शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कञ्चनपुर–१

केरा किसान जनक अब संघीय सांसद

शनिबार, २३ फागुन २०८२, २३ : ५८
शनिबार, २३ फागुन २०८२

सारांश

  • कञ्चनपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जनकसिंह धामीले चुनाव जितेका छन्, जसले पुराना दलका नेताहरूलाई पराजित गरे।
  • दार्चुलाका धामीले विद्यार्थी राजनीति, शिक्षण पेशा र वैदेशिक रोजगारीपछि कृषिमा लागेर चुनाव जितेका हुन्।
  • उनले सिंहदरबारको फोहोर सफा गर्न र नीतिगत भ्रष्टाचार अन्त्य गर्न आफू सांसदमा निर्वाचित भएको बताएका छन्।

धनगढी । पुराना राजनीतिक दलहरूको गढ मानिने कञ्चनपुर निर्वाचन क्षेत्र नकम्बर १ मा यसपटक नयाँ अनुहारको उदय भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनकसिंह धामीले पुराना दलका नेताहरूलाई पछि पार्दै २४ हजार ३३२ मत ल्याएर निर्वाचित भएका हुन् । को हुन् त जनकसिंह धामीरु जनकसिंह धामीको जन्म २०२७ साल पुस २५ गते दार्चुलाको शैल्यशिखर नगरपालिका–६ मा भएको थियो । 

उनको बाल्यकाल पहाडमै बित्यो । कक्षा ९ सम्म दार्चुलाको शंकरपुर मावि पस्तीमा अध्ययन गरेका उनी २०४२ सालमा तराई कञ्चनपुर झरेका हुन् । 

कञ्चनपुर आएपछि २०४४ सालमा उनले एसएलसी उत्तीर्ण गरे । उच्च शिक्षाका लागि उनले स्नातक तहको अध्ययन गरे पनि अन्तिम वर्षको परीक्षा दिने बेला घरायसी र विविध कारणले पढाइ पूरा गर्न सकेनन् । 

२०४६ सालको जनआन्दोलन ताका उनी विद्यार्थी राजनीतिमा सक्रिय थिए । आन्दोलनका क्रममा जेलसमेत परे । राजनीतिसँगै उनले जीविकोपार्जनका लागि शिक्षण पेसा पनि अपनाए । करिब ४ वर्ष शिक्षण पेसामा बिताएपछि उनी वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगे ।

कोरियाको बसाइ र त्यहाँको विकास देखेर फर्किएका धामीले नेपालमै केही गर्ने सोच बनाए । स्वदेश फर्किएपछि उनले कृषिलाई आफ्नो मुख्य पेसा बनाए । हाल उनी बेलाडाँडी गाउँपालिका–४ मा बसोबास गर्दै आएका छन् । उनको मुख्य पेसा केराखेती हो । पुनर्वास नगरपालिकामा करिब ७–८ बिघा जमिनमा व्यावसायिक केरा खेती गरिरहेका छन् । 

उनी जिल्लामा एक व्यवसायी किसानका रूपमा चिनिन्छन् । उनले केरा पकाउने च्याम्बरसमेत राखेर स्थानीय किसानका केरा खरिद–बिक्रीको व्यवस्थापन गर्दै आएका छन् । 

धामीको पारिवारिक र व्यक्तिगत राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेससँग जोडिएको थियो । २०४६ सालको आन्दोलनमा नेपाल विद्यार्थी संघ नेविसंघबाट सक्रिय भएका उनी लामो समय कांग्रेसको राजनीतिमा आबद्ध रहे । पुराना दलहरूको कार्यशैली, भ्रष्टाचार र कुशासन देखेर उनी दिक्क भए । ‘देशमा व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन । पुराना पार्टीका नेताहरू भ्रष्टाचारमा लिप्त भएको र देश पछि परेको देख्दा मन पोल्थ्यो,’ धामी भन्छन्, ‘यही वितृष्णाले मलाई परिवर्तनको पक्षमा उभिन प्रेरित गर्‍यो ।’ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापना भएलगत्तै उनी यसमा आबद्ध भए । विगत ३ वर्षदेखि उनी रास्वपाको संगठन विस्तारमा निरन्तर खटिएका थिए । थारू र राना समुदायको बाहुल्यता रहेको कञ्चनपुर–१ मा अन्य समुदायबाट आएर चुनाव जित्नु उनका लागि चुनौतीनै थियो । परिवर्तनको एजेन्डा र उनको व्यक्तिगत छवीले उनलाई संसद भवनसम्म पुर्‍याएको बताउँछन् । 

चुनाव जितेपछि धामीले पुराना नेताहरूले जस्तो असम्भव आश्वासन नबाँड्ने बताएका छन् । 

‘विगतमा नेताहरूले चुनाव जित्नका लागि तिम्रो छोरालाई जागिर लगाइदिन्छु’ बिजुलीको पोल म गाडिदिन्छु, बाटो म बनाइदिन्छु’ जस्ता खुद्रा र झुटो सपना बाँडे,’ उनी भन्छन्, ‘सांसदको काम विधि र नीति निर्माण गर्ने हो । म सिंहदरबारको फोहोर सफा गर्न र नीतिगत भ्रष्टाचार अन्त्य गर्न गएको हुँ । माथि केन्द्रमा सफा भयो भने तल आफैं सफा हुन्छ ।’ 

उनले आफू नीति निर्माणको तहमा पुगेर काम गर्ने तर स्थानीय समस्याहरूबाट नभाग्ने बताएका छन् । 

कञ्चनपुर–१ का मुख्य समस्याहरूमा उनी जानकार छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आरक्षबाट विस्थापित भएकाहरूको समस्या ४९ वर्षदेखि समाधान हुन सकेको छैन । धामीले यसलाई मानवीय समस्याको रूपमा चित्रण गर्दै समाधानका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । 

यस्तै, दोदा र चौधर नदीले बर्सेनि गर्ने कटान र डुबानको समस्या, अव्यवस्थित बसोबास, सुकुमबासी समस्या र भारतसँगको खुला सिमानाका कारण हुने अबैध व्यापार तथा सुरक्षा चुनौतीलाई व्यवस्थापन गर्नु आफ्नो प्राथमिकता रहेको उनले बताए । 'सिमानामा नियमन छैन, किसानले मल पाउँदैनन्, आरक्ष पीडितहरू त्रिपालमुनि छन् । यी समस्या समाधान गर्न म इमान्दारीपूर्वक लाग्नेछु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप