बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

चुनावी मैदानमा पूर्वसईदेखि आईजीपीसम्म

बिहीबार, ०८ माघ २०८२, १४ : ३०
बिहीबार, ०८ माघ २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा आधा दर्जन पूर्व सुरक्षाकर्मीहरू प्रतिस्पर्धामा उत्रिएका छन्।
  • पूर्व आईजीपी सर्वेन्द्र खनाल, ध्रुवबहादुर प्रधानलगायत विभिन्न पदबाट अवकाश पाएका व्यक्तिहरू चुनावी मैदानमा छन्।
  • काठमाडौँ, पश्चिम नवलपरासी, बारा, ओखलढुङ्गा, कपिलवस्तु, झापा र गुल्मीमा पूर्व सुरक्षाकर्मीहरूले उम्मेदवारी दिएका छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आधा दर्जन पूर्व सुरक्षाकर्मीहरू मैदानमा उत्रिएका छन् । नेपाल प्रहरीबाट अवकाश पाएका प्रहरी नायव निरीक्षक (सई) देखि पूर्व आईजीपीसम्म मैदानमा छन् । 

प्रहरीका पूर्व आईजीपीद्वय सर्वेन्द्र खनाल र ध्रुवबहादुर प्रधान चुनावको मैदानमा छन् । देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन दर्ता गर्दा पूर्व सुरक्षाकर्मीहरू आधा दर्जन मैदानमा देखिएका हुन् ।

काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख (एसएसपी) राजुनाथ पाण्डेले राजीनामा दिएर फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन रोजेका छन् । पाण्डेले काठमाडौँ क्षेत्र नम्बर–३ बाट मनोनयन दर्ता गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट चुनाव लडेका पाण्डे महानगरका निवर्तमान मेयर बालेन शाहसँग निकट छन् । रास्वपाका वरिष्ठ नेता साह झापाको क्षेत्र नम्बर–५ बाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्दैछन् ।

काठमाडौँ–३ मा पाण्डेले नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्याल, नेकपा (एमाले) का रामेश्वर फुयाँल, नेपाली कम्युनिस्ट पार्टीका नीरज लामा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा. सुन्दरसिंह बोहोरासँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रहरीका पूर्व आईजीपी ध्रुवबहादुर प्रधान पश्चिम नवलपरासी क्षेत्र नम्बर–२ बाट चुनाव लड्दैछन् । २०७९ मा भएको निर्वाचनमा प्रधान सो क्षेत्रबाट निर्वाचित भएका थिए । चुनाव जितेर कानुन मन्त्रीसमेत भइसकेका प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष हुन् । 

नेपाल प्रहरीका १५ औँ महानिरीक्षक उनी २०५३ देखि २०५४ मंसिरसम्म प्रहरीको नेतृत्वमा थिए । अच्युतकृष्ण खरेललाई हटाएर आईजीपी बनेका प्रधान आफूविरुद्ध अख्तियारले छानबिन सुरु गरेपछि राजनीतिमा लागेका थिए ।

पश्चिम नवलपरासी–२ मा उनले नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल, नेकपा (एमाले) का लेखनाथ खरेल, नेपाली कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेल र रास्वपाका उम्मेदवार नरेन्द्र गुप्तासँग प्रतिस्पर्धा गर्नेछन् । यसअघि सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रधानले देवेन्द्रराज कँडेललाई १९ हजार ५९५ मत अन्तरले हराएका थिए ।

अर्का पूर्व आईजीपी सर्वेन्द्र खनाल बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ बाट चुनाव लडेका छन् । खनाल समुन्नत नेपाल पार्टीका सभापति हुन् । समुन्नत नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी एकीकृत भएर चुनावमा होमिएको छ । सो दलले बाँसुरी चुनाव चिन्ह आफ्नो निर्वाचन चिन्ह राखेको छ । 

खनाल यसअघि नेकपा (एमाले) बाट काठमाडौँ–६ र तनहुँमा निर्वाचन लडेका थिए । ३० वर्ष प्रहरी सेवामा रहँदा अत्याचारविरुद्ध लडेको उल्लेख गर्दै खनालले भने, ‘अब संसद्मा गएर भ्रष्टाचारविरुद्ध लड्ने योजना छ ।’

खनाल प्रहरीको २६ औँ आईजीपी हुन् । निर्वाचनमा उनले आफ्नो क्षेत्रमा कांग्रेसका श्यामबाबु गुप्ता, एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अजय कुशवाहा, रास्वपाका रहवर अन्सारी र राप्रपाका दिलीप शर्मा नेपालसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा छन् । आईजीपी हुने प्रतिस्पर्धामा धिरज प्रताप सिंहसँग पछि परेका पोखरेल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका थिए । 

रास्वपाबाट टिकट लिएर उनी आफ्नो गृहजिल्ला ओखलढुंगाको चुनावी मोर्चामा गएका हुन् । पोखरेलले कांग्रेसका कुमार लुइँटेल, नेकपा (एमाले) की अस्मिता थापा र नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङसँग प्रतिस्पर्धा गर्नेछन् ।

पूर्व एसएसपी विक्रमसिंह थापा कपिलवस्तु–२ बाट प्रतिस्पर्धामा छन् । कांग्रेसबाट सिफारिस भएका थापा रास्वपामा प्रवेश गरेर निर्वाचनको मैदानमा होमिएका हुन् । उनले रास्वपाबाट उम्मेदवारी दर्ता गराएका छन् । 

२०७९ मा उनी कांग्रेसबाट लुम्बिनी प्रदेशसभामा उम्मेदवार थिए । त्यसबेला उनी पराजित भए । जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड गरेर अवकाश पाएका सिंह प्रहरीमा निडर स्वभावका अधिकृतको रूपमा परिचित थिए ।

चुनावी प्रतिस्पर्धामा प्रहरी नायव निरीक्षक (सई) बाट सेवा निवृत्त भएका शम्भुप्रसाद ढकाल पनि छन् । शम्भु सुस्केरा भनेर चिनिने ढकाल झापा–४ बाट चुनावमा होमिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार ढकाल रास्वपा झापाका जिल्ला सचिव पनि हुन् । 

झापा–४ मा उनले कांग्रेसका देउमान थेबे, नेकपा (एमाले) का एलपी साँवा, नेपाली कम्युनिस्ट पार्टीका पुरुषोत्तम चुँडाल र राप्रपाका भक्तिप्रसाद सिटौलासँग प्रतिस्पर्धा गर्नेछन् ।

पूर्व डीएसपी गोविन्द पन्थी गुल्मीको निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचन लडेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोविन्द पन्थीले मनोनयन दर्ता गराएका हुन् । गुल्मीमा पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट, कांग्रेसका भुवन श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतसँग प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा पन्थी भिजिट भिसा मार्फत हुने असुली र मानव तस्करीबारे अनुसन्धान गरेर चर्चा कमाएका थिए । 

भ्रष्टाचार र असुलीतन्त्रविरुद्धको लडाइँ थप मजबुत बनाउन आफूले गुल्मीबाट उम्मेदवारी दिएको पन्थीले रातोपाटीलाई बताए । उनले भने, ‘मेरो लडाइँ भ्रष्टाचार र असुलीतन्त्रविरुद्ध हुनेछ ।’

यसैगरी नेपाली कांग्रेसबाट कैलाली–२ मा उम्मेदवार रहेका विजय बहादुर स्वार २०५६ सालमा प्रहरीको असईबाट सेवानिवृत्त भएका हुन् । उनी हाल स्वाँर नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्षसमेत रहेका छन् ।

१. राजु पाण्डे : काठमाडौँ–३, रास्वपा

२. ध्रुवबहादुर प्रधान : पश्चिम नवलपरासी–२, राप्रपा

३. सर्वेन्द्र खनाल : बारा–४, समुन्नत नेपाल पार्टी

४. विश्वराज पोखरेल : ओखलढुङ्गा, रास्वपा

५. विक्रमसिंह थापा : कपिलवस्तु–२, रास्वपा

६. शम्भुप्रसाद ढकाल : झापा–४, रास्वपा

७. गोविन्द पन्थी : गुल्मी–२, रास्वपा

८. विजय बहादुर स्वार : कैलाली–२, नेपाली कांग्रेस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप