शेरचनद्वारा अध्यक्षको उम्मेदवारी फिर्ता, वरिष्ठ उपाध्यक्ष बनाउने सहमति
सारांश
- एनआरएनएको नेतृत्व सहमतिमा चयन हुने भएको छ, रोविन शेरचनले अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिए।
- शेरचनले हेमराज शर्मालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन्, उनलाई वरिष्ठ उपाध्यक्ष बनाइने सहमति भएको छ।
- अध्यक्ष बद्री केसी र महेश श्रेष्ठसहितको वार्तामा सहमति जुटेपछि शेरचनले उम्मेदवारी फिर्ता लिएका हुन्।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमै चयन गरिने भएको छ । सोहीअनुसार अध्यक्षका प्रत्याशी रोविन शेरचनले यसअघि दर्ता गराएको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले अध्यक्षका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहितको उच्चस्तरीय वार्तामा सहमतिका लागि शेरचन अध्यक्षको दौडबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा शेरचनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ । सहमतिअनुसार उनले शुक्रबार नै वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेका छन् ।
‘मेरो सुरुदेखि नै भनाइ संस्था एकताबद्ध हुनुपर्छ भन्ने थियो । सोहीअनुसार संस्थाको हितका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको छु । सहमतिअनुसार वरिष्ठ उपाध्यक्षमा मैले मनोनयन दर्ता गराएको छु’, उनले भने । उनलाई १३औँ महाधिवेशनमा अध्यक्ष बनाउने सहमति समेत भएको स्रोतको दाबी छ ।
सहमति बनेपछि अध्यक्ष श्रेष्ठले अहिलेको आवश्यकता सहमति भएकाले सोहीअनुसार अघि बढिएको बताउँदै अहिले शेरचनले फिर्ता लिएको र अन्य आकाङ्क्षीहरूलाई पनि मिलाएर चुनाव नगर्नेतर्फ आफूहरूको ध्यान रहेको बताए । यसअघि अध्यक्षमा शेरचन र शर्मासहित रविन बज्राचार्यले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । बज्राचार्यको पनि उम्मेदवारी फिर्ता लिन पहल भइरहेको बताइएको छ । यस्तै अन्य पदमा पनि आकांक्षीहरुलाई उम्मेदवारी फिर्ता लिन लगाएर सहमतिको पहल भइरहेको श्रेष्ठको भनाइ छ ।
तर महासचिवका उम्मेदवार रामशरण सिम्खडाले आफूले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । उनले आफू महासचिव चुनाव लड्न तयार रहेको भन्दै सहमति नमान्ने बताए । महासचिवमा चिरन्जिवी खड्काको पनि उम्मेदवारी रहेको छ ।
केही महिनाअघि विभिन्न समूहमा विभक्त एनआरएनए एकीकृत भएको थियो भने सोही एकीकृत एनआरएनएको शनिबारदेखि १२ औँ महाधिवेशन सुरु हुँदैछ । यसैबिच सहमतिको वातावरण बनेसँगै निर्वाचन समितिले निर्वाचन कार्यतालिका हेरफेर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण