सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पतिको मृत्युपछि बाल पुस्तक लेखेकी महिला पतिकै हत्यामा दोषी ठहर

मङ्गलबार, ०३ चैत २०८२, १२ : ०७
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • उताहमा एक महिलालाई श्रीमानको हत्या आरोपमा दोषी ठहर गरिएको छ, जसमा उनलाई आजीवन कारावास हुनसक्छ।
  • कौरी रिचिन्सले श्रीमान एरिक रिचिन्सको हत्या गरेको र बीमा ठगी गरेको आरोप प्रमाणित भएको छ।
  • २०२२ मा एरिक रिचिन्सको मृत्यु फेन्टानिलको अत्यधिक मात्राका कारण भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ।

वासिङ्टन डिसी । अमेरिकाको उताहमा एक महिलालाई  श्रीमानको हत्या गरेको आरोपमा अदालतले दोषी ठहर गरेको छ । तीन सन्तानकी आमा कौरी रिचिन्सले उनको पति एरिक रिचिन्सको सन २०२२ मा भएको मृत्यु प्रकरणमा हत्या सहित सबै आरोपमा दोषी ठहर भएकी हुन् । जुरीले करिब तीन घण्टाको छलफलपछि सोमबार निर्णय सुनाउँदै उनलाई ‘जघन्य हत्या’ सहितका गम्भीर आरोपमा दोषी ठहर गरेको हो । साथै, श्रीमानलाई मार्ने असफल प्रयास गरेको, जालसाजी गरेको र बीमा ठगीका आरोपहरू पनि प्रमाणित भएका छन् ।

अदालतमा फैसला सुनाउँदा रिचिन्स टाउको झुकाएर बसेकी थिइन् । उनलाई अधिकतम सजाय स्वरूप बिना पैरोल आजीवन कारावास हुन सक्छ । उनको सजाय निर्धारण मे १३ मा हुने तय गरिएको छ । एरिक रिचिन्स २०२२ को मार्च ४ को बिहान उताहको कमसस्थित आफ्नै घरमा मृत फेला परेका थिए । पोस्टमार्टम रिपोर्टले उनको शरीरमा अत्यधिक मात्रामा फेन्टानिल भेटिएको देखाएको थियो, जुन सामान्य घातक मात्रा भन्दा झण्डै पाँच गुणा बढी थियो ।

अभियोजन पक्षले १३ दिनसम्म ४० भन्दा बढी साक्षी प्रस्तुत गर्दै दम्पतीबीच सम्बन्ध बिग्रिएको, रिचिन्सको अन्य पुरुषसँग सम्बन्ध रहेको र उनी ठूलो ऋणमा डुबेको जस्ता कारणहरू देखाउँदै हत्या आर्थिक र व्यक्तिगत स्वार्थका लागि गरिएको दाबी गरेको थियो । सरकारी वकिल ब्राड बल्डवर्थले अन्तिम बहसमा भने, ‘उनीसँग एरिकलाई छाड्ने वा आफ्नो व्यवसाय बचाउन पैसा नै थिएन । त्यसैले अगाडि बढ्ने एउटा मात्र बाटो थियो—एरिकको हत्या ।’ 

बालपुस्तक लेखेपछि पक्राउ

घटनाले थप सनसनी त्यतिबेला फैलायो जब रिचिन्सले श्रीमानको मृत्युको करिब एक वर्षपछि आफ्ना छोराहरूलाई शोकसँग जुध्न मद्दत गर्ने भन्दै बालपुस्तक प्रकाशित गरेकी थिइन् । तर पुस्तक प्रचारका लागि स्थानीय टेलिभिजनमा देखिएको केही हप्तामै उनलाई पक्राउ गरी हत्या आरोप लगाइयो । रिचिन्सका वकिलहरूले भने अनुसन्धान त्रुटिपूर्ण र पूर्वाग्रही भएको दाबी गर्दै उनलाई गलत रूपमा दोष लगाइएको बताएका थिए । ‘एरिकले फेन्टानिल कसरी सेवन गरे भन्ने स्पष्ट प्रमाण छैन । कमजोर प्रमाणका आधारमा निष्कर्ष निकाल्न खोजिएको छ,’ बचाउ पक्षकी वकिलले भनेकी छिन् ।

फैसला पछि एरिकका परिवारजनले अदालतप्रति आभार व्यक्त गरेका छन् । उनकी दिदीले न्याय दिलाउन सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै अब परिवारले एरिकको सम्झना जोगाउने र उनका छोराहरूलाई साथ दिने बताएकी छन् । यो घटनाले अमेरिकामा पारिवारिक सम्बन्ध, आर्थिक दबाब र आपराधिक मनोविज्ञानसँग सम्बन्धित गम्भीर प्रश्नहरू उठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप