सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एनआरएनए अध्यक्षमा ३ जना र महासचिवमा २ जनाको उम्मेदवारी (नामावलीसहित)

बिहीबार, २८ फागुन २०८२, ०७ : ५९
बिहीबार, २८ फागुन २०८२

सारांश

  • एनआरएनएको १२औं महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको छ।
  • अध्यक्ष पदमा तीन र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ।
  • महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको छ। 

बालुवाटारस्थित निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार संस्थाको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ।

अध्यक्ष पदका लागि रोविनप्रसाद शेरचन (जापान), डा. हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) ले मनोनयन दर्ता गराएका छन्। त्यस्तै, महासचिवका लागि चिरञ्जीवी खड्का (चेक रिपब्लिक) र रामशरण सिम्खडा (यूके) चुनावी मैदानमा उत्रिएका छन् । 

निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार ६ जना उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षका आकांक्षीहरूमा ददिबल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रबिन गुरुङ, पूर्णचन्द्र बानियाँ, रोजिना प्रधान राई र रोशन थापा रहेका छन्। यस्तै महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ भने युवा उपाध्यक्षमा भीमसेन थापा, मदनराज पौडेल र ओमान गौचनबीच प्रतिस्पर्धा हुने भएको छ।

सचिव पदका लागि ८ जना, कोषाध्यक्षमा २ जना र सह-कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। यसका साथै विभिन्न क्षेत्रीय संयोजक र उपसंयोजक पदहरूमा पनि मनोनयन दर्ता भएको छ।
एनआरएनएको महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। 

निर्वाचन आयुक्त तेज बहादुर कार्कीका अनुसार संस्थाको निर्वाचन नियमावली २०२१ बमोजिम उम्मेदवारहरूको विवरण प्रकाशित गरिएको हो। यो सूची सार्वजनिक भएपनि नेतृत्वका लागि सहमतिको प्रयास समेत भइरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप