बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने एनएक्सटी समिटमा रेनु दाहालले सम्बोधन गर्ने

बिहीबार, २८ फागुन २०८२, १० : २४
बिहीबार, २८ फागुन २०८२

सारांश

  • भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा हुने एनएक्सटी समिट २०२६ मा वक्ताको रूपमा सहभागी हुने भएकी छिन्।
  • सम्मेलनमा विश्वभरका नीति निर्माता, बौद्धिक व्यक्तित्व र राजनीतिक नेतृत्वको जमघट हुनेछ, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि रहनेछन्।
  • अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन, भारतका मन्त्रीहरू र विभिन्न देशका सांसदहरू पनि सम्मेलनमा सहभागी हुनेछन्।

नयाँ दिल्ली । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन्। भारतीय संसद्को राज्य सभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै उक्त सम्मेलनमा विशिष्ट वक्ताको रूपमा आमन्त्रण गरेका हुन्। 

आगामी मार्च १२, १३ र १४ तारिखमा नयाँ दिल्लीस्थित भारत मण्डपममा आयोजना हुने यस भव्य सम्मेलनमा विश्वभरका नीति निर्माता, बौद्धिक व्यक्तित्व र राजनीतिक नेतृत्वको जमघट हुनेछ। भारत सरकार र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको चासोको केन्द्रमा रहेको यस सम्मेलनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। 

त्यस्तै, अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मेलनमा सम्मानित अतिथिका रूपमा रहनेछन्। भारतका रेल तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह लगायतका उच्च पदस्थ अधिकारीहरूले पनि कार्यक्रममा आफ्नो धारणा राख्ने तय भएको छ।

यो सम्मेलनलाई भारतले विश्वस्तरीय विचार मन्थन गर्ने वार्षिक क्यालेन्डर इभेन्टका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यसपटकको संस्करणमा हार्वर्ड, एमआईटी, अक्सफोर्ड र स्ट्यानफोर्ड जस्ता विश्वका उत्कृष्ट २५ विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूका साथै ३० भन्दा बढी देशका सांसदहरूको सहभागिता रहनेछ। विज्ञान र प्रविधिको क्षेत्रमा हुने विशेष सत्र एनएक्सटी इन साइन्समा प्रसिद्ध भौतिकशास्त्री डा. ब्रायन ग्रीनको समेत सहभागिता रहने आयोजकले जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप