मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कलाकारको मतदान

कलाकारले मतदान गरेपछि के भने ?

बिहीबार, २१ फागुन २०८२, १२ : ४९
बिहीबार, २१ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा कलाकारहरूले उत्साहपूर्वक मतदान गरे र सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट गरे।
  • हरिवंश आचार्य, दीपाश्री निरौला, विजय बराल, कोमल वली, शिव परियार, रिस्ता बस्नेत, प्रकाश सपुत, आशिका तामाङ, रचना रिमाल, सुरक्षा पन्त, रेखा थापा, गरिमा शर्मा र जितु नेपाललगायत कलाकारहरूले मतदान गरे।
  • कलाकारहरूले मतदानपछि लोकतन्त्रलाई बलियो बनाउन र देशको समृद्धिका लागि आह्वान गरे।

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि मतदान जारी छ । मतदाताहरूले उत्साहपूर्वक मतदान गरिरहेका छन् । कलाकर्मीहरू पनि आ–आफ्ना मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन् । 

मतदानपछि उनीहरूले मसी लगाएको औंला तथा मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै आफ्ना फ्यानहरूलाई पनि मतदान गर्न र लोकतन्त्रलाई बलियो बनाउन प्रेरित गरिरहेका छन् । 

हरिवंश आचार्य (अभिनेता)

वरिष्ठ कलाकार हरिवंश आचार्यले बूढानीलकण्ठ नगरपालिका-५, विष्णुमती पुलस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन् , ‘मैले मेरो लोकतान्त्रिक अधिकारको प्रयोग गरी मतदान गरे ।

आशा गर्छु यो निर्वाचनले देशले खोजेको असल र सक्षम नेतृत्व पाउने छ । साथै जटिल परिस्थितिबाट देशलाई निर्वाचन गराई निकासको बाटोमा पुर्‍याइदिनुभएकोमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई बधाई तथा धन्यवाद ।’

दीपाश्री निरौला (अभिनेत्री)

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले विराटनगर महानगरपालिका-७ गहेलीस्थित आदर्श बालिका माध्यमिक विद्यालयबाट मतदान गरेकी छन् । उनी मोरङ क्षेत्र-६ की मतदाता हुन् ।

Deepa Shress Vote

मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले नागरिकको कर्तव्य पूरा गरेको उल्लेख गरेकी छन् ।  

विजय बराल (अभिनेता)

‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बराल सर्लाही क्षेत्र नम्बर १ का मतदाता हुन् । उनले लालबन्दीस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले ‘आजको मत भोलिको परिवर्तन’ भनेका छन् । मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनी लेख्छन्, ‘आज मैले मेरो अधिकार मात्र होइन, जिम्मेवारी पनि पूरा गरें ।’

कोमल वली (गायिका)

गायिका कोमल वलीले दाङको तुलसीपुर उपमहानगरपालिका-८, कृष्णमन्दिर मतदान केन्द्रबाट मतदान गरेकी छन् । देश निर्माण र समृद्धिका पक्षमा आफ्नो अमूल्य मतदान गरेको उनले उल्लेख गरेकी छन् ।

Komal Oli Vote

मतदान गरेको तस्बिर सार्वजनिक गर्दै वली लेख्छिन्, ‘मतदान केवल अधिकार होइन, राष्ट्र निर्माण र आगामी पुस्ताको भविष्यप्रतिको जिम्मेवारी पनि हो ।’ उनले मतदान गर्दै सबैलाई मतदान गर्न सुझाएकी छन् ।

शिव परियार (गायक)

गायक शिव परियारले काठमाडौं क्षेत्र नम्बर २ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गरेपछि तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन्, 'प्रतिनिधिसभा निर्वाचन २०८२ मा काठमाडौं क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार र समानुपातिक उमेदवारलाई मतदान गरियो । नेपालको एक नागरिकको हैसियतले यही कामना गर्दछु- अबको युगमा हाम्रो नेपाल देशले पनि सबै आयामबाट विकसित अन्य राष्ट्रसरह काँचुली फेर्न सकोस् ।'

Shiva Pariyar Vote

रिस्ता बस्नेत (अभिनेत्री)

अभिनेत्री रिस्ता बस्नेतले मतदान गरेपछि आशा अनि विश्वासका साथ मतदान गरेको सामाजिक सञ्जालमा लेखेकी छन् । 

Rista Basnet Vote

प्रकाश सपुत (गायक)

गायक तथा अभिनेता प्रकाश सपुतले बागलुङको काठेखोला–३ धम्जास्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि उनी सामाजिक सञ्जालमा लेख्छन्, ‘स्थिरता, शान्ति र समृद्धिको आशासहित मत राखियो । अधिकार र जिम्मेवारी पूरा गरियो ।’ प्रकाश रास्वपाबाट समानुपातिक उम्मेदवार समेत छन् । 

Prakash Saput Vote

आशिका तामाङ (अभिनेत्री)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धादिङ-१ मा उम्मेदवार बनेकी आशिका तामाङ अभिनेत्री समेत हुन् । उनले बिहीबार आफ्नो निर्वाचन क्षेत्रबाट मतदान गरेकी छन् । 

रचना रिमाल (गायिका)

गायिका रचना रिमालले झापा क्षेत्र नम्बर १ को श्री जनज्योति आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी छन् । सामाजिक सञ्जालमा मतदानपछिको तस्बिर पोस्ट उनी लेख्छिन्, ‘मैले त मतदान गरें, हजुरले गर्नुभयो ?’

सुरक्षा पन्त (अभिनेत्री)

अभिनेत्री सुरक्षा पन्तले बुटवलको मिलन चोकस्थित सडक विभाग मतदान केन्द्रबाट मतदान गरेकी छन् । रुपन्देही क्षेत्र नम्बर २ की मतदाना सुरक्षाले भोट हालेपछि समाजिक सञ्जालमा लेखेकी छन्, ‘सम्पूर्ण नेपालको शान्ति, सुरक्षा र कसैले पनि आँखा लगाउन नसक्ने बेजोड एकताको धरातलमा रही भावी पुस्ताले बारम्बार मागिरहेको अदम्य प्रगतिको कामना गर्दै बहुमूल्य मत पठाइयो । हामी सबैको मत समयसार्थक रहोस् ।’

रेखा थापा (अभिनेत्री) 

अभिनेत्री रेखा थापा काठमाडौं क्षेत्र नम्बर ४ की मतदाता हुन् । उनले मतदानपछि सबैलाई मिलेर र मिलाएर देश बनाउन शुभकामना दिएकी छन् ।  उनी लेख्छिन्, ‘मैले क्षेत्र नम्बर ४ काठमाडौंबाट मतदान गरे । तपाईँहरू कहाँबाट दिँदै हुनुहुन्छ ?’

Rekha Thapa Vote

गरिमा शर्मा (अभिनेत्री)

अभिनेत्री गरिमा शर्माले चितवनको रत्ननगर नगरपालिका-१० स्थित बाराही मावि मतदान केन्द्रबाट मतदान गरेकी छन् । मतदान गर्दा औंलामा लगाइएको मसी देखाएको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले लेखेकी छन्, ‘मेरो औंलामा लागेको यो निलो मसी साधारण दाग होइन, मेरो जिम्मेवारीको चिनो हो, मेरो आवाज, मेरो अस्तित्व, मेरो देशप्रतिको पहिलो कसम हो ।’

Garima Sharma Vote

शिवशंकर रिजाल ‘जोगिन्दर’ (हास्य कलाकार)

हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले सर्लाहीको बरथहवा नगरपालिका-१५, पिपरभित्तास्थित जनता आवासीय माध्यमिक विद्यालयबाट मतदान गरेका छन् । मतदान गर्दै उनले राष्ट्र निर्माणमा सहभागी हुँदै योगदान गरेको बताएका छन् ।

Shiva Shankar Rijal

जितु नेपाल (अभिनेता)

अभिनेता जितु नेपालले काठमाडौं क्षेत्र नम्बर २ बाट मतदान गरेका छन् । मतदानपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘सुटिङका लागि धनकुटाबाट धरान, धरानबाट विराटनगर, विराटनगरबाट काठमाडौं क्षेत्र नम्बर २ मा आएर भोट हालिसकेपछि यति त लेख्नै मन लाग्यो ।

Jitu Nepal Vote

हामीले एक असल नागरिकको कर्तव्य पूरा गर्‍यौं । अब चुनावअघि गरेका बाचा पूरा गर्ने जिम्मा तपाईंहरूको ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप