आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

मकवानपुरमा ५९ प्रतिशत मतदान

बिहीबार, २१ फागुन २०८२, २० : १०
बिहीबार, २१ फागुन २०८२

काठमाडौँ । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुर जिल्लामा ५९ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक छ । ३ लाख १५ हजार ३३४ कुल मतदातामध्ये १ लाख ८६ हजार ५५१ (५९ प्रतिशत)ले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । जसमा पुरुष ९६ हजार ६३४, महिला ८९ हजार ९१२ र अन्य पाँचजना छन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा ९५ हजार ३१० मतदाताले मतदान गरेका छन् । जसमा पुरुष ४७ हजार ६७०, महिला ४७ हजार ६३६ र अन्य ४ जना छन् । मकवानपुर-२ मा ९१ हजार २४१ जनाले मतदान गरेका छन् । जसमा पुरुष ४८ हजार ९६४, महिला ४२ हजार २७६ र अन्य १ जना छन् । 

मकवानपुरका दुई अस्थायी गरी ३७६ मतदान केन्द्रमा निर्वाचन गराउन ३ हजार ३६६ कर्मचारी खटिएका थिए । मकवानपुरमा उक्त निर्वाचनका लागि १६७ मतदान स्थल रहेका थिए । हाल मतपेटिका संकलन कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । राति अबेरसम्म सबै केन्द्रबाट मतपेटिका संकलन गरिसक्ने तयारी गरिएको उनले बताइन् । 

मकवानपुरका आठ मतदान केन्द्रमा सिधै सडक पहुँच नपुगेका कारण निर्वाचन सामग्री ढुवानी तथा मतदानपछि मतपेटिका संकलनका लागि छिमेकी जिल्लाको सडक प्रयोग गर्नुपर्ने भएकाले समय लाग्ने उनले बताइन् । बकैया गाउँपालिकाको तीन र राक्सिराङ गाउँपालिकाको पाँचवटा मतदान केन्द्रमा मकवानपुरबाट बाटो नहुँदा छिमेकी जिल्ला रौतहट बारा र चितवनको सडक मार्ग प्रयोग गर्नुपर्ने भएको हो । 

मतपेटिका संकलन गरी शुक्रबार बिहान ७ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको उनको भनाइ छ । उक्त सर्वदलीय बैठक सम्पन्न भएलगतै मतगणना सुरु गरिनेछ । मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना स्थल भुटानदेवी माविलाई तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी माविको दुईवटा ब्लकमा मतगणना गर्ने गरी तयारी गरिएको र सोही अनुसार मतगणना स्थलको सुरक्षा व्यवस्था मिलाइएको उनले बताइन् । मतगणना स्थलमा सीसीटीभी क्यामेरा सहित तार जाली लगाइएको छ । 

मुख्य निर्वाचन अधिकृत श्रेष्ठका अनुसार मकवानपुर-१ को मतगणना भुटनदेवी माध्यमिक विद्यालयको उत्तरतर्फको भवन (ब्लक ए) मा गरिनेछ भने मकवानपुर-२ को मतगणना सोही विद्यालयको (ब्लक बी) मा गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप