बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

दुई गुन्डा नाइकेको संयोग : चक्रेले चुनाव हारे, मनाङे जेलबाट निस्किए

बुधबार, २७ फागुन २०८२, १६ : १५
बुधबार, २७ फागुन २०८२

सारांश

  • दीपक मनाङे, जसलाई राजीव गुरुङ पनि भनिन्छ, जेलबाट रिहा भएका छन्, उनलाई चक्रे मिलनको हात छिनाएको आरोप लागेको थियो।
  • मनाङेलाई २०६१ मा खुकुरी हानेको अभियोगमा ५ वर्षको जेल सजाय सुनाइएको थियो, उनले १ वर्ष ४ महिना कैद भुक्तान गरे।
  • चक्रे मिलन, जसले गोरखा २ बाट चुनाव हारेका थिए, मनाङे रिहा भएको २ दिन नबित्दै जमानत जफत हुने गरी चुनाव हारेका थिए।

पोखरा । दीपक मनाङे अर्थात् राजीव गुरुङ राजनीतिमा रहुन्जेल मिलन गुरुङ उर्फ चक्रे मिलन खासै देखिएनन् । अघिल्लो चुनावमा मनाङे मनाङबाट प्रदेश सभाबाट सर्वसम्मत निर्वाचित हुँदा चक्रे गोरखाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न खोज्दै थिए ।

तर, प्राविधिक कारणले उनी उम्मेदवार हुन पाएनन् । मनाङे चुनाव जितेर पटक–पटक मन्त्री भए । कर्तव्य ज्यान मुद्दाले मनाङे जेल पुगे । यहीबिचमा चक्रे राजनीतिमा बढी सक्रिय भए, गोरखा २ बाट उम्मेदवार बने । एमालेबाट टिकट लिएर चुनाव लड्न गएका चक्रेले नराम्रोसँग हार व्यहोरे । 

संयोग यस्तो पर्‍यो कि चक्रेले चुनाव हारेको २ दिन नबित्दै जेल परेका मनाङे कैद भुक्तान गरेर कारागारमुक्त भएका छन् । मनाङे उनै चक्रेको हात छिनालेको आरोपमा दोषी ठहरिएर जेल परेका थिए । डिल्लीबजार कारागारबाट उनी बुधबार छुटेका हुन् ।

२०६१ बैशाख ३१ गते काठमाडौँको महाराजगञ्जमा खुकुरी हानेको अभियोगमा मनाङेलाई ५ वर्ष जेल सजाय सुनाइएको थियो । उनले भुक्तान गर्न बाँकी १ वर्ष ४ महिना कैद पूरा गरेर बुधबार निस्किएका हुन् । पटक पटक गरेर त्यसअघि नै २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका थिए । उनी पछिल्लो समय २०८१ कात्तिक २७ गते पक्राउ परेका हुन्। 

उनलाई २० प्रतिशत कैद छुट गरिएको छ । चक्रे चाहिँ जमानत समेत जफत हुने गरी चुनाव हारेका हुन् । उनले गोरखा २ बाट ३ हजार मत प्राप्त गरेका थिए । यहाँबाट चुनाव जितेका रास्वपाका कविन्द्र बुर्लाकोटीले २६ हजार ६ सय ६० मत पाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप