ भने नेकपा एमालेबाट मनोजकुमार देवकोटा चुनावी मैदानमा छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बाट प्रमोद साह यहाँ उम्मेदवार छन् । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निवर्तमान प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी उभिएका छन् ।
१ लाख ३० हजार ८७१ मतदाता रहेको सर्लाही–१ मा कुनै पनि उम्मेदवारले २०६४ सालयता दोहोर्याएर चुनाव जितेका छैनन् ।
यस्तोमा रास्वपाकी उम्मेदवार कार्कीले आफू पद वा सुविधाका लागि नभई ‘माटोको ऋण तिर्न’ चुनावी मैदानमा आएको बताएकी छन् । सर्लाही क्षेत्र नम्बर १ का मतदातासँगको भेटघाट तथा चुनावी कार्यक्रममा उनले स्थानीय ठाउँमै स्थायी सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘म चुनाव जितेर भाग्ने उम्मेदवार होइन,’ कार्कीले भिडियो सन्देशमा भनेकी छिन्, ‘म तपाईंहरूसँगै बस्ने, सँगै लड्ने र सँगै समाधान खोज्ने प्रतिनिधि बन्न चाहन्छु ।’
सर्लाहीमै जन्मेर हुर्किएकी उनले आफूले यहाँका समस्या नजिकबाट देखेको उल्लेख गर्दै विगतमा निर्वाचित जनप्रतिनिधिहरू चुनावपछि काठमाडौं केन्द्रित हुने गरेको गुनासो दोहोरिएको बताइन् । आफू निर्वाचित भए सर्लाहीमै स्थायी सचिवालय र काठमाडौंमा समन्वय कार्यालय राख्ने घोषणा उनले गरिन् ।
रोजगारी र कृषि औद्योगिकीकरण प्राथमिकता
कार्कीले आफ्नो उम्मेदवारीलाई रोजगारी सिर्जनासँग जोड्दै कृषि, साना उद्योग, सीपमूलक तालिम र महिला उद्यमशीलतालाई प्राथमिक एजेन्डा बनाएको बताएकी छन् । त्यस्तै सार्वजनिक गरेको घोषणापत्रलाई उनले ‘नागरिकसँगको करार’ भनेकी छन् । ‘राजनीति अब चुनावका बेला गरिने अस्पष्ट खेल होइन, यो जनतासँग गरिएको करार सम्झौता हो,’ उनले भनेकी छन्, ‘म बाचा मात्र गर्दिनँ, नतिजासहितको उत्तरदायित्व लिन्छु ।’
कृषि क्षेत्रलाई मेरुदण्ड मानेर उनले किसानको उत्पादनको न्यूनतम समर्थन मूल्य कडाइका साथ कार्यान्वयन गर्ने, कृषि संकलन तथा बिक्री केन्द्र स्थापना गर्ने र आधुनिक प्रविधिमार्फत लागत घटाउने योजना अघि सारेकी छन् । ‘कृषकको पसिना अब घाटामा जाँदैन,’ उनले घरदैलोमा भन्ने गरेकी छन् । सीमावर्ती क्षेत्रमा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न ‘सर्लाही ब्रान्ड’का माछा र तरकारीलाई राष्ट्रिय बजारमा स्थापित गर्ने, चिस्यान केन्द्र र आधुनिक प्याकेजिङको व्यवस्था गर्ने प्रतिबद्धता उनको छ ।
ऐलानी जग्गाको लालपुर्जा नहुँदा बैंकिङ पहुँच बन्द, पर्याप्त शीत भण्डारको अभाव, दूध र तरकारीको उचित मूल्य नपाउने अवस्था र बाढी–तटबन्धको दीर्घकालीन समस्या । उनले ऐलानी जग्गा समस्या समाधानका लागि नीतिगत पहल गर्ने, साना किसान र साना उद्योगलाई जोड्ने ‘पुल’ बन्ने र कृषि–आधारित उद्योग स्थापनामा सहजीकरण गर्ने योजना सुनाएकी छन् ।
महिला उद्यमीका रूपमा आफूले व्यवसायिक अनुभव बटुलेको उल्लेख गर्दै उनले सर्लाहीमा उत्पादन हुने कृषिजन्य वस्तुलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि गर्ने योजना रहेको जानकारी दिइन् । यसबाट युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उनको दाबी छ । रोजगारी र महिला सुरक्षाका कुरालाई पनि उनले जोडतोडका साथ उठाएकी छिन् ।
कार्कीले मधेस सधैँ प्रयोगमा परे पनि प्राथमिकतामा नपरेको टिप्पणी गर्दै समान अधिकार, सम्मान र अवसरका लागि आफूले आवाज उठाउने बताइन् । आफू कुनै पुरानो शक्ति संरचनाको प्रतिनिधि नभएको उल्लेख गर्दै उनले नागरिक केन्द्रित राजनीति गर्ने प्रतिबद्धता जनाइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण