बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गौरादहका मेयरमाथि कुटपिटको घटनाबारे प्रहरी के भन्छ ?

कुटपिटमा संलग्न सिटौला प्रहरी नियन्त्रणमा, अभद्र व्यवहारमा मुद्दा चलाइने
सोमबार, २५ फागुन २०८२, १८ : ५२
सोमबार, २५ फागुन २०८२

विराटनगर । झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि आफ्नै निवास गौरादह ५ मा भएको आक्रमणको घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिँदै दोषीमाथि कडा कानुनी कारबाही अघि बढाएको छ । आइतबार साँझ मेयर सुवेदीको घरमै पुगेर हातपात गर्ने ३४ वर्षीय भीष्म सिटौलालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले घटनाको पुष्टि गर्दै दोषीमाथि कानुनी प्रक्रिया सुरु भइसकेको जानकारी दिइन् । एसपी खड्काका अनुसार पक्राउ परेका सिटौलामाथि अभद्र व्यवहार अन्तर्गत निवेदन दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

‘हामीलाई अभद्र व्यवहारको जाहेरी आएको छ र मान्छे हाम्रो नियन्त्रणमा छ । घटनाको सीसीटीभी फुटेज पनि प्रष्ट छ, जसमा मदिरा सेवन गरी होहल्ला गरेको र हातपात गरेको देखिएको छ । कानुनी प्रक्रिया अनुसार म्याद थप गरी अनुसन्धानलाई अगाडि बढाएका छौँ,’ उनले भनिन् । 

यस्तै, इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालका अनुसार प्रारम्भिक अनुसन्धानबाट सिटौलाले मदिरा सेवन गरी मेयरको घरमा पुगेर अभद्र व्यवहार गरेको खुलेको छ । प्रहरीले घटना लगत्तै सक्रियता देखाउँदै सिटौलालाई पक्राउ गरेको थियो ।

प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा सिटौला मेयरको गेटमा पुगेर विवाद गरिरहेको देखिन्छ । अडियो संवादमा मेयर सुवेदीले पनि आफूले प्रहरीलाई फोन गर्न खोज्दा सिटौलाले आक्रमण गरेको बताए । प्रहरीले सोही फुटेज र मेयरको जाहेरीलाई मुख्य प्रमाणका रूपमा लिएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका सिटौला मेयरका छिमेकी हुन् र उनी केही समयअघि मात्रै जापानबाट फर्किएका थिए । उनले के–कति कारणले जनप्रतिनिधिमाथि हातपात गरे भन्नेबारे प्रहरीले थप बयान लिने काम गरिरहेको छ । प्रहरी प्रमुख खड्काले यस्ता उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने र कुनै पनि हालतमा नछाड्ने प्रतिबद्धता जनाइन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप