कम्युनिस्ट पार्टीहरू आदर्शअनुसार चल्न नसक्दा चुनावी हार : विद्या भट्टराई
सारांश
- निर्वाचनको नतिजापछि एमाले नेतृ विद्या भट्टराईले पार्टीको कार्यशैली र नेताहरूको व्यवहारमा विचलन आएको बताइन्।
- भट्टराईले कम्युनिस्ट पार्टीहरू आफ्नो दर्शन र सिद्धान्तअनुसार चल्न नसक्दा निराशाजनक नतिजा आएको टिप्पणी गरिन्।
- उनले आगामी दिनको सुखद यात्राका लागि विगतका गल्तीहरूको वस्तुगत समीक्षा गर्नुपर्नेमा जोड दिइन्।
काठमाडौँ। निर्वाचनको परिणामपछि नेकपा एमालेभित्र आन्तरिक समीक्षाको लहर सुरु भएको छ। यसै क्रममा एमाले नेतृ तथा पूर्वमन्त्री विद्या भट्टराईले कम्युनिस्ट पार्टीहरू आफ्नो मूल दर्शन र सिद्धान्तअनुसार चल्न नसक्दा वर्तमानको निराशाजनक परिणाम भोग्नुपरेको टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै भट्टराईले कम्युनिस्टहरू परिवर्तनको पक्षधर हुन् भन्ने मान्यता दर्शन र आदर्शवादी व्यवहारबाट निर्माण हुने भए पनि व्यवहारमा त्यस्तो देखिन नसक्नु नै मुख्य समस्या रहेको औँल्याएकी छन्। नेतृ भट्टराईले पार्टी सञ्चालनको शैली र नेताहरूको व्यवहारमा आएको विचलनले गर्दा आम जनताको सोच र पार्टीको कार्यशैलीबिच तालमेल मिल्न नसकेको बताएकी छन्।
उनले आजको परिणामलाई विगतका कार्यशैली र व्यवहारगत त्रुटिहरूको उपजका रूपमा व्याख्या गर्दै अब रचनात्मक संवादको आवश्यकता रहेकोमा जोड दिएकी छन्। विगतका गल्तीहरूलाई ढाकछोप गर्नुभन्दा पनि वस्तुगत समीक्षा गरेर मात्रै आगामी दिनको सुखद यात्रा तय गर्न सकिने उनको ठहर छ।
भट्टराईले केवल आरोप-प्रत्यारोपमा नअल्झिएर गम्भीर आत्ममन्थन गर्न नेतृत्वलाई आग्रह गरेकी छन्। कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिन र जनताको विश्वास पुनः प्राप्त गर्नका लागि आदर्श र व्यवहारलाई सँगै लैजानुको विकल्प नरहेको उनको सन्देश छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण