नेपाली राजनीतिमा युवाको नयाँ तरङ्ग
सारांश
- नेपालको राजनीतिक इतिहासमा युवाहरूको भूमिका सधैं महत्त्वपूर्ण रहँदै आएको छ, विभिन्न आन्दोलनहरूमा उनीहरू अग्रपङ्क्तिमा रहे।
- जेनजी आन्दोलन र पछिल्ला चुनावले युवा चेतना र नेतृत्वको उदयलाई प्रमाणित गरेको छ, जसले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिएको छ।
- युवाहरू पारदर्शिता, जवाफदेहिता र प्रभावकारी शासन प्रणाली चाहन्छन्, जसले उनीहरूलाई परिवर्तनका लागि सक्रिय हुन प्रेरित गरेको छ।
नेपालको राजनीतिक इतिहासमा युवा शक्तिको भूमिका सधैँ निर्णायक रहँदै आएको छ । नेपालमा भएका ऐतिहासिक राजनीतिक आन्दोलनहरूमा युवाहरू सधैँ अग्रपङ्क्तिमा उभिएका थिए । वि.सं. २००७ सालमा राणा शासनविरुद्ध उर्लिएको आन्दोलनदेखि त्यसपछि ०१७, ०३६, ०४६ र ०६२/०६३ का हरेक आन्दोलनमा युवाहरूले महत्त्वपूर्ण भूमिका खेले ।
परिवर्तनप्रतिको दृढ अठोट, चाहना, साहस र ऊर्जाले भरिएका युवाहरूले हरेक राजनीतिक मोडमा देशलाई नयाँ दिशातर्फ अग्रसर गराएका छन् । नेपालको राजनीतिक इतिहासले स्पष्ट रूपमा देखाउँछ कि परिवर्तनका निर्णायक क्षणहरूमा युवाशक्ति नै अग्रपङ्क्तिमा उभिएका छन् ।
आजको समयमा नेपाली राजनीतिमा फेरि एकपटक युवा चेतना र नेतृत्वको नयाँ तरङ्ग देखिन थालेको छ । जेनजी आन्दोलन र त्यसपछि सम्पन्न चुनावले यस कुरालाई अझ प्रमाणित गरिदिएको छ । दशकौँदेखि सीमित नेतृत्व र परम्परागत राजनीतिक शैलीमा घुमिरहेको नेपाली राजनीतिमा अहिले नयाँ सोच, नवीन ऊर्जा र प्रविधिमैत्री पुस्ताको सक्रिय उपस्थिति बढ्दै गएको छ । यो केवल उमेरको परिवर्तन मात्र होइन, राजनीतिक संस्कार, कार्यशैली र जनताप्रति उत्तरदायित्व प्रस्तुत गर्ने नयाँ दृष्टिकोणको उदय पनि हो ।
कुनै बेला राजनीतिलाई ‘डर्टी गेम’ भन्ने युवाहरू आजको दिनमा निकै सचेत देखिन्छन् । पछिल्ला वर्षहरूमा युवाहरूको राजनीतिक सचेतना उल्लेखनीय रूपमा वृद्धि भएको छ । शिक्षाको विस्तार, सूचना प्रविधिको सहज पहुँच तथा विश्वव्यापी घटनाक्रमसँगको प्रत्यक्ष सम्पर्कका कारण नेपाली युवा पुस्ता अब शासन व्यवस्था, विकास नीति, सुशासन र लोकतान्त्रिक उत्तरदायित्वका विषयमा स्पष्ट धारणा राख्न सक्षम भएका छन् ।
उनीहरू पारदर्शिता, जबाफदेहिता र प्रभावकारी शासन प्रणालीको अपेक्षा राख्छन् । यही चेतनाले युवाहरूलाई केवल दर्शकको भूमिकामा सीमित नराखी परिवर्तनका सक्रिय संवाहक बन्न प्रेरित गरिरहेको छ ।
गत भदौ २३–२४ गते नेपालमा भएको जेनजी आन्दोलनले विश्वलाई नयाँ सन्देश दिएको छ । नेपालका युवाहरूले सुरु गरेको क्रान्ति र आन्दोलनले विश्वभरका मिडियाहरूको ध्यान खिच्यो । हरेक देशका नागरिकहरूले नेपालको जेनजी आन्दोलनलाई उदाहरणका रूपमा पेस गरे । युवाहरूमा राजनीतिक सचेतना बढ्दो क्रममा छ । नेपाल एक महत्त्वपूर्ण उदाहरण बनेको छ ।
तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, सुशासनको अभाव, बेरोजगारी र भ्रष्टाचारप्रति असन्तुष्टि जनाउँदै १८ देखि २५ वर्ष उमेर समूहका युवाहरू सडकमा उत्रिएका थिए । उल्लेखनीय पक्ष के थियो भने उक्त आन्दोलन कुनै स्थापित राजनीतिक दलको औपचारिक नेतृत्वमा नभई युवाहरूको स्वतःस्फूर्त उल्लेखनीय सहभागिताबाट अघि बढेको थियो ।
सामाजिक सञ्जालमार्फतको समन्वय, प्रविधिको प्रभावकारी प्रयोग र साझा असन्तुष्टिले युवाहरूलाई एकताबद्ध बनाएको देखियो । जेनजी आन्दोलनको यस घटनाले स्पष्ट सङ्केत दिएको छ कि आजको युवा पुस्ता राजनीतिक रूपमा सचेत मात्र होइन, आवश्यक पर्दा परिवर्तनका लागि साहसपूर्वक उभिन सक्षम पनि छ ।
उनीहरू आफ्नो भविष्य, देशको शासन प्रणाली र विकासको दिशाबारे प्रत्यक्ष रूपमा आवाज उठाउन चाहन्छन् । यसले नेपाली राजनीतिमा नयाँ बहस, नयाँ सोच र नयाँ सम्भावनाहरूको ढोका खोलिदिएको छ ।
नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि युवा पङ्क्ति सबैभन्दा ठुलो सम्भावना र शक्ति हो । देशको जनसङ्ख्याको ठुलो हिस्सा युवाहरू भएको अवस्थामा उनीहरूको ऊर्जा, सृजनशीलता र नेतृत्व क्षमता राष्ट्र निर्माणका लागि अमूल्य सम्पत्ति बन्न सक्छ । यदि युवाहरूलाई गुणस्तरीय शिक्षा, सीप विकास, रोजगारीका अवसर र राजनीतिक सहभागिताको उचित वातावरण प्रदान गरियो भने नेपाल आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा नयाँ उचाइतर्फ अघि बढ्न सक्छ ।
यसैले आजको आवश्यकता युवाहरूलाई केवल आन्दोलनको शक्ति मात्र होइन, नेतृत्वको अवसर प्रदान गर्नु पनि हो । राजनीतिक दलहरूले युवाहरूको नयाँ सोच, ऊर्जा र दृष्टिकोणलाई सम्मान गर्दै उनीहरूलाई नीति निर्माण र निर्णय प्रक्रियामा सार्थक रूपमा सहभागी गराउनुपर्छ । युवाहरूलाई अवसर दिने संस्कारको विकास भए मात्र लोकतन्त्र अझ सुदृढ र समावेशी बन्न सक्छ ।
अन्ततः युवाहरूको सक्रिय सहभागिता, दूरदर्शी सोच र जिम्मेवार नेतृत्वले नै नेपालको राजनीतिक संस्कृतिलाई नयाँ दिशा दिन सक्छ । जब युवाशक्ति राष्ट्र निर्माणको अभियानमा अग्रसर हुन्छ, तब देशको भविष्य पनि उज्यालो, गतिशील र सम्भावनायुक्त बन्ने निश्चित छ ।
(घिमिरे सामाजिक कार्यकर्ता तथा युवा अखिल सचिवालय सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण