शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एमालेभित्र बढ्दो विवाद

एमालेमा ‘रिसेट’बहसः संरचना र कार्यशैलीको सवालमा शीर्ष नै ओर्लिए आरोप–प्रत्यारोपमा

आइतबार, ०१ चैत २०८२, १८ : ०७
आइतबार, ०१ चैत २०८२

सारांश

  • नेकपा एमालेका नेताहरूबीच निर्वाचनको नतिजालाई लिएर आरोप प्रत्यारोप चलिरहेको छ, जसले पार्टीभित्रको आन्तरिक कलहलाई उजागर गरेको छ।
  • पार्टीभित्रै नेताहरूले नेतृत्वको कार्यशैली र संरचनामाथि प्रश्न उठाउँदै 'रिसेट' को अवधारणा अघि सारेका छन्, भने केहीले सत्य बोल्दा कारबाहीको धम्की आएको बताए।
  • निर्वाचनमा हार बेहोरेपछि नेताहरूले एक अर्कालाई दोषारोपण गरिरहेका छन्, भने केही नेताहरूले पार्टीको एकता जोगाउन र गुमेको जनविश्वास पुनः आर्जन गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लज्जास्पद हार बेहोरेको नेकपा एमालेमा अहिले निर्वाचन परिणामलाई लिएर कार्यकर्तासहित शीर्ष नेताहरूबिच आरोप–प्रत्यारोपको शृङ्खला जारी छ । 

२७५ सदस्यीय प्रतिनिधि सभामा एमालेले प्रत्यक्ष र समानुपातिक गरी जम्मा २५ सिटमा जित हासिल गरेको थियो । यो नतिजाप्रति असन्तुष्टि जनाउँदै एमालेका नेता–कार्यकर्ताहरूले पार्टी संरचना र नेतृत्व तथा कार्यशैलीमाथि प्रश्न उठाउनका साथै संरचना ‘रिसेट’को अवधारणा अघि सारेका छन् । 

नेतृत्व र संरचना ‘रिसेट’को आवाज उठाउनेहरूविरुद्ध संस्थापन पक्ष खनिँदै नेतृत्वको बचाउमा उत्रिएको अवस्था छ । पार्टी पराजयको सवालमा शीर्ष नेताहरू नै सामाजिक सञ्जालमार्फत एक–अर्काको उछित्तो काढ्न सक्रिय देखिएका छन् । यही क्रममा एमाले महासचिव शंकर पोख्रेल र उपमहासचिव योगेश भट्टराईबिच व्यक्तिगत तहमै ओर्लेर आरोप–प्रत्यारोप चलिरहेको देखिन्छ । 

महासचिव पोख्रेल र उपमहासचिव भट्टराईबाहेक पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्वउपमहासचिव प्रदीप ज्ञवाली तथा नेताहरू गोकुल बास्कोटा र शेरबहादुर तामाङबिच पनि नेतृत्वको कार्यशैली र चुनाव परिणामलाई लिएर घोचपेच चलिरहेको छ । 

यही बेला एमाले अध्यक्ष केपी शर्मा ओली पितृ शोकमा परेका छन् । शोककै बिचमा शनिबार गुण्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदको सूचीका सम्बन्धमा निर्णय गरेको छ ।
‘शनिबारको बैठकमा समानुपातिक सांसदको नामबाहेक चुनावी समीक्षा भएन,' उपमहासचिव लेखराज भट्टले रातोपाटीसँग भने, ‘अध्यक्ष शोकबाट निस्किएपछि थप छलफल होला ।’ 

शंकर र योगेशको जुहारी

एमाले नेताहरूबिच आन्तरिक चुनावी समीक्षा भइरहेका बेला महासचिव शंकर पोख्रेलले उपमहासचिव योगेश भट्टराईलाई जबाफ फर्काएका छन् । आफू (महासचिव)ले चुनावमा भट्टराईलाई जिम्मेवारी नदिएको’ भन्ने आशयको अभिव्यक्तिको पोख्रेलले खण्डन गरेका छन् । चुनावी नतिजा सार्वजनिक भएपछि उपमहाचिव भट्टराईले दिएको एक अन्तर्वार्तामा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी मागेको तर नपाएको बताएका थिए ।
महासचिव पोखरेलले भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने कुरा गलत भएको दाबी गर्दै खण्डन गरेका हुन् । ‘सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ,' महासचिव पोख्रेलले उपमहासचिव भट्टराईलाई लक्षित गर्दै फेसबुकमा लेखेका छन्, ‘तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ ।’
महासचिव पोख्रेलले आफूले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको जिकिर गरेका छन् । भट्टराईले ताप्लेजुङ जानुपर्ने बताउँदै दाङ नगएको पोख्रेलको जिकिर छ । त्यसलाई आफूले स्वाभाविक रूपमा लिएको भन्दै उनले तर अहिले योगेशका नाममा सम्प्रेषित समाचारबाट भने आफू आश्चर्यचकित भएको बताएका छन् । 

योगेशको भनाइको अधुरो अंशमात्र सम्प्रेषण भएको हुन सक्ने भन्दै पोख्रेलले भ्रम नपरोस् भनेर आफूले स्पष्ट पारेको जनाएका छन् । उनले यस्तो लेखेलगत्तै आइतबार उपमहासचिव भट्टराईले सामाजिक सञ्जालमा अर्को स्टाटस लेख्दै पार्टीका शीर्ष नेताहरू नै आफूविरुद्ध घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काममा लागेको आरोप लगाएका छन् । 

उपमहासचिव भट्टराईले अध्यक्ष पितृशोकमा रहेकाले एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने समेत चेतावनी दिएका छन् । ‘हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओली पितृ शोकमा रहनु भएको छ । सोही कारण पार्टी सचिवालय बैठकको अध्यक्षता आफूले गर्नु भएन,' भट्टराईले भनेका छन् । 

शनिबारको एमाले सचिवालय बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको थियो । ‘यो समय हामी सबैका लागि पनि शोकको घडी हो । यस्तो बेलामा एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ,' उपमहासचिव भट्टराईले भनेका छन्, ‘यस बिचमा पार्टीका मथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूका बारेमा अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ ।’ 

भट्टराईले नेताहरूविरूद्ध घृणाजन्य अभिव्यक्ति दिन नक्कली फेसबुक खाताहरू सक्रिय रहेको भन्दै पार्टीको एकता जोगाउनु, पार्टीलाई बहुआयामिक रूपले रूपान्तरण गर्नु, गुमेको जनविश्वासलाई पुनः आर्जन गर्नु सबै नेकपा एमालेहरूका लागि प्राथमिक महत्त्वको कार्यभार रहेको जनाएका छन् । 

‘यसका लागि उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रिया मार्फत् तथ्य र तर्कसहित छलफल र बहस गर्न जरूरी छ,' भट्टराईले चुनावी नतिजाबारे दोहोर्‍याउँदै भनेका छन्, ‘फेरि पनि भन्छु, आत्मभर्त्सना होइन, जमेर आत्मसमीक्षा गरौँ ।’ 

पाण्डे भन्छन्– सत्य बोल्दा कारबाहीको धम्की

चुनावी हार–जित र कमी–कमजोरीबारे एमाले नेता कार्यकर्ताबिच सामाजिक सञ्जालमा टिप्पणी र बहस भइरहँदा पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले सत्य बोल्दा कारबाहीको धम्की आउन थालेको बताएका छन् ।
पाण्डे जेनजी आन्दोलनदेखि नै पार्टी संरचना ‘रिसेट’ गर्नुपर्नेमा जोड दिँदै आउने नेतामा पर्दछन् । निर्वाचन परिणामपछि पाण्डेले पुनः पार्टी गम्भीर मोडमा पुगेको भन्दै यस्तो गम्भीर मोडमा पनि सबै ठिक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु भएको प्रस्ट पारेका छन् । 

‘जब जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कतिसम्म बुद्धिमानी होला ? यति ठुलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ ?’ पाण्डेले प्रश्न गर्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘एमालेको पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आइसकेको छ ।’ 

अन्तर्घातले ५–१० हजार मत तल–माथि पर्नसक्ने भए पनि देखिएको ४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान भएको पाण्डेको तर्क छ । ‘यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा रिजेक्ट गरेको सन्देश हो,' पाण्डेले भनेका छन्, ‘अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र अरू असफल होलान् र फेरि हाम्रो पालो आउला भन्ने सोचमै अल्झिरह्यौँ भने त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ ।’

गोकुल र शेरबहादुरको दन्तबझान

चुनावी नतिजा र नेतृत्वको कार्यशैलीलाई लिएर दुई जना पूर्वमन्त्री तथा केन्द्रीय सदस्यहरू शेरबहादुर तामाङ र गोकुल बास्कोटाबिच पनि आरोप–प्रत्यारोप छरपस्ट भएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता तामाङले चुनावी परिणामबारे समग्रमा समीक्षा गर्नुपर्ने भन्दै आफ्नो निर्वाचन क्षेत्रसमेत जोगाउन नसक्ने नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई दोष देखाएर उम्किन नमिल्ने टिप्पणी गरेका थिए ।
तामाङको सोही टिप्पणीलाई लक्षित गर्दै नेता बास्कोटाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत तामाङ आफूविरुद्ध सार्वजनिक रूपमा जाईलागेको आरोप लगाउँदै रोष प्रकट गरेका छन् । 

‘भन्न मन थिएन, तर मेरो मत मैले राखेबापत उनको कोदोबारी फाँडेसरह शेरबहादुर तामाङजी ममाथि सार्वजनिक रूपमा जाईलागेछन्,' पूर्वमन्त्री बास्कोटाले लेखेका छन्, ‘म तपाईंजस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्नेमात्र होइन, पटकपटक पार्टी नै फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । ०३८ यताका इतिहस हेरौँ न !’ 

यद्यपि बास्कोटाले तामाङले आफूविरुद्ध के भने भन्ने स्पष्ट खुलाएका छैनन् । अध्यक्ष ओलीको आलोचना गरेकै कारण बास्कोटालाई फागुन २१ को निवार्चनमा काभ्रे–२ मा टिकट नदिइएको एमालेभित्र चर्चा भएको थियो । 

एमाले पंक्तिमा अन्योल र नैराश्यः ज्ञवाली 

चुनावी परिणाम र एमाले नेताहरूबिच चलिरहेको आरोप–प्रत्यारोपमा अर्का नेता प्रदीप ज्ञवाली पनि मिसिएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले निर्वाचन परिणामसँगै एमाले पंक्तिमा एकखालको अन्योल र नैराश्य देखा परेको अवस्थामा प्रतिकूल परिणामका बिचमा यस्ता प्रतिक्रियाहरू आउनुलाई अस्वाभाविक रूपमा लिन नहुने टिप्पणी गरेका छन् । 

‘हामीले व्यहोरेको धक्का इतिहासकै गम्भीरतम मध्येको हो । त्यसो त हामी असाध्यै असहज अवस्थामा निर्वाचनमा सहभागी भएका थियौँ,' ज्ञवालीले भनेका छन्, ‘समय प्रतिकूल छ भन्ने हामीलाई थाहा थियो । तर यस्तो धक्काको अनुमान भने थिएन । फेरि पनि भन्नैपर्छ– हामी इतिहासकै कठिनतम बिन्दुमा आइपुगेका छौँ ।’ 

ज्ञवालीले यस्तो नतिजा आउनुमा आन्तरिक र बाह्य कारण रहेको पनि बताएका छन् । ‘तीमध्ये कति समयमै ध्यान दिन या सच्याउने सकिने खालका थिए होलान् । कति भने काबु बाहिरका, शक्ति सन्तुलनले नभ्याउने र हामीले अनुमानै गर्न नसक्ने खालका थिए,' ज्ञवालीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कतिपय नीतिगत विषय होलान् । कतिपय संरचनागत प्रश्न छन् । शैलीगत कारणहरू छन् । नेतृत्व पंक्ति र व्यक्ति–व्यक्तिका भूमिकाका कारण सिर्जित पनि छन् । यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनैपर्छ । हुन्छ ।’ 

यस्तो समीक्षाले मात्रै यस कठिन समयबाट अगाडि लैजान मार्गदर्शन गर्ने ज्ञवालीको बुझाई छ । ‘समीक्षा गरिएन, यो यस्तै हो भनियो या अरुलाई मात्रै दोषारोपण गरियो भने सङ्कट झनै गहिरिँदै जानेछ,' उनले भनेका छन्, ‘तर बृहत्तर अर्थमा यो कम्युनिष्ट आन्दोलनको मात्रै होइन, सिङ्गै लोकतान्त्रिक आन्दोलनमाथिकै सङ्कट हो ।’ 

ज्ञवालीले चुनावी परिणामलाई आन्दोलनको समष्टिगत र फराकिलो परिदृश्यमा राखेर विवेचना गरिनुपर्छ भन्ने आफूले ठानेको प्रस्ट पारेका छन् । ‘हामीले स्वीकार्नै पर्छ– हामीले स्थापित गर्न चाहेको सत्यलाई स्थापित गर्न सकिएन । अहिले मतदाताको बहुसंख्याले हामीले असत्य र भ्रम भनेको विषयलाई सत्य ठहर्‍याइदियो,' ज्ञवालीले भनेका छन्, ‘नयाँ पुस्तासँग हाम्रो संवाद हुन सकेन, विश्वास स्थापित हुन सकेन । यस कुराको परीक्षण हुन, भ्रमको तुवाँलो हट्न र सत्य स्थापित हुन समय लाग्ने भयो ।’ 

उनले अब धैर्यमात्रै गरेर नपुग्ने र सत्य स्थापित गर्न कष्टसाध्य प्रयत्न गरिरहनु पर्नेमा जोड दिएका छन् । 

विष्णु रिजालका तीन तर्क र एक तथ्य

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्र र सार्वजनिक रूपमा बोल्दै, लेख्दै र पैरवी गर्दै आएका तीन वटा तर्कलाई हालै सम्पन्न निर्वाचनले गलत सावित गरिदिएको स्वीकार गरेका छन् । तीन तर्क र एक तथ्य भन्दै रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हजारौँ तर्कलाई एउटै तथ्यले काट्छ । मैले पार्टीभित्र र सार्वजनिक रूपमा बोल्दै, लेख्दै र पैरवी गर्दै आएका तीन वटा तर्कलाई हालै सम्पन्न निर्वाचनले गलत साबित गरिदिएको छ ।’ 

उनले जसरी भाषाको विकासले व्याकरणका नियमलाई पनि परिमार्जन गर्दछ, त्यसैगरी परिस्थितिमा आएको बदलावले तर्कहरूमा पनि परिमार्जन गरिदिने कुरालाई स्वीकार गरेका छन् । उनले विद्यमान मिश्रित निर्वाचन प्रणालीबाट कुनै एक दलले बहुमत ल्याउँदैन भनेर आफूले गर्दै आएको तर्क, नेपालमा नयाँ दल निर्माण सम्भव छैन भन्ने दोस्रो तर्क तथा नेपालमा लोकप्रियतावादले काम गर्दैन तर्क गलत रहेको बताएका छन् । 

‘०७९ सालमा बालेन शाहले काठमाडौँको मेयर जितेपछि र रवि लामिछानेले पार्टी स्थापना गरेको ६ महिनामै संसदमा २० सिट हासिल गरेपछि उत्पन्न परिस्थितिलाई अति सामान्यीकरण गरिएछ,' नेता रिजालले भनेका छन्, ‘ती दुवै युवालाई लोकप्रियतावादका उपज मात्र हुन्, पानीका फोकाजस्ता हराउँछन् भनेर प्रशिक्षित भइएछ/गरिएछ । उनीहरू उभिन लागेको राजनीतिक धरातल, आर्थिक–सामामाजिक मनाविज्ञान, भूराजनीतिक सल्बलावट जस्ता कुरामा ध्यानै दिइएनछ ।’ 

साथै उनले नेपाली समाज राजनीतिक रूपमा परिपक्व भएका कारण सस्ता कुराका पछि लाग्दैन भन्ने एउटामात्र मान्यतामाथि धेरै विश्वास गरिएको र उक्त कुरालाई जनताले गलत साबित गरिदिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप