बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ढुक्क भएर मतदान गर्न मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

आइतबार, १७ फागुन २०८२, २१ : ५३
आइतबार, १७ फागुन २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेका छन् ।

गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको टोलीलिई निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमनका लागि बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुग्नुभएका मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेका हुन् ।

मन्त्री अर्यालले निर्वाचनमा कुनै पनि किसिमको गैह्रकानुनी कृयाकलाप भएमा वा गराइएमा दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने बताए । साथै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको सुरक्षालाई प्राथमिकतामा राख्न सम्बद्द अधिकारीलाई निर्देशन दिए ।

अनुगमन तथा निरीक्षणको क्रममा मन्त्री अर्याललाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको समग्र सुरक्षा अवस्थाबारे प्रस्तुति गरे । जिल्लाको वस्तुस्थितिबारे जानकारी लिइसकेपश्चात मन्त्री अर्यालले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आफूले नेतृत्व गरीरहेको जिल्लाको सुरक्षा अवस्था विश्लेषण गरी सुरक्षा योजना प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिए ।

स्थलगत अनुगमन तथा निरीक्षण पश्चात् संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री अर्यालले देशव्यापी रूपमा निर्वाचनको माहोल उत्साहजनक देखिएको बताउँदै निर्वाचनको लागि सुरक्षा तयारी सुदृढ बनाइएको जानकारी गराए ।

अनुगमनको क्रममा बाँकेको नेपालगन्जमा भएको कार्यक्रममा जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायका लुम्बिनी प्रदेश ईन्चार्ज, जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप