शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
जनप्रतिनिधि

रमेशकुमार सापकोटा : बस कन्डक्टरदेखि संसद्सम्म !

तीन दशक लामो कांग्रेस-एमालेको किल्ला भत्काउँदै कर्णालीबाट एक्लो रास्वपा प्रतिनिधि
आइतबार, २४ फागुन २०८२, १३ : ००
आइतबार, २४ फागुन २०८२

सारांश

  • सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले कांग्रेस र एमालेको किल्ला भत्काउँदै भारी मतले जित हासिल गरे।
  • सापकोटाले १४ हजारभन्दा बढी मतान्तरले चुनाव जित्दा कांग्रेस र एमालेका स्थापित नेताहरू पराजित भए।
  • बस कन्डक्टरको रूपमा करियर सुरु गरेका सापकोटाले कर्णाली प्रदेशमा रास्वपाको प्रतिनिधित्व गर्दै संसद यात्रा तय गरे।

सुर्खेत । सुर्खेत नेकपा एमाले र नेपाली कांग्रेसको बलियो किल्ला मानिन्छ। यहीँबाट कांग्रेसका नेताहरू पार्टीको शीर्ष स्थानमा मात्र नभई संसदीय राजनीतिमा पनि हाबी हुँदै आएका थिए। 

पूर्णबहादुर खड्काले कांग्रेसको कार्यवाहक सभापति हुँदै दर्जनौँ साना-ठुला मन्त्रालयको नेतृत्व गरिसकेका छन्। हृदयराम थानी, शिवराज जोशी जस्ता प्रभावशाली नेताहरू पनि केन्द्रमै मन्त्री भइसकेका छन्। यता, एमालेभित्र यामलाल कँडेल हाल केन्द्रीय सचिव र कर्णाली प्रदेशका मुख्यमन्त्री छन् भने नवराज रावत स्वास्थ्य राज्यमन्त्रीसम्म बनेका थिए।

सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा २०४८ सालदेखि यिनै दुई दलबिच कडा प्रतिस्पर्धा हुँदै आएको थियो। कहिले एमालेले त कहिले कांग्रेसले चुनाव जित्ने गरेका थिए। सशस्त्र युद्धबाट आएको नेकपा माओवादी केन्द्र यहाँ तुलनात्मक रूपमा कमजोर छ। २०६४ सालको संविधानसभा निर्वाचनमा तीन क्षेत्र हुँदा एउटा सिट जिते पनि त्यसपछि माओवादीले यहाँ सफलता हात पार्न सकेको छैन।

तर, यसपटकको प्रतिनिधिसभा निर्वाचनमा यी पुराना र स्थापित दलहरूलाई चकित पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको छ। सुर्खेत क्षेत्र नम्बर २ बाट रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटा अत्यधिक मतका साथ विजयी भएका छन्।

दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेत-२ राजनीतिको केन्द्रबिन्दु हो। प्रदेश राजधानी वीरेन्द्रनगरसहित पश्चिमका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिका यसै क्षेत्रमा पर्छन्। जहाँ राजधानी वीरेन्द्रनगर विकासको अग्रस्थानमा छ, त्यहीँ पश्चिम क्षेत्र भने अझै पनि दुर्गमता र विकासको पर्खाइमा छ।

दुई फरक जीवनशैली र अवस्था रहेको यस क्षेत्रका नागरिकले नयाँ दललाई अनुमोदन गर्लान् भन्ने कांग्रेस-एमालेले कल्पनासम्म गरेका थिएनन्। किनकि, वडादेखि केन्द्रसम्मै यहाँ यिनै दुई दलका प्रतिनिधिहरूको बाहुल्यता छ र उनीहरूका आफ्नै बलिया कोर एरियाहरू छन्। तर, रास्वपाका सापकोटाले आश्चर्यजनक रूपमा १४ हजार ४ सय ३४ मतान्तरले चुनाव जिते। उनले ३० हजार ८ सय २६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारायण कोइरालाले १६ हजार ३ सय ९२ मत मात्रै पाए।

यही क्षेत्रबाट एमालेले मुख्यमन्त्री पाएको छ भने वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख पनि एमालेकै छन्। तर, एमालेका उम्मेदवार कुलमणि देवकोटाले १३ हजार १ सय ५५ मत मात्रै प्राप्त गरे। चौथो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले ४ हजार ५ सय ८७ मत पाए।

  • स्वयम् रमेशले नै सोचेका थिएनन् चुनाव जितिन्छ भनेर

चुनाव जितेका रमेश आफैँले पनि जितको कल्पना गरेका थिएनन्। कांग्रेस र एमालेले त उनलाई प्रतिस्पर्धी मानेकै थिएनन्। धेरैको आकलन थियो- मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबिच नै हुनेछ।

तर, रातोपाटीको स्थलगत रिपोर्टिङका क्रममा भित्रभित्रै सर्वसाधारण मतदाता नयाँ दलप्रति आकर्षित भएको पाइएको थियो। कतिपय मतदाता यस्ता पनि थिए, जसलाई यो क्षेत्रबाट उम्मेदवार को छन् भन्ने नै थाहा थिएन, तर उनीहरू ‘भोट घण्टीमै दिने हो’ भन्थे।

यद्यपि, यो मौन लहरको भेउ पुराना दलले पाउन सकेनन्। उनीहरूले आफ्नो कोर एरिया मान्ने गरेका वडाहरूबाटै रास्वपाले दोब्बर मत पायो।

ramesh sapkota

२०७९ को निर्वाचनमा कांग्रेसका हृदयराम थानीले यही क्षेत्रबाट चुनाव जितेका थिए। उनको आफ्नै वडा वीरेन्द्रनगर-१ हो। त्यसैगरी, प्रदेशसभा (क) बाट निर्वाचित एमाले नेता यामलाल कँडेलको वडा वीरेन्द्रनगर-४ हो। यी वडाहरूलाई उनीहरूले आफ्नो गढ मान्थे। तर, तिनै वडाबाट रास्वपालाई उनीहरूको भन्दा दोब्बर मत प्राप्त भयो।

विजयी सापकोटा यसअघि कांग्रेसमै आबद्ध थिए। पार्टीको वीरेन्द्रनगर नगर कमिटीको सचिवसम्म पुगेका उनी पछि असन्तुष्ट हुँदै रास्वपामा प्रवेश गरेका थिए। हाल उनी रास्वपाको जिल्ला सभापति पनि हुन्। उनी उम्मेदवार बन्दा कांग्रेसको धेरै भोट काटिने र आफूहरू सुरक्षित हुने आकलन एमाले पंक्तिको थियो।

तर, अन्तिम नतिजा आउँदा पूर्वसहकर्मीहरू- कांग्रेसका नारायण र रास्वपाका रमेशबिच नै मुख्य प्रतिस्पर्धा भयो। कुनै बेला सुर्खेत नगर विकास समितिमा नारायण अध्यक्ष र रमेश सदस्य रहेर सँगै काम गरेका थिए।

अन्ततः रमेशले अत्यधिक मतले चुनाव मात्र जितेनन्, पुराना दलको वर्षौँदेखिको गढ नै भत्काइदिए। उनको पक्षमा माहौल बन्नुमा रास्वपाले आफ्नो चुनावी बाचापत्र कर्णालीबाटै सार्वजनिक गर्नुले पनि ठुलो भूमिका खेलेको देखिन्छ।

विजयी भएपश्चात् शनिबार सिटी हल बाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘म धेरै खुसी छु। मैले कल्पना गरेभन्दा धेरै मत पाएँ। जनताको यो अनुमोदनलाई सम्मान गर्दै म काम गर्नेछु।’

  • बस कन्डक्टरदेखि संसद्सम्मको यात्रा

नवनिर्वाचित सांसद रमेशकुमार सापकोटा वीरेन्द्रनगरको साटाखानीमा जन्मिएका हुन्। कक्षा ११ सम्मको अध्ययन गरेका उनी लामो समयदेखि यातायात क्षेत्रमा सक्रिय छन्। कक्षा १० को परीक्षा दिएपछिको खाली समयमा आफ्ना ठुलोबुबाको बसमा कन्डक्टरको रूपमा काम गर्न थालेका थिए। यातायात क्षेत्रमा उनको सङ्घर्षको कथा त्यहीँबाट सुरु भएको उनी बताउँछन्।

उच्च शिक्षाका लागि उनी वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा भर्ना त भए, तर गाडीको कामले गर्दा उतैतिर मन तानियो। पढाइभन्दा बढी समय बसमै बित्न थाल्यो। केही समय कन्डक्टर बनेका उनी पछि बस चालक नै बने। तर, २०६० सालतिर रोजगारीको खोजीमा उनी साउदी अरब हान्निए।

साउदीको एउटा पानी कम्पनीमा करिब ४० महिना काम गरेर उनी स्वदेश फर्किए। त्यसपछि फेरि डेढ वर्षका लागि कतार गए। कतारमा पनि सवारी चालककै रूपमा काम गरेका रमेश २०६६ सालमा नेपाल फर्केपछि सुर्खेतमै गाडी चलाउने योजना बुन्न थाले।

‘सुरुमा त कामै पाइएन, केही महिना कामको खोजीमा भौँतारिएँ,’ सङ्घर्षका दिन सम्झिँदै उनी भन्छन्, ‘पछि पोखरा रुटमा चल्ने बसमा काम पाएँ, केही वर्ष उतै बित्यो।’

त्यसपछि उनले सुर्खेत-काठमाडौँ रुटमा बस चलाउन थाले। २०६३ सालतिर नै सुर्खेतमा काँक्रेविहार यातायात सञ्चालनमा आइसकेको थियो। २०६८ सालमा उनले आफैँ एउटा बस किने र व्यवसायीका रूपमा उक्त समितिमा आबद्ध भए। समितिको सहसचिव हुँदै उनी हाल त्यसको अध्यक्ष छन्। अहिले उक्त समितिअन्तर्गत दर्जनौँ सवारीसाधन सञ्चालनमा छन्।

कुनै बेला बस कन्डक्टरबाट आफ्नो करियर सुरु गरेर यातायात व्यवसायीका रूपमा स्थापित भएका रमेश अब भने देशको सर्वोच्च कानुन निर्माण गर्ने थलो, संसद्मा देखिनेछन्।

कर्णाली प्रदेशमा रहेका प्रतिनिधिसभाका १२ वटै निर्वाचन क्षेत्रमध्ये रास्वपाबाट चुनाव जित्ने सापकोटा एक्ला व्यक्ति हुन्। उनले अठोट गर्दै भने, ‘संसद्मा म सुर्खेतको मात्र होइन, समग्र कर्णालीकै बुलन्द आवाज बन्नेछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप