सुदूरपश्चिमका रानाथारुले ३८ दिन मनाउँछन् होरी
सारांश
- कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारु समुदायमा ३८ दिनसम्म होरी पर्व मनाइन्छ, तर चुनावका कारण यो प्रभावित भएको छ।
- यस पर्वमा माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म जिउँदो होरी खेलिन्छ भने फागु पूर्णिमामा होरी जलाइन्छ र त्यसको भोलिपल्ट टिका लगाइन्छ।
- टिकाको आठौँ दिन खख्डेहरा मनाइन्छ, जसमा गाउँलेहरूले गाउँबाहिर खख्डेहरा फुटाउँछन् र यसले भूत, पिचास र विपत्तिबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।
धनगढी । रानाथारु समुदायमा होरी पर्व ३८ दिनसम्म मनाइन्छ । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समुदायको सबै भन्दा ठुलो पर्व होरी हो । यो पटक चुनावका कारण केहि प्रभावित भने भएको छ।
यस समुदयामा माघको पूर्णिमाका दिन होरी राखिन्छ र त्यसै दिन देखि पर्व सुरु हुन्छ । माघको पूर्णिमा देखि फागु पूर्णिमा सम्म गरी एक महिना जिन्दा (जिउँदा) होरी खेलिन्छ । त्यो रातमा मात्र खेलिन्छ ।
यस अवधिमा गीतहरूमा नाचगान हुन्छ । नयाँ गीत बनाउने गरिन्छ । दिनभरि काम गरेपनि साँझ सबैजना जम्मा भई रमाइलो गर्ने गरिन्छ । बुढापाकाले गीत गाउने, नयाँ पुस्ताले सिक्ने गर्छन् । यसबेला आफ्ना आफ्ना गाउँमा पर्व मनाउने अभ्यास पनि हुन्छ ।
फागुनको पूर्णिमाका दिन गाउँभन्दा बाहिर दक्षिणपटी राखेको होरीमा आगो लगाउने गरिन्छ । होरीमा आगो लगाएको अर्को दिनलाई टिका भनिन्छ । टिकाका दिन गाउँ भरिका मानिसले होरी जलेर भएको खरानीको टिका लगाउँछन् ।
राना थारु समुदायका एकजना जानकार दुवारी रानाले यसरी टिका लगाउँदा सुस्वास्थ्य हुने, रोग नलाग्ने तथा दीर्घायु हुने जनविश्वास रहेको बताए ।
टिकाको दिन देखि ८ दिन सम्म मरी होरी (मरेको होरी) खेल्छन् । मरी होरी रातमा र दिनमा पनि खेल्न पाईन्छ । यो आठ दिनमा भलमन्सा, वडाअध्यक्ष लगायतका घरमा होरी नाच्ने, खेल्ने गर्छन् । टोलीले जहाँ खेले त्यहि घरबटीले खाना खुवाउने गर्छन् ।
राना थारु समुदायका ज्येष्ठ नागरिक कल्लु रानाले होरीमा फागु माग्ने, आफ्नो गरगहाना लगाएर, पहिरनमा होरी नाच्ने चलन रहेको बताए ।
टिकाको आठौँ दिन नै खख्डेहरा हो । खख्डेहरा भनेको होरीको बिदाईको दिनका रूपमा पनि लिइन्छ । खख्डेहराका दिन बिहानै उठेर गाउँ भरी हरेक घरबाट एक एक जना मान्छे खख्डेहरा फुटाउन जाने गर्दछन । खख्डेहरा फुटाउन जाँदा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा, सतनजा (सातअन्न), शुद्ध पानी, कन्डी (सुकेको गोबर) आदी चाहिन्छ ।
घर घरबाट एका बिहानै खप्टोमा (माटोको भाँडोमा) सुइरो गाँसिएका मट्याँग्रा बोक्दै आबओ रिउ रोगधोग, भूत ब्यार भन्दै घर घरबाट खख्डेहरा लगेर जाने चलन छ । खख्डेहरा गाउँभन्दा बाहिर गाउँलेले ल्याएको सामग्री एक जुट पारी गाउँको प्रधान वा चाकर (गाउँको चौकीदार)ले फुटाउने चलन छ । खख्डेहरा फुटाइ सके पछि घर आइन्छ र आउने बेलामा खख्डेहरालाई फर्केर नहेर्ने चलन छ । फर्केर हेर्दा दानव (राक्षस) देखिन्छ भनेर रानाथारु पुर्खाको भनाई छ । खख्डेहरा फुटाएर आउनेहरू फेरि होलीमा जलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, पधना, अगुवा लगायत सबैको घर घरमा पुगी सबैलाइ सो खरानीको टिका लगाई आशीर्वाद दिँदै खुसीयाली मनाउने गर्छन् र गाउँका प्रतिष्ठित व्यक्तिबाट दक्षिणा पनि उठाउने गर्छन् साथै सो दिन गाउँभरिका मान्छेले आफ्नो खेतीपाती, गोरु गाडा समेत बन्द गर्नुपर्ने चलन छ। कसैले अटेर गरी गोरु गाडा चलाएमा डण्ड (जरिवाना) गर्ने चलन रहिआएको छ ।
सदियौँ देखि तराईका जंगलको छेउछाउ गाउँमा बस्दै आइरहेका रानाथारु भूत पिचास, दरिद्र, महामारी जस्ता निकै ठुला विपत्तिसँग जुद्धै आइरहँदा होरी नाचमा सबै महिनौँ रमाउँदा काममा बाधा का साथै थुप्रै सामाजिक समस्या, रोग दरिद्र, भूत पिचास, स्वास्थ्य लगायत सबै क्षेत्रमा समस्या निस्तेज गर्न सामूहिक रूपमा खख्डेहरा फुटाउने चलन छ । खख्डेहरा सबै समस्या (भूतप्रेत)को प्रतीक पनि हो जो गाऊँ भन्दा बाहिर/जंगल गएर आजकै दिन फुटाउने/कुट्ने गरिन्छ ।
तराई क्षेत्रमा गर्मी बढे सँगै महामारी, मलेरिया, प्रकोप बढ्ने समय सुरु भएकाले ती प्रकोपहरु नआउन भनेर सामूहिक रूपमा आदिवासी रानाथारुहरुले खख्डेहराको नाममा ती सबै समस्यालाई कुटेर फुटाइ गाउँमा मनोबल बढ्ने हुँदा भूत पिचास रहित सुखी समाजको लागि खख्डेहरा पर्वको प्रचलन भएको रानाथारु जानकारहरू बताउँछन् ।
दुवारी रानाले यो पर्व परम्परादेखि नै चलिआएको बताए । ‘होली सकिएपछि धुलो पखाल्न यो पर्व मनाइन्छ,’ उनले भने ।
यस दिन मिठो खानपिन, लत्ताकपडा लगाउने गरिन्छ । खख्डेहराको आसवरमा सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने गर्छ। । रानाथारु समुदायको पर्वमा सरकारले बिदा दिने गरेको एक मात्र बिदा खखडेहरा पर्वको बिदा हो । केहि वर्ष देखि प्रदेश सरकारले बिदा दिन थालेको हो ।
रानाथारु समुदायका अगुवा युवा भानुप्रताप रानाले केटाकेटी जागिरहन्, केटाकेटीमा संस्कृति रहिरहोस जस्तो अघिल्लो पुस्ताले महसुस गर्ने गरेको बताए ।
‘स्कुल पढ्दै गरेका केटाकेटीले संस्कृति जगाउनु पर्छ भनेर सिकेका छन् तर कतिपय केटाकेटीलाई दस्तखत पनि आउँदैन उनीहरू भुलिहाल्छन्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण