शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचनः गण्डकी

गण्डकीका १८ क्षेत्रः कांग्रेसले २ वटा जित्यो, अन्य धेरै स्थानमा रास्वपाको जबर्जस्त अग्रता

शुक्रबार, २२ फागुन २०८२, २२ : १६
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • गण्डकी प्रदेशका दुई निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भयो, जसमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए।
  • बाँकी १६ क्षेत्रमध्ये गोरखा १ को मतगणना सुरु भएको छैन, तर अन्य क्षेत्रमा रास्वपाका उम्मेदवारको अग्रता छ।
  • लमजुङमा रास्वपा, कांग्रेस र एमालेबीच प्रतिस्पर्धा रोचक छ, भने म्याग्दीमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

पोखरा । गण्डकीका १८ मध्ये २ वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भैसकेको छ ।

अन्तिम नतिजा सार्वजनिक भएका दुवै क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । मुस्ताङबाट योगेश गौचन थकाली विजयी हुँदा मनाङबाट टेकबहादुर गुरुङले बाजी मारे । योगेशले १५ सयभन्दा बढी मतान्तर कायम गरेका छन् भने टेकबहादुरले १९ सय भन्दा बढीको अन्तरमा जित दर्ता गरे । 

बाँकी १६ मध्ये गोरखा १ को मतगणना अझै सुरु भएको छैन । गणना सुरु भएका सबैजसो निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् । कास्कीका तीनवटै क्षेत्रमा रास्वपा अगाडि छ । क्षेत्र नम्बर १ मा खडकराज पौडेल, २ मा उत्तम पौडेल र ३ मा विना गुरुङले भारी अन्तरले अग्रता लिइरहेका छन् । 

तनहुँ–१ मा पनि रास्वपाकै स्वर्णिम वाग्ले र २ मा श्रीराम न्यौपानेको अग्रता छ । नवलपुर–१ मा रास्वपाका राजन गौतमले अग्रता लिँदा २ मा पनि रास्वपाकै मनिष खनालको अग्रता छ । स्याङजा–१ मा रास्वपाकै धनन्जय रेग्मीले अन्तर बढाइरहेका छन् ।

लमजुङमा प्रतिस्पर्धा रोचक छ । रास्वपा, कांग्रेस र एमालेले आलोपालो अग्रता लिइरहेका छन् । यद्यपि, पछिल्लो समय रास्वपाले अग्रतालाई बढाएको छ । गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी अगाडि छन् । उनले कांग्रेसका प्रकाशचन्द्र दवाडी र नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेलाई पछि छाडेका हुन् । 

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मत अन्तरले अग्रता लिइरहेका छन् । पर्वतमा पनि रास्वपाकै सागर भुसालले अग्रता लिएका छन् । यहाँ कांग्रेस र एमालेले पनि उनलाई नजिकबाटै पछ्याइरहेका छन् ।

बागलुङ–१ मा सुशील खड्का र २ मा सोम शर्माले लिड गरेका छन् । दुवै रास्वपाका उम्मेदवार हुन् । स्याङजा–२ मा झिनो अन्तरले एमालेका खिमबहादुर खड्काको अग्रता छ । नजिकबाटै कांग्रेसका भागवत प्रकाश मल्ल र रास्वपाका झविलाल डुम्रेले पछ्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप