मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एन्फा चुनावी मैदानमा नेम्वाङ र केसीको भिडन्त, चैत १३ मा नयाँ कार्यसमिति चुनिने

शुक्रबार, २२ फागुन २०८२, १४ : १३
शुक्रबार, २२ फागुन २०८२

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि आगामी चैत १३ गते निर्वाचन हुने भएको छ। एन्फा निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार वर्तमान अध्यक्ष पंकज विक्रम नेम्वाङ र पूर्व वरिष्ठ उपाध्यक्ष दीर्घबहादुर केसीबिच अध्यक्ष पदका लागि कडा प्रतिस्पर्धा हुने देखिएको हो। 

निर्वाचन आयोगको निर्देशनपछि रोकिएको प्रक्रियालाई समितिले नयाँ गति दिँदै उम्मेदवारहरूको प्रारम्भिक नामावली समेत सार्वजनिक गरेको छ। समितिका सदस्य सचिव लोकेन्द्र ओलीका अनुसार फागुन २२ गते उम्मेदवार र मतदाताहरूको नामावली प्रकाशन गरिएको छ। 

यस नामावलीमाथि दाबी विरोधका लागि फागुन २८ गतेसम्मको समय दिइएको छ भने अन्तिम नामावली फागुन ३० गते सार्वजनिक गरिनेछ। अध्यक्षबाहेक अन्य पदमा पनि उम्मेदवारहरूको संख्या उल्लेख्य रहेको छ। एक वरिष्ठ उपाध्यक्षका लागि दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खातिवडा चुनावी मैदानमा उत्रिएका छन्।

त्यसैगरी, चार उपाध्यक्ष पदका लागि १० जना र १३ कार्यकारी सदस्य पदका लागि २८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। दुई महिला कार्यकारी सदस्यका लागि सरिला श्रेष्ठ मलेकु, बिन्द्रा देवान, कमला हिराचन ठकुरी र लिलामाया थापाले उम्मेदवारी दिएका छन्। निर्वाचनका लागि विभिन्न जिल्ला संघ र क्लबहरूबाट प्रतिनिधित्व गर्ने ८७ जना मतदाताहरूको नामावली पनि निश्चित गरिएको छ।

लामो समयदेखि विवाद र अन्योलमा रहेको एन्फाको आन्तरिक राजनीति यो निर्वाचनपछि स्थिर हुने अपेक्षा गरिएको छ। निर्वाचन समितिले आवश्यक परे कार्यतालिकामा सामान्य हेरफेर गर्न सकिने जनाए पनि चैत १३ गतेलाई नै मतदानको मुख्य मिति तोकेको छ। फुटबल प्रेमीहरूले यो निर्वाचनलाई नेपाली फुटबलको भावी दिशा तय गर्ने महत्त्वपूर्ण मोडका रूपमा हेरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप