कानुन कार्यान्वयनमा खारिए, अब कानुन निर्माण गर्ने थलोमा
सारांश
- निर्वाचनमा अवकाशप्राप्त ८ जना सुरक्षाकर्मीमध्ये ५ जनाले संसद यात्रा तय गरेका छन्।
- पूर्व प्रहरी अधिकृतहरू विक्रम सिंह थापा, विश्वराज पोखरेल, शम्भुप्रसाद ढकाल, गोविन्द पन्थी र राजुनाथ पाण्डेले चुनाव जिते।
- पूर्व आईजीपी सर्वेन्द्र खनाल र ध्रुवबहादुर प्रधान लगायतका उम्मेदवारहरू निर्वाचनमा पराजित भए।
काठमाडौं । कानुन कार्यान्वयनको जिम्मेवारीबाट अवकाश पाएका ८ जना पूर्व सुरक्षाकर्मी यसपटक चुनावी मैदानमा थिए । तीमध्ये ५ जनालाई जनताले अनुमोदन गरेर संसद्को यात्रा तय गराएका छन् । प्रत्यक्षतर्फ निर्वाचित हुनेमा पूर्व प्रहरी नायब निरीक्षक (सई)देखि अतिरिक्त महानिरीक्षक (एआईजी)सम्म छन् । तर दुईजना पूर्व आईजीपीहरुले भने निर्वाचनमा पराजय व्यहोरेका छन् ।
प्रहरीमा ‘सिंघम’ अधिकृतको छवि बनाएका पूर्व एसएसपी विक्रम सिंह थापा, कपिलवस्तु-२ बाट निर्वाचित भएका छन् । पूर्व प्रहरी अधिकृतहरु विश्वराज पोखरेल, शम्भुप्रसाद ढकाल ‘शम्भु सुस्केरा’, गोविन्द पन्थी र काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखबाट राजीनामा दिएका राजुनाथ पाण्डेले चुनाव जितेका छन् । सबै उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव जितेका हुन् । चुनावमा पराजय भोगेका पूर्व आईजीपीद्वय सर्वेन्द्र खनाल, ध्रुवहादुर प्रधान र पूर्व प्रहरी सहायक निरीक्षक विजयबहादुर स्वाँरले रास्वपाका उम्मेदवारहरुसँग पराजित भएका छन् ।
कानुन कार्यान्वय गर्ने सरकारको मुख्य युनिट प्रहरीमा लामो समय काम गरेर खारिएका उनीहरु अब कानुन बनाउने सर्वोच्च निकाय संसद्मा पुगेका छन् । पूर्व एआईजी विश्वराज पोखरेल ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । आफ्नो गृहजिल्लाको चुनावी मैदानमा पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई झिनो मत अन्तरले पराजित गरेका छन् । निर्वाचन आयोगका अनुसार पोखरेलले पाँच मतले लुइँटेललाई हराएका हुन् । पोखरेलले १३ हजार ९५३ मत पाएका छन् ।
राजुनाथ पाण्डेले काठमाडौं क्षेत्र नम्बर–३ बाट कुलमान घिसिङलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका छन् । पाण्डेले १८ हजार ७५७ मत ल्याउँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङ ११ हजार १७१ मतमा रोकिए । सुरक्षाकर्मीबाट सांसद बनेका पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहसँग निकट छन् ।
नेपाल प्रहरीभित्र ‘सिंघम’ भनेर चिनिन्थे विक्रम सिंह थापा । काठमाडौं प्रहरी प्रमुख हुँदा एसएसपीबाट बर्दी खोलेका थापा कपिलवस्तु-२ बाट प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएका छन् । कांग्रेसबाट सिफारिस भएका थापा रास्वपामा प्रवेश गरेर निर्वाचनको मैदानमा होमिएका थिए । उनले कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यलाई हराए । थापा २७ हजार ६३५ मत सहित निर्वाचित भएका हुन् ।
शम्भुप्रसाद ढकाल ‘शम्भु सुस्केरा’ले झापा–४ मा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुलाई हराए । ढकालले ४३ हजार ६३१ मत ल्याउँदा एलपी सावाँ ११ हजार ९६८ मतमा सीमित भए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित ढकाल रास्वपा झापाका जिल्ला सचिव पनि हुन् ।
पूर्व डीएसपी गोविन्द पन्थी गुल्मीको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचन लडेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोविन्द पन्थीले मनोनयन दर्ता गराएका हुन् । गुल्मीमा पन्थीले एमालेका उम्मेदवार गोकर्ण विष्ट, कांग्रेसका भुवन श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतसँग प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा पन्थी भिजिट भिसा मार्फत हुने असुली र मानव तस्करीबारे अनुसन्धान गरेर चर्चा कमाएका थिए । भ्रष्टाचार र असुलीतन्त्र विरुद्धको लडाइँ थप मजबुद बनाउन आफूले गुल्मीबाट उम्मेदवारी दिएको पन्थीले रातोपाटीलाई बताए । उनले भने, ‘मेरो लडाइँ भ्रष्टाचार र असुलतन्त्र विरुद्ध हुनेछ ।’
पूर्व डीएसपी गोविन्द पन्थी गुल्मीको निर्वाचन क्षेत्र नम्बर-२ बाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लडेका पन्थीले एमालेका उम्मेदवार गोकर्ण विष्टलाई पराजित गरेका छन् ।
‘हेभीवेट’ उम्मेदवार गोकर्ण विष्ट एमालेका उपाध्यक्ष हुन् । गोविन्द पन्थीले १६ हजार ९६७ मत ल्याउँदा विष्ट १६ हजार ४०६ मतमा रोकिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा पन्थी भिजिट भिसा मार्फत हुने असुली र मानव तस्करीबारे अनुसन्धान गरेर चर्चा कमाएका थिए ।
पूर्व असई विजयबहादुर स्वाँर कैलाली–२ मा कांग्रेसबाट निर्वाचन लडेका थिए । उनलाई रास्वपाका केपी खनालले पराजित गरेका छन् । स्वाँर ७ हजार २१३ मत सहित चौथो स्थानमा रोकिए । उनी नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष हुन् ।
पूर्व आईजीपी ध्रुवबहादुर प्रधान नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर–२ बाट पराजित भए । उनी रास्वपाका उम्मेदवार नरेन्द्रकुमार गुप्तासँग पराजित भए । प्रधान ४ हजार ६९१ मत सहित चौथो स्थानमा सीमित हुँदा गुप्ताले ४४ हजार १३८ मत ल्याए । प्रधान यसअघि ३४ हजार ७६४ मत सहित त्यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् ।
अर्का पूर्व आईजीपी सर्वेन्द्र खनाल बारा–४ मा पराजित भए । राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष समेत रहेका खनाल प्रतिस्पर्धीहरुको बिचमा १० औं नम्बरमा सीमित भएका छन् । उनले ४६४ मत ल्याए । उक्त क्षेत्रमा रास्वपाका रहबर अन्सारीले ४१ हजार २०० मत ल्याएर चुनाव जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण