मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रसुवाका मतदान केन्द्रको निरीक्षण, व्यवस्थापन चुस्त

बुधबार, २० फागुन २०८२, २३ : ०४
बुधबार, २० फागुन २०८२

सारांश

  • रसुवाका मतदान केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
  • अपाङ्गता भएका र ज्येष्ठ नागरिकका लागि मतदान सहज बनाइनेछ ।
  • मतदान केन्द्रमा ३४८ कर्मचारी खटिएका छन् भने सुरक्षा व्यवस्था कडा पारिएको छ।

रसुवा ।  जिल्लाका ३६ स्थानमा रहेका ५७ वटा मतदान केन्द्रमा मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लाभरका सबै मतदान केन्द्रमा आवश्यक भौतिक संरचना, कर्मचारी व्यवस्थापन तथा सुरक्षा प्रबन्ध मिलाई सकिएको जिल्ला निर्वाचन अधिकारी राजन रायले जानकारी दिए ।

तयारीका क्रममा अशक्त, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई सहज र सम्मानजनक रूपमा मतदान गर्न विशेष व्यवस्था मिलाइएको जानकारी दिँदै उनले मतदान प्रक्रियालाई सरल, सुरक्षित बनाउन समय–समयमा सर्वदलीय बैठक, उम्मेदवारसँगको टेलिफोन संवाद गरी व्यवस्थित बनाउन आवश्यक समन्वय बताए ।

यहाँ मतदान केन्द्रमा खटाइएका ३४८ कर्मचारी तोकिएको कार्यक्षेत्रमा पुगिसकेका छन् । मतदान सम्पन्न गराउन राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतलाई मतदान अधिकृत तोकिएका छन् । तीमध्ये सात जना मतदान अधिकृतसहित ८७ जना महिला कर्मचारी विभिन्न केन्द्रमा खटाइएको सहायक निर्वाचन अधिकृत सरिता रिजालले बताइन् ।

जिल्लामा नौ वटा राजनीतिक दल र तीन स्वतन्त्र गरी १२ उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ २० हजार ३२९ महिलासहित कुल ४१ हजार ४७१ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने उनले जानकारी दिइन् ।

कारागारमा रहेका कैदीबन्दीका लागि छुट्टै अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ । सुरक्षाका दृष्टिले जिल्लामा हालसम्म पूर्ण शान्त रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मतदाता, मतदानस्थल तथा आमनागरिकको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा निर्वाचन प्रहरी परिचालनमा छन् । समग्र सुरक्षामा राष्ट्रिय अनुसन्धान विभाग सक्रिय रहेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए । उनले भयरहित वातावरणमा निर्धक्क भई मतदान गर्न सबै मतदातालाई आग्रह गरेका छन् ।

यसैबिच यहाँका विभिन्न मतदान केन्द्रको निरीक्षण कार्य सम्पन्न भएको छ । निरीक्षणमा मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेती, सहायक निर्वाचन अधिकृत रिजाल, प्रमुख कोष नियन्त्रक एवं अनुगमन अधिकृत विन्ध्या कार्की, सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी, जिल्ला निर्वाचन अधिकारी राय, नेपाल पत्रकार महासङ्घका जिल्ला सभापति केशवप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप