मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

आकाशगङ्गाको केन्द्रमा भेटियो तारा बन्ने ‘कच्चा पदार्थ’

मङ्गलबार, २६ फागुन २०८२, १५ : ५९
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • वैज्ञानिकहरूले आकाशगङ्गाको केन्द्रको ग्यास र धुलोको स्पष्ट तस्बिर खिचेका छन्, जसले तारा र ग्रह निर्माण हुने कच्चा पदार्थ देखाउँछ।
  • यो नक्साले आकाशगङ्गाको मध्य भागमा रहेको सेन्ट्रल मोलिकुलर जोनको वास्तविक अवस्था चित्रण गर्दछ, जहाँ ग्यासका बादलहरू ब्ल्याक होलको वरिपरि घुमिरहेका छन्।
  • नक्सामा ७० भन्दा बढी अणुहरू फेला परेका छन् र यस अध्ययनले पृथ्वी र सौर्यमण्डल कसरी बने भनेर बुझ्न मद्दत गर्नेछ।

लिभरपुल । अन्तरिक्ष वैज्ञानिकहरूले हाम्रो आफ्नै आकाशगङ्गाको केन्द्रमा रहेको ग्यास र धुलोको विशाल साम्राज्यको पहिलो पूर्ण र स्पष्ट तस्बिर उतारेका छन्। एसेस नाम दिइएको यस अन्तर्राष्ट्रिय परियोजनाले तारा र ग्रहहरू निर्माण हुने कच्चा पदार्थका रूपमा चिनिने ग्यासहरूको वितरणलाई थ्री-डी प्रविधिमा देखाएको छ। 

यसअघि आकाशगङ्गाका साना टुक्राहरूको मात्रै अध्ययन हुने गरेकोमा पहिलो पटक पूरै केन्द्रको टप-डाउन नक्सा तयार भएको हो। लिभरपुल जोन मोर्स युनिभर्सिटीका प्रोफेसर स्टिभन लङमोरका अनुसार यो सफलता कुनै एउटा ठुलो सहरको फरक-फरक कुनाको फोटो खिच्नुको साटो हेलिकप्टरबाट पूरै सहरको नक्सा तयार पारे जस्तै हो। 

यसले आकाशगङ्गाको मध्य भागमा रहेको सेन्ट्रल मोलिकुलर जोनको वास्तविक अवस्था चित्रण गरेको छ। यो क्षेत्र पृथ्वीको नजिकका क्षेत्रहरूभन्दा निकै तातो, सघन र उथलपुथलपूर्ण छ।

  • निलो र रातो रङको रहस्य

सार्वजनिक गरिएको नक्सामा देखिएका रङहरू मानव आँखाले देख्न सक्ने वास्तविक रङ भने होइनन्। वैज्ञानिकहरूले ग्यासको गति र रासायनिक संरचना बुझ्न विभिन्न रङको प्रयोग गरेका छन्। रातो रङले विशाल ग्यासका बादलहरू एकआपसमा ठोक्किएर भएको हलचललाई संकेत गर्छ भने निलो रङले शान्त र स्थिर क्षेत्रलाई जनाउँछ। 

यस नक्सामा वैज्ञानिकहरूले ७० भन्दा बढी विभिन्न प्रकारका अणुहरू फेला पारेका छन्, जसमा हाइड्रोजनदेखि लिएर मिथानोल र इथानोल सम्मका जटिल जैविक यौगिकहरू छन्।

आकाशगङ्गाको केन्द्रमा हाम्रो सूर्यभन्दा ४० लाख गुणा ठुलो स्याजिटेरियस ए-स्टार नामक भीमकाय ब्ल्याक होल रहेको छ। जसरी बाथटबको पानी प्वालबाट भित्र छिर्नुअघि वरिपरि घुम्छ, त्यसैगरी ग्यासका बादलहरू यो ब्ल्याक होलको वरिपरि घुमिरहेका छन्। वैज्ञानिकहरूका अनुसार यो क्षेत्र अर्बौँ वर्षअघिको ब्रह्माण्ड जस्तै देखिन्छ।

प्रोफेसर लङमोरले यसलाई ब्रह्माण्डले दिएको प्रयोगशाला भनेका छन्। साढे चार अर्ब वर्षअघि जब हाम्रो सौर्यमण्डल बन्दै थियो, त्यतिबेलाको ग्यासको अवस्था अहिले आकाशगङ्गाको केन्द्रमा देखिएको ग्याससँग मिल्दोजुल्दो छ। त्यसैले यो नक्साको अध्ययनबाट पृथ्वी र सौर्यमण्डल कसरी बने र जीवनका लागि आवश्यक प्रोटिन बनाउने तत्त्वहरू कहाँबाट आए भन्ने कुरा पत्ता लाग्ने वैज्ञानिकहरूको अपेक्षा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप